शवदाह गृह निर्माण गर्न कामनपा र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता «

शवदाह गृह निर्माण गर्न कामनपा र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता

?????????????????????????????????????????????????????????

पशुपति क्षेत्र विकास कोषले थप तीन वटा शवदाह मेसिन सहित विद्युतीय शवदाह गृह निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्र परिसरको वागमती पारिपट्टी (तिलगंगामा) थप ३ वटा विद्यूतीय शवदाह गृह निर्माण गर्न सम्झौता भएको छ । बुधबार महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा सह–सचिव राजेश्वर ज्ञवाली र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार शवदाह गृह निर्माण गर्न कोषले सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वान गरिसकेकाले सोही बोलपत्रलाई मूल्यांकन गरी खरिद प्रक्रिया टुंग्याएर बोलपत्रदाता छनोट गर्ने, आसयको सूचना प्रकाशन गर्ने र छनोट भएको बोलपत्रदातासँग सम्झौता गर्ने तथा कार्यादेश लिने काम कोषले नै गर्ने छ ।
सम्झौतापत्रमा शवदाह गृहको अग्रभागमा देखिने गरी शिलापत्रमा काठमाडौं महानगरपालिकाको अनुदानमा निर्माण भएको शवदाह गृह भनी लेख्नु पर्ने उल्लेख गरिएको छ । हस्ताक्षर कार्यक्रममा महानगरका प्रमुख शाक्यले कोषलाई जति सक्दो छिटो काम सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गरे ।
“हामीले विगतमा पनि जनसरोकारका विषयलाई सम्बोधन गर्दै आएपनि महानगरपालिका आफैंले गर्नुपर्ने कतिपय काम विभिन्न संघ संस्थाहरुको सहकार्यमा गर्दै आएका छौं” उनले भने, “पशुपति क्षेत्र परिसरमा विद्युतीय शवदाह निर्माण गर्न पशुपति क्षेत्र विकास कोषसँग सहकार्यमा गर्न लागेका हौँ ।”
गत असोज २० गते बसेको काठमाडौं महानगरपालिकाको ५१ औ कार्यपालिका बैठकले पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा शवदाह गृह निर्माणका लागि १५ करोड बजेट छुट्याएको छ । भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक पाटोका बारेमा कुनै पनि चिन्ता नलिन आग्रह गर्दै मेयर शाक्यले काम समयमा सम्पन्न गर्न सुझाव दिए । उनले महानगरपालिकाले १५ वटा एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको पनि जानकारी दिए ।
कोषका सदस्य सचिव ढकालले विद्युतीय शवदाहका लागि क्षमता विस्तार गर्दै जाने कोषको योजनाम काठमाडौं महानगरपालिकाले सहयोग गरेको भन्दै उत्साहित भएको बताए । अहिले दैनिक ३५ देखि ४५ वटासम्म शवदाह हुने गरेका छन् । अब थपिने शवदाह गृहले हालको चापलाई केही सम्बोधन गर्ने कोषले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्