चाडपर्व नजिकिँदा बजार सुनसान «

चाडपर्व नजिकिँदा बजार सुनसान

‘कोरोनाको प्रभावले ५० प्रतिशत व्यापार घट्यो’

चाडपर्व नजिकिँदै गर्दा सधैजसो किनमेल गर्नेको चहलपहल र भीडभाड लाग्ने मुख्य व्यापारिक क्षेत्र यतिबेला सुनसानजस्तै देखिन्छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रभावले बजार पसल सुनसान बनेका हुन् । किनमेल गर्नेको चहपहल हुने उपत्यकाका व्यापारिक क्षेत्रमा सामान खरिद गर्ने ग्राहक जान डराउने गरेका छन् भने उपभोक्ताको क्रयशक्ति पनि घटेको छ । दसैंअघि लत्ताकपडा तथा खाद्यान्नसहित सवारीसाधन र मोबाइललगायतका इलेक्ट्रोनिक्स सामग्री किनमेल गर्ने प्रचलन गरे पनि यस वर्ष बजार सुनसान देखिन्छ । अघिल्ला वर्ष बजार पसलमा ग्राहकको बढी नै भीडभाड लाग्ने गरेको थियो । तर यसपटक बजार खुला भएपनि कोरोना भाइरसको प्रभावले ग्राहक नै नआउँदा व्यापार हुन नसकेको व्यवसायीको भनाइ छ ।
प्रत्येक वर्ष चाडपर्व नजिकिँदै गर्दा सडकपेटीदेखि ठूला डिर्पाटमेन्टल स्टोरमा सामान किनमेल गर्ने ग्राहकको भीडभाड लाग्ने गरेको थियो । तर यो वर्ष कोरोना भाइरसले गर्दा आम्दानी नहुँदा सामान किनमेल गर्ने ग्राहक नै नभएको व्यवसायीको भनाइ छ । राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले कोरोना भाइसले व्यापारमा ठूलो असर परेको बताए । होलसेल पसलमा सामान्य व्यापार भएपनि खुद्रा पसलमा कारोबार शून्य अवस्थामा रहेको उनले जानकारी दिए । “चाडपर्वको बेला वर्षभरीको व्यापार हुने सिजन हो,” उनले भने, “यो वर्ष कोराना भाइरसले गर्दा व्यापार नहुँदा व्यवसायीलाई प्रत्यक्ष असर परेको छ ।” लकडाउन, निषेधाज्ञाले लामो समय सम्म बन्द भएका पसल बजार खुला भए पनि व्यापार हुन नसकेको उनको भनाइ छ । लामो समयदेखि व्यापार नहुँदा सवैभन्दा धेरै असर मध्ययम र साना व्यवासयीलाई परेको उनको भनाई छ । चाडपर्वमा व्यापारिक हाउसले सामान विकाउन विभिन्न अफर योजना ल्याउने गरेकोमा यो वर्ष भने त्यस्ता विशेष अफरसमेत देखिँदैनन् ।
उपत्यकाका मुख्य व्यापारिक क्षेत्र न्युरोड, असन, इन्द्रचोक, सिभिल मल, वल्र्डट्रेड सेन्टर, भाटभटेनी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, लगनखेल लगायतका अन्य व्यापारिक क्षेत्रमा कारोबार बढ्न सकेको छैन । होलसेल बजारमा ५० प्रतिशत व्यापार भए पनि खुद्रा पसलमा व्यापार कारोबार हुन नसकेको व्यवसायीको भनाइ छ । अहिले लत्तकपडा, जुत्ताचप्पल, अतिआवश्यकका वस्तुमा सामानमात्र बिक्री हुने गरेका छन् । गत वर्ष न्युरोडका पसललगायत सडकमा दसैंका लागि सपिङ गर्ने मानिसको भीडसँगै धेरै हुने गथ्र्याे तर अहिले सुनसान छन् ।
कोरोनाले गर्दा निकै प्रभावित भएको यो क्षेत्र व्यापार हुने सिजनमा पनि कारोबार नहुँदा धेरै नै असर पारेको न्युरोडका व्यापारी दिनेश अग्रवालले जानकारी दिए । दसैंको बेला धेरै व्यापार हुने गरेको बताउँदैे उनले यो वर्ष कोराना भाइरसले सामान खरिद नै गर्न नआएको बताए । ७ महिनादेखि आम्दानी गुमेकाले आवश्यक पर्ने सामान बाहेक ग्राहक सामान खरिद गर्न नआएको उनको भनाइ छ । चाडपर्वको सिजनमा पनि व्यापार नहुँदा व्यवसाय कसरी सञ्चालन गर्ने भनेर अधिकांश व्यापारी चिन्तित छन् ।
दसैंलाई लक्षित गरेर ल्याइएका सामान रसुवाको केरुङ नाकामा रोकिएकाले पनि थप समस्या परेको व्यवसायीको भनाई छ । केरुङ नाकामा अझै आठ सय कन्टेनर सामान रोकिएका अध्यक्ष कटुवालले जानकारी दिए । आयात भएको सबै सामान नाकामा रोकिएका कारण बजारमा नयाँ सामानको अभाव हुन थालेका छन् । सर्वसाधारणले बजारमा सामान किन्न आए पनि नयाँ सामानको अभावले गर्दा समस्या देखिन थालेको उनीहरूको भनाइ छ । साथै, एकातिर नाकामा रोकिएर सामान आयात भएको छैन भने अर्कोतिर बजारमा भएका सामान पनि बिक्री हुन छोडेको व्यवसायीहरूले बताएका छन् ।
कोरोनाले गर्दा यो वर्षको दशैंको माहोलमा ५० देखि ८० प्रतिशतले व्यापारमा कम व्यवसायीको भनाई छ । चाडपर्वलाई लक्षित गरेर ल्याएका सामान नाकामै रोकिएकाले पनि बिक्री गर्न नपाएको न्युरोडका व्यापारी अन्जन श्रेष्ठले जानकारी दिए । दसैंलाई भनेर ल्याएको सामान बजारमा आउदा नसक्दा पछि ल्याए पनि बिक्री गर्न कठिन हुने उनको भनाई छ । रसुवा नाका खुला भएपछि दिनमा पाँच÷६ कन्टेनरमात्र भन्सार पास हुँदा अन्य सामान आउन नसकेको व्यवसायीको भनाई छ । सरकारी निकायले नाकामा रोकिएका सामान निर्वाध रूपमा आइरहेको बताएपनि व्यवसायीले भने रोकिएका सामान आउदा नसक्दा सामान बिक्री गर्न नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्