कर्णाली प्रतिष्ठानमा अनिश्चितकालिन तालाबन्दी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रशासनमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । उपकुलपति डा.राजेन्द्रराज वाग्लेले अनियमित तवरले एकपछि अर्को डिन नियुक्ति गरेको र तोकिएको समयभित्र निर्णय फिर्ता नलिएको भन्दै कर्मचारी कल्याणकारी समाजले अस्पताल प्रशासनमा तालाबन्दी गरेको हो । सोमबार उपकुलपति डा. वाग्लेले जनस्वास्थ्य संकायको डिन एकल निर्णयले नियुक्त गरेका थिए ।
पहिलाका दुईजना डिन पनि प्रयाप्त काम नपाइरहेको अबस्थामा पुनः तेस्रो डिन नियुक्त गरेको प्रति कर्मचारी आन्दोलित भएका थिए । बुधबारदेखि तालाबन्दी गरेसँगै अस्पतालमा सबै प्रशासनिक काम ठप्प भएका छन् । पहिला नियुक्त भएका दुईजना डिनलाई जनस्वास्थ्य संकायको जिम्मेवारी दिन सकिने अवस्था थियो । तर प्रतिष्ठानको आर्थिक भार बढ्ने गरी एकल निर्णयबाट भएको नियुक्ति कर्णाली प्रतिष्ठानको हितमा नभएको उनीहरु बताउँछन् ।
उपकुलपति डा. वाग्लेले काठमाडौँ सम्पर्क कार्यालयबाट अर्को डिन नियुक्त गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । मंगलबार कर्मचारी कल्याणकारी समाजले डिन नियुक्ति फिर्ता लैजान २४ घण्टाको समय दिएका थियो ।
तर २४ घण्टा बितिसक्दा पनि कुनै प्रक्रिया सुरु नभएकोले बाध्य भएर ताला लगाउनु परेको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले जानकारी दिए । ‘असोज २६ गते काठमाडौं कार्यालयबाटै उपकुलपतिले डिन नियुक्त गरे । सो कदम फिर्ता लिन २४ घण्टाको अल्टिमेटम दियौँ,’ अध्यक्ष उपाध्यायले भने, ‘अस्पताल प्रशासन तथा शैक्षिक प्रशासनमा अनिश्चितकालिन ताला लगाउन बाध्य भयौँ ।’
कर्मचारी समाजले प्रतिष्ठानमा भइरहेको डिन नियुक्ति लगायतको फर्जि कर्मचारी नियुक्ति प्रक्रियामा भइरहेको अनियमितता विरुद्धको आन्दोलनमा साथ दिन जुम्लाबासीलाई आग्रह गरेको छ । उपकुलपति डा. वाग्लेले डिन नियुक्तिका विषयमा जिम्मेवार नभएको आरोप समेत लगाइएको छ ।
अनियमित तवरले नियुक्त गरिएका स्वास्थ्य संकायका डिन लगायतका सम्पूर्ण फजुल नियुक्ति खारेज गर्नु पर्ने, कर्मचारी कल्याणकारी समाजले यसअघि राखेका मागहरु कार्यन्वयन गर्नुपर्ने र कोरोनामा खटिने सम्पूर्ण चिकित्सक तथा कर्मचारीहरुको जोखिम भत्ता तत्काल उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।
उपकुलपति वाग्लेले आफ्नो कार्यकाल गएको फागुनमा सकिनै लाग्दा प्रतिष्ठानलाई आर्थिक भारमा डुबाउने मेसो गरिरहेको बुझिएको छ । उनले आफ्नो चार वर्षे कार्यकालको एक वर्ष पनि जुम्ला बसेका छैनन् । काठमाडांैमै बसेर दुर्गमको तलब भत्ता खाइरहेका उपकुलपति काफ्लेले जाँदाजाँदै प्रतिष्ठानको हितविपरित गरेको कार्यप्रति कर्मचारी आन्दोलित भएका छन् ।