के अर्थतन्त्र पुनरुत्थान गर्न पौडेलले आँट गर्लान् ? «

के अर्थतन्त्र पुनरुत्थान गर्न पौडेलले आँट गर्लान् ?

अर्थमन्त्रीमा विष्णु पौडेल


कोरोना कहरका कारण वित्तीय चाप बढ्दै गएको, अर्थतन्त्रमा गहिरो आघात परेको तथा चालू आर्थिक वर्षको बजेटको कार्यान्वयन नै धरापमा परेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा करिब एक महिनाअघि बाहिरिएसँगै अर्थमन्त्री प्रधानमन्त्री आफैंले राख्दै आएका थिए । बुधबार मन्त्रिपरिषद् पुनर्गठनसँगै पौडेल अर्थमन्त्री भएका हुन् । यसअघि पनि अर्थमन्त्री भइसकेका पौडेलको पुनरागमन भने असहज परिस्थितिमा भएको छ ।
कोरोना कहरका कारण विगत करिब सात महिनादेखि देश ठप्पप्रायः छ । कलकारखाना, उद्योगधन्दा कि चलेकै छैनन्, कि त न्यून क्षमतामा चलिरहेका छन् । अनौपचारिकमात्र होइन, औपचारिक क्षेत्रमा पनि रोजगारी घट्दै गइरहेको छ, राजस्वको उठ्तीले कर्मचारीलाई तलब ख्वाउन धौ–धौ हुने भएको छ । सरकारले कोरोना कहरबाट पीडित उद्योगी, व्यवसायी, सर्वसाधारण कसैको लागि पनि राहत दिनसकेको छैन, दिनसक्ने स्थिति पनि छैन । यसै परिस्थितिका बीच निवर्तमान अर्थमन्त्रीले ल्याएको चालू आर्थिक वर्षको बजेट नै जोखिममा परिसकेकोले नयाँ अर्थमन्त्रीले आफनो पदको तथा राजनीतिको भविष्यलाई दाउमा राख्ने आँट गर्नुपर्ने अर्थविद् डा चन्द्रमणि अधिकारी बताउँछन् ।
स्थायी तथा बलियो मानिएको वर्तमान सरकारका गलत आर्थिक नीतिका कारण देशमा आर्थिक गतिविधिमा संकुचन आइरहेको बेला कोरोनाले थला पारेको अर्थतन्त्र उकास्न नयाँ अर्थमन्त्रीले सबैभन्दा पहिला वित्तीय व्यवस्थापन गर्नुपर्ने अर्का अर्थविद् बताउँछन् । स्थायी तथा बलियो सरकारको अनुभूति नागरिकलाई अहिलेसम्म हुन नसकेकोले नयाँ अर्थमन्त्रीको काँधमा यो जिम्मेवारी रहेको भन्दै उनले अर्थतन्त्र पुनरुत्थान गर्न अर्थमन्त्रीले राहतका नयाँ प्याकेज ल्याउनु पर्ने पनि बताए ।
अर्थमन्त्रीका लागि पूर्वअर्थमन्त्री सुरेन्द्र पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतको चर्चा चलिरहँदा राजनीतिक दाउपेचमा माहिर प्रधानमन्त्री केपी ओलीले आफू निकट पौडेललाई अर्थमन्त्री बनाएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयमा आफनो बहुमत त पु-याए नै, साथै आफनै पार्टीमा भिन्न समूहका सहयात्रीहरूलाई पनि उनले गतिलो जवाफ दिएका छन् । तर, पौडेलको यसपटकको अर्थमन्त्रीको यात्रा भने त्यति सहज देखिँदैन । २०७२ असोजमा पहिलोपटक अर्थमन्त्री भएका पौडेल दोस्रोपटक अर्थमन्त्री बन्दै गर्दा विश्व बैंकले गत आर्थिक वर्षको आर्थिक वृद्धि ०.२ प्रतिशत रहने अनुमान गरेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोषले मंगलबार शून्य नै हुने अनुमान गरेको छ । विश्व बैकले गरिबीको भयावह स्थिति हुने प्रषेपण गर्दै गर्दा पौडेललाई नेकपा (नेकपा) को घोषणापत्रअनुसार देशमा रोजगारी सिर्जना गर्ने चुनौती पनि थपिएको छ ।
नेकपामा महासचिवसमेत रहेका पौडेल पहिलोपटक २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री भएका थिए भने गणतन्त्र घोषणापछि पहिलोपटक जलस्रोत मन्त्री पनि भएका थिए । निजी क्षेत्रसँग नजिक रहेर काम गर्न रुचाउने अर्थमन्त्री पौडेल पूर्व अर्थमन्त्री खतिवडाभन्दा अलि बढी निजी क्षेत्रमैत्री मानिन्छन् । जसका कारण निजीक्षेत्रबाट उनका पूर्ववर्तीलाईभन्दा सहयोग नै हुने उद्योगीहरूको भनाइ छ ।
अर्थविद् अधिकारी भने यतिबेला भोकाएका मान्छेलाई सरकारले संरक्षकको भूमिका निवाह गर्नु पर्ने, श्रम बेच्न नपाएकाहरूलाई श्रम बेच्ने ठाउँको सिर्जना गरिदिएर हातमा पैसा पारिदिनु पर्ने तथा साना मझौला उद्योग व्यवसायको लागि प्याकेज ल्याउने अनि ठूला उद्योगलाई विशेष व्यवस्था गरेर पछि ऋण फिर्ता गर्नेगरि प्याकेज ल्याउनुपर्ने बताउँछन् । “यसका लागि तत्काल रणनीति ल्याउनु जरुरी छ,” अधिकारी भन्छन् ।
श्रेष्ठद्वय मन्त्री, गुरुङलाई सञ्चार
मन्त्रिपरिषद् हेरफेरमा सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठले पाएका छन् भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मा लीलानाथ श्रेष्ठलाई दिइएको छ । यसअघि महिलामन्त्री रहेका पार्वत गुरुङको जिम्मेवारी हेरफेर गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका छन् भने रक्षाको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्