देशैभर आन्तरिक पर्यटकको चहलपहल «

देशैभर आन्तरिक पर्यटकको चहलपहल

दसैं तथा तिहारमा लामो बिदा हुने भएकोले प्रायः सबैको मनमा घुम्न जाऔं र रमाइलो गरौं भन्ने मुड बनिहाल्छ । विगतको समयमा चाडपर्वमा रमाइलो गरी घरपरिवार मिठो खाने र जमघट गरिबस्ने प्रचलन थियो । पछिल्लो समय चाडपर्वमा घरपरिवार र साथीहरूको समूह लामो र छोटा गन्तव्यमा घुमेर मनाउन थालेका छन् ।
पछिल्लो समय सानादेखि ठूला तथा तारे होटलहरूले पनि आन्तरिक पर्यटकलाई चासो दिएर प्याकेज दिने गरेका छन् । त्यसैले होला, नयाँ–नयाँ गन्तव्यमा आन्तरिक पर्यटकहरूले पर्यटन व्यवसाय धानिन थालेका छन् । मौसम र बिदा दुवैले साथ दिने भएकाले प्रायः असोज र कात्तिकमा आन्तरिक पर्यटकहरू बढी घुमफिरमा निस्कने गरेका छन् ।
०७२ वैशाखमा गएको भूकम्प र भारतीय नाकाबन्दीका कारण पर्यटन क्षेत्र थला परेकोमा गत वर्षदेखि नै आन्तरिक पर्यटन गतिविधिले व्यवसायीलाई उत्साहित बनाउँदै आएको छ । काठमाडौंका वरपर हाईकिङ गएर रमाउने समूह यतिबेला उपत्यका बाहिर पोखरा, चितवन, लुम्बिनी, जनकपुर, रारा, खप्तडदेखि मुक्तिनाथतिर लगेका छन् ।
दसैंतिहारको लामो बिदामा अन्नपूर्ण पदयात्रामा गएर भर्खरै काठमाडौं फर्किएका गोरखाका सुनिल श्रेष्ठ भन्छन्, “दसैंलगत्तै हिँडेका थियौं । ११ दिनको यात्रापछि काठमाडौं आइपुगेका छौं ।” श्रेष्ठसहित ४ जनाको समूह त्यसतर्फको यात्रामा गएका थिए । उनका अनुसार पहिले नेपालीहरू भरिया र गाइडको रुपमा मात्र त्यसतर्फ जाने गरेको भएपनि अहिले नेपालीहरू समूह बनाएर घुमफिरमा निस्कने गरेका छन् । श्रेष्ठको समूहजस्तै यबिवेला दैनिक हजारौं आन्तरिक पर्यटकहरू घुमफिरमा निस्केका छन् ।
यसका कारण सानादेखि तारे होटलहरू अहिले विजनेस गर्न विदेशी पर्यटक कुर्न नपर्ने बनाएको छ । आन्तरिक पर्यटकले काठमाडौं बाहिरका सबैजसो होटल भरिने गरेका होटल संघ नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवेश अर्याल बताउँछन् । केही वर्ष अगाडिसम्म विदेशीलाई मात्र पर्यटक बुझिन्थ्यो । तर पछिल्लो अवस्था त्यस्तो छैन । “नयाँ वर्षमा ठमेल आउँदा सबै होटल र रेस्टुराँ नेपालीले भरिने गरेको छ,” अर्यालले भने । नयाँ वर्ष, दसैं, तिहारलगायत अन्य अवसरमा किशोर–किशोरी, युवा–युवतीको साथै पूरै परिवार नै घुम्न जाने प्रचलन नेपालीमाझ बढ्दै गएको छ ।
काठमाडौंमा त पछिल्लो समय कुनै चाडपर्व आउनासाथ ठमेल, दरबारमार्ग, झम्सीखेल, नगरकोट, धुलिखेल, ककनीसम्मका रेस्टुराँ, रिसोर्टदेखि होटलसम्म नेपाली पर्यटकले भरिभराउ हुने गरेका छन् ।
५० लाखभन्दा बढी नेपाली वर्षका कम्तीमा एक पटक पर्यटकीय भ्रमणमा जाने गरेको सरकारी अनुमान छ । यही जनमानसकै कारण पनि उपत्यका बाहिरका रिसोर्टहरू भरिभराउ हुने गरेका हुन् ।
दसैं तिहारको समयमा अहिले आन्तरिक पर्यटकले चितवनका होटल भरिभराउ हुने गरेका छन् । चितवनको सौराहामा मात्र साना ठूला गरी ९७ वटा होटल छन् भने जगतपुरमा १७ र मेघौलीमा ४ वटा होटल छन् । सबै होटलको कुल क्षमता २ हजार ७०० छ । चितवनमा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एक सिंगे गैंडा, बाघलगायत दुर्लभ वन्यजन्तु हेर्न आउँछन् । पर्यटक हात्ती चढेर जंगल सफारी गर्न, नदीमा डुंगा सयर गर्न, निकुञ्जमा पदयात्रा गर्न पनि आउने गर्छन् । पर्यटक बढेसँगै चितवनमा होटलमा लगानी थप्ने क्रम बढेको छ ।
पोखराको, भैरहवा, पाल्पा, गुल्मी, इलामलगायत मुख्य स्थानहरूमा आन्तरिक पर्यटकहरू घुम्न जाने गर्छन् । सरकारले ०७३ साललाई ‘आन्तरिक घुमफिर वर्ष’ मनाएको थियो । वैशाख १२ गते भूकम्प गएको वर्षदिन पारी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घुमफिर वर्ष २०७३’ घोषणा गरेका थिए ।
घुमफिर वर्षमा आन्तरिक पर्यटन विस्तार गर्न घुम्न जाऊँ है पोखरा, चितवन, लुम्बिनी, राराताल, खप्तड, माथिल्लो मुस्ताङलगायत स्थानमा अभियान नै चलाइएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए । यसले आफ्नै देशमा घुम्नका लागि प्रोत्साहन गरेको उनको भनाइ छ । “नेपालमा खर्च गर्न सक्ने गुणस्तरीय पर्यटकको वृद्धि हुँदै गएका कारण आन्तरिक पर्यटन वर्षले भूकम्पपछि खस्किएको पर्यटन क्षेत्रलाई ठूलो टेवा दिएको छ,” उनले भने ।
पर्यटन वर्षमा सार्वजनिक, शिक्षा तथा निजी क्षेत्रका संगठित संस्थाले वर्षमा एक पटक अनिवार्य रुपमा घुमफिर बिदा दिनुपर्ने पनि सरकारले निर्णय गरेको छ । यसका साथै गन्तव्य व्यवस्थापक, सेवा प्रदायक समूह तथा सञ्चालकहरूले पनि छुट प्याकेज ल्याएका छन् । हान, नाट्टा, टान, सोट्टो नेपाललगायत निजी क्षेत्रका संघसंस्थाहरूले समेत प्याकेज ल्याएका छन् ।

