भेन्टिलेटरसहितको कोभिड अस्पताल निर्माण गर्न कांंंग्रेसको माग «

भेन्टिलेटरसहितको कोभिड अस्पताल निर्माण गर्न कांंंग्रेसको माग

प्रदेश–१ को प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले १५ दिनभित्र १ हजार शैय्याको भेन्टिलेटरसहितको कोभिड अस्पताल निर्माण गर्न माग गरेको छ । कोरोनाको महामारी फैलिँदा जाँदा पनि प्रदेश सरकार उद्घाटन र शिलान्यासमा केन्द्रित भएको कांग्रेसको आरोप छ ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिपक्षी दलले १ हजार शैय्याको कोभिड अस्पताल १५ दिनभित्र निर्माण गर्न माग गरेको हो । प्रतिपक्ष दलका संसदीय दलका नेता राजीव कोइरालाले लकडाउनका अवधिमा प्रदेश सरकारले कोभिड अस्पताल निर्माणको अवसर चुकाएको बताए । स्थानीय तहदेखि जिल्ला, प्रदेश र केन्द्रसम्म रहेको विपद् व्यवस्थापन समितिलाई सक्रिय नपारेर अनेक खालका समिति बनाएर सरकार अलमलिइरहेको उनको भनाइ छ । “पाँच महिनाभन्दा लामो लकडाउनमा प्रदेश सरकारले सिन्कोसमेत भाँचेन,” उनले थपे, “कोभिडका नाममा समिति बनाएर तलब भत्ता खाने काम मात्रै भइरहेको छ ।”
प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी विराटनगरमा एक महिनाभित्र एक हजार शैय्याको कोभिड अस्पतालको निर्माण गर्ने घोषणा गरे पनि अझैसम्म अस्पताल नबनेको बताए । कार्कीले कोभिडका बिरामी घरमै छटपटाएर पीडादायी रुपमा मर्न बाध्य भइरहे पनि प्रदेश सरकारले मानवीय संवेदना र करुणा नदेखाएको आरोप लगाए । उनले १५ दिनभित्र सरकारले घोषणा गरेअनुसारको १ हजार शैय्याको अस्पताल निर्माण गर्न माग गरे । कार्कीले भने, “मुख्यमन्त्रीज्यूले साउनमै १ सय बेडको भेन्टिलेटरसहितको अस्पताल बनाउने भन्नुभएको थियो । जनता धमाधम कोडिभले मरिरहँदा पनि मुख्यमन्त्री र मन्त्रीहरू उद्घाटन र शिलान्यासमा व्यस्त हुनुभएको छ ।”
कार्कीले दिनानुदिन अनपेक्षित रूपमा संक्रमितको संख्या बढिरहे पनि कार्यक्रम र समारोह होस् वा गुद्री, हाटबजार कतै पनि स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना नभएको बताए । कार्कीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालका ८ भेन्टिलेटरमध्ये ५ वटा बिग्रिएको र कोशी कोभिड अस्पतालका ५ मध्ये २ वटा बिग्रेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्