चाडपर्वमा यातायात व्यवस्थित गर «

चाडपर्वमा यातायात व्यवस्थित गर

सुरक्षा तथा सावधानीका सम्पूर्ण मापदण्ड अपनाएर कडाइका साथ सवारी सञ्चालन गर्नुको कुनै विकल्प छैन ।

हरेक वर्षझैं यसपटक पनि दसैं नजिकिँदै गर्दा काठमाडौं खाल्डोमा रहेका विभिन्न जिल्लाका बासिन्दा कसरी घर फर्कने भन्ने चिन्तामा छन् । हुन त कोरोना संक्रमण रोक्न सरकारले चैतमा बन्दाबन्दी गरेका बखत नै विभिन्न जिल्लाका बासिन्दाले राजधानी खाल्डो छोडेका हुन् । तर, संघीयता आएपछि पनि शासन व्यवस्था अझै केन्द्रीकृत भएझैं रोजगारीका अवसर एवं जीवनयापनका अन्य अवसर, सेवा तथा सुरक्षा पनि काठमाडौंकेन्द्रित नै रहेकाले केही लाख मानिस फेरि फर्के । कोरोना कहरको संक्रमण पनि काठमाडौंकेन्द्रित हुँदै गएको वर्तमान समयमा फेरि चाडपर्वमा घर जान धेरैलाई सकस भएको छ । लामो दूरीका यातायात चल्न थाले पनि न त व्यवसायीले अग्रिम टिकट बुकिङ खोलेका छन्, न त सुरक्षाका सबै मापदण्डअनुरूप सवारी सञ्चालन गरेका छन्, जसका कारण संक्रमण घट्नुको सट्टा झन् बढ्दै गइरहेको छ । सरकारले संक्रमण गाउँगाउँसम्म नपु¥याउन भन्दै सकेसम्म घर नजान आह्वान पनि गरेको छ । तर, बहुसंख्यक नागरिकको धार्मिक आस्थासँग जोडिएको सामाजिक पर्व भएकाले न त सरकारले जबर्जस्ती रोक्न सक्छ, न त नागरिकहरू वर्षमा एकपल्ट घर जाने समयको सदुपयोग गर्न छोड्छन् । त्यसैले सुरक्षा तथा सावधानीका सम्पूर्ण मापदण्ड अपनाएर कडाइका साथ सवारी सञ्चालन गर्नुको कुनै विकल्प छैन । हुन त सरकारले सार्वजनिक यातायातलाई प्रविधिमैत्री रूपमा विकास गर्नका लागि अनलाइन टिकट खरिद–बिक्रीसम्बन्धी निर्देशिका–२०७७ जारी गरेको छ । मध्यम तथा लामो दूरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद–बिक्रीसम्बन्धी निर्देशिका–२०७७ स्वीकृत गरी यातायात विभागले जारी गरेकोे यस निर्देशिकाले भीडभाड नगरी सहज तरिकाले टिकट लिन सघाउनेछ । मध्यम तथा लामो दूरीका यात्रुवाहक सार्वजनिक यातायात सेवाप्रदायकले अनलाइन टिकेटिङका यात्रीका लागि निर्धारित सिटहरू बिक्री भए÷नभएको खुल्ने गरी सिट प्लानअनुसार यात्रु चलान बनाई सोको विवरण सफ्टवेयरमा प्रविष्ट गर्नुपर्नेछ । यसबाट व्यवसायीहरूलाई लाभ हुने, यात्रु पनि ठगिने, बिचौलिया हटाई अनुगमन र नियमन गर्नका लागि सहज हुनेछ ।
तर, यातायात व्यवसायीहरूले भाडा पनि बढाउने तथा सवारी साधनभरि यात्रु पनि हाल्ने गर्न थालेपछि भने यात्रा महँगो त भयो नै, कोरोना संक्रमण विस्तार हुने देखिन्छ । सरकारले कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरण गर्न र सार्वजनिक यातायात सेवा सहज, सुलभ, सुरक्षित र भरपर्दो एवम् प्रविधिमैत्री बनाउन अनलाइन टिकट खरिद बिक्री प्रणालीलाई व्यवस्थापन गर्न खोजे पनि चाडपर्वको बेलामा हुने अव्यवस्थित यात्रालाई अनुगमन तथा नियमन गर्न अत्यन्त आवश्यक छ । राजधानीको चक्रपथ सेरोफेरोमै पनि सवारी साधनले सिटमा डबल यात्रु राखेको र गाडीका सहचालक अथवा पैसा उठाउने कर्मचारीले गतिलो ढंगले मास्क लगाएको पाइँदैन । त्यसैले लामो दूरीका यातायातमा पनि यो नियम कसरी लागू गर्ने, सरकारका लागि ठूलो समस्या छ । साथै, मास्क लगाउन अनुरोध गर्ने, यात्रुलाई मास्क नभए नयाँ मास्क दिने र अनिवार्य रूपमा सेनिटाइजर लगाउन भनेको भए पनि न त यात्रु सचेत पाइए, न त यातायात व्यवसायीले यसलाई पूर्ण रूपमा लागू गरेको पाइयो । कोरोना महामारीको सबैभन्दा घातक साधन सार्वजनिक सवारी साधन हुने देखिएपछि सरकारले कसरी कडाइका साथ निर्देशनको पालना गराउन सक्छ, त्यसैमा कोरोना संक्रमण फैलिने वा नफैलिने निश्चित हुने देखिन्छ । यदि सरकारले मास्क लगाउन अनिवार्य बनाउन नसक्ने, सेनिटाइजर प्रयोग गर्न अनिवार्य गर्न नसक्ने तथा भौतिक दूरी कायम गराएर यात्रु बसाल्न व्यवसायीलाई कडाइका साथ लागू गराउन नसक्ने भए भाडादर वृद्धि गराइदिएर किन नागरिकलाई सार्वजनिक सवारी झन् महँगो बनाइदिएको हो, सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न किन सकेन, सोचनीय छ । तसर्थ प्रविधिको माध्यमबाट टिकट बेच्नु सुरक्षित सवारीको पहिलो चरण हो भने महामारीका बेला सुरक्षित यात्राको सुनिश्चितता गर्नु सरकारको अर्को महŒवपूर्ण जिम्मेवारी हो । यसमा सरकार चुकेमा महामारी भयावह रूपमा फैलने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्