रोजाइमा मुस्ताङ
माथिल्लो र तल्लो मुस्ताङको भ्रमण गर्न यतिबेला दैनिक हजारौंको संख्यामा आन्तरिक पर्यटक जाने गरेका छन् । केही ट्राभल्स एन्ड टुर कम्पनीसँग प्याकेज लिएर गएका छन् भने कोही आफैं जाने गरेका छन् । मुस्ताङको मुक्तिनाथमा हिन्दू र बौद्ध दुबै धर्मालम्बीका भक्तजन दर्शनका लागि जाने गरेकोले पनि सो क्षेत्रमा आन्तरिक पर्यटक बढी पुगेका हुन् । विगतमा मुस्ताङ क्षेत्रमा पर्यटक जानको लागि कठिन र महँगो भएता पनि पछिल्लो समय सडक सञ्जालमा सहज पहुँच भएकोले आन्तरिक पर्यटक सो क्षेत्रमा जाने गरेको ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष यम बहादुर खड्का बताउँछन् । “अहिले नेपालीहरू मुस्ताङ र रारा जानको लागि पहिलो गन्तव्यमा राख्न थालेका छन्,” खड्काले भने ।

रारामा पाि आन्तरिक पर्यटक बढ्दै
सडक सञ्जालमा जोडिएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा जानेको संख्यामा वृद्धि भएको छ । व्यवसायीका अनुसार दैनिक ३ सयभन्दा बढी आन्तरिक पर्यटक अहिले रारा पुग्ने गरेका छन् । नेपालगन्जबाट सोझै जहाजमा रारा पुग्न सकिन्छ भने दैलेख, कालीकोट र जुम्ला भएर सडकमार्ग प्रयोग गरी दुई दिनमा रारा पुग्न सकिन्छ । रारासहित जुम्ला, नेपाली भाषाको उद्गम थलो सिँजामा समेत आन्तरिक पर्यटकको उल्लेखनीय रुपमा वृद्धि हुन थालेको सोट्टोका अध्यक्ष खड्का बताउँछन् । सोट्टोले केही समय अगाडिमात्र रारा प्याकेज सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्