सौर्य ऊर्जाको भविष्य «

सौर्य ऊर्जाको भविष्य

परम्परागत ऊर्जाको स्रोत कोइलाबाट उत्पादितभन्दा जलस्रोत तथा सौर्य ऊर्जाबाट उत्पादित ऊर्जा प्रदूषणरहित हुन्छ । त्यसैले पछिल्ला वर्षमा विश्वमा सूर्यको प्रकाश भरपुर रहेका ठूला तथा जनसंख्याविहीन स्थानमा ऊर्जा फर्महरू बनाएर सौर्य ऊर्जा उत्पादन गर्ने काम प्रचलन सुरु भएको छ । यसबाट स्वच्छ ऊर्जाको यो स्रोतको क्षेत्रमा केही सकारात्मक संकेत भविष्यमा देखिन्छ । ठूला–ठूला सौर्य परियोजनाहरूले गर्दा ठूलो स्तरमा सौर्य प्यानल निर्माण गर्ने तथा सौर्य प्यानल निर्माणमा किफायती नयाँ आविष्कारहरू पनि भइरहेका छन् । यसै क्रममा नेपालमा पनि ऊर्जा मिश्रणको अवधारणाअनुसार सौर्य ऊर्जालाई केन्द्रीय विद्युत् प्रणालीमा जोड्ने काम भइरहेको छ । नेपालको हालसम्मकै ठूलो सौर्य (सोलार) ऊर्जा प्लान्ट बुटवलमा सम्पन्न भएको छ । हुन त १ मेगावाटसम्मको ससाना सोलार प्लान्ट निर्माण धेरै स्थानमा भए तापनि बुटवलको सौर्य ऊर्जा प्लान्ट भने साढे ८ मेगावाटको हो । सरकारले अपनाएको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र र कार्ययोजना, २०७२ ले अपनाएको ऊर्जा मिश्रणको नीतिअन्तर्गत २०७३ साल जेठमा खुला रूपमा टेन्डर आह्वान गरिएको यस आयोजनामा बैंक अफ काठमाडौंको अगुवाइमा सिटिजन्स र नेपाल बंगलादेश बैंकले ४९ करोड रुपैयाँ लगानी गरेका छन् । विद्युत् खरिद सम्झौता (पीपीए) प्रतियुनिट ७.३० रुपैयाँमा रहेको यस सोलार प्लान्ट अध्ययन, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माणको काम भारतको जीई सोलार कम्पनीले गरेको हो । २०७३ सालदेखि प्रक्रिया सुरु गरिएको आयोजनाको निर्माण कार्य भने २०७६ कात्तिकदेखि मात्र सुरु भएको थियो । ग्रिड कनेक्टेड यो प्लान्ट दैनिक १० घण्टासम्म सञ्चालन हुनेछ । बुटवलबाट नजिकमा पर्ने अमुवा सबस्टेसनसम्म ३३ केभी क्षमताको ७ किलामिटर लामो ट्र«ान्समिसनलाइन निर्माण गरेर यसबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानीमा निर्माण भएको यस आयोजनाको लागत ७२ करोड छ । यसबाट फेरि एकपटक जलविद्युत्भन्दा सौर्य ऊर्जा सस्तो हुने बहस पनि सुरु हुने देखिन्छ । किनकि वर्षको १० करोड आम्दानी हुने तथा आयोजनाको प्रतिफल ६ वर्ष भइसक्ने अनुमान रहेको छ ।
हाल ऊर्जा मिश्रणको अवधारणाअनुसार सर्भे अनुमतिपत्र लिने सोलार आयोजनाहरूको क्षमता ३ सय ७७ मेगावाट छ भने निर्माण अनुमतिपत्र लिनेको क्षमता ७३ मेगावाट र निर्माणको अनुमतिका लागि आवेदन दिनेको संख्या ४४ मेगावाट छ । बुटवलको भन्दा पनि ठूलो २५ मेगावाट क्षमताको सौर्य प्रणाली नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेकोमा विविध कारणले ढिलाइ भइरहेको छ । सोलार प्यानलमार्फत उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारणलाइनमा जोडिने यस आयोजनामा ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने हुनाले यसमा पनि केही बहस त छ नै । तर पनि विश्व बंैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग करिब ४ अर्बमा ठेक्का सम्झौता गरिएको यो आयोजना पहिलो चरणमा १० मेगावाट र त्यसपश्चात् बाँकी १५ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको योजना छ । यस परियोजनाबाट उत्पादित हुने विद्युत् देवीघाट जलविद्युत् केन्द्रमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ ।
विश्वमा सौर्य ऊर्जामा चीन उदाहरण मानिन्छ, किनकि चीन विश्वमा नै सबैभन्दा बढी सौर्य ऊर्जा उत्पादन गर्ने देश हो । एक तथ्याङ्कअनुसार चीनले हाल १ सय ३० गिगावाट (१ लाख ३० हजार मेगावाट) भन्दा बढी सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । चीनले संसारकै सबैभन्दा ठूलो सोलार प्लान्ट तेन्गर मरुभूमिमा बनाएको छ । यसको बिजुली उत्पादन क्षमता १५ सय मेगावाट रहेको छ । यस्तै, तिब्बतको पठारमा बनाइएको ८ सय ५० मेगावाटको अर्को सौर्य प्लान्टमा ४० लाख सोलार प्यानल लगाइएको छ । इन्टरनेसनल इनर्जी एजेन्सी (आईईए) को तथ्याङ्कअनुसार हाल विश्वमा बनिरहेका कुल सोलार प्यानलको ६० प्रतिशत हिस्सा चीनले निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्