माधव नेपाल समूह पछि हट्दा सरकार जोगिने सम्भावना «

माधव नेपाल समूह पछि हट्दा सरकार जोगिने सम्भावना

कर्णाली प्रदेशको सरकार परिवर्तनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चलेको संघर्षले नयाँ रुप लिएको छ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरुले हालका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिएपछि सरकार परिवर्तनको विषय तत्कालका लागि टरेको हो ।
शाहीविरुद्ध १८ जनाले संसदीय दलको नेतामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसमध्ये माधव नेपाल पक्षका आठ जना सांसद थिए । नेपाल समूहकै हस्ताक्षर कर्तामध्येकै कुर्मराज शाहीलाई मंगलबार दलको सचेतकमा नियुक्त गरेका छन् भने अरु तीन जनालाई मन्त्री बनाउने आश्वासन दिएको बुझिएको छ । ‘आगामी दिनमा सरकारका कामलाई प्रभावकारी बनाएर जाने र सरकार पुर्नगठन गर्छु भनेपछि हामीले मानेका हौँ,’ नेपाल पक्षका एकजना सांसदले भने, ‘अब तत्काल सरकार परिवर्तन हुँदैन होला तर हेरफेर हुन्छ ।’
नेपाल पक्षीय सांसदहरु उपस्थित नभएपछि संसदीय दलमा हस्ताक्षर बुझाएका नेकपा सांसदहरूको मंगलबार बस्ने भनिएको बैठक प्रभावित भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठकमा १० जना सांसद मात्र उपस्थित भएका थिए । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालासहित माधव नेपाल समूहका सांसदहरू बैठकमा उपस्थित भएनन् । उनीहरू उपस्थित नभएपछि बैठक बस्न नसकेको एक सांसदले बताए । यद्यपि नेपाल समूहका सुशील थापा बैठकस्थलमा पुगेका थिए । निर्वतमान प्रमुख सचेतक गुलाबजंग शाहले अविश्वासको प्रस्ताव दर्ता गराएकै दिन मंगलबारका लागि दलको बैठक बोलाएका थिए । पछि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि हस्ताक्षर अभियान संकलन गरेको भन्दै मुख्यमन्त्री शाहीले मुख्य सचेतक शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरी प्रमुख सचेतकमा नियुक्त सीता नेपालीलाई नियुक्त गरेका छन् । उनले कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक बोलाएकी छन् । कर्णालीमा दर्ता गरिएको अविश्वासको प्रस्तावका विषयमा नेकपाको शिर्ष तहमा छलफल भैरहेको छ ।
नेपाल पक्षीय सांसदहरु पछि हटेपछि हस्ताक्षरको नेतृत्व गरिरहेका सांसद एवं नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कँडेल समस्यामा परेका छन् । हस्ताक्षर गर्ने अठार जना मध्ये ८ जना पछि हटेपछि कँडेल समस्यामा परेका हुन् । हस्ताक्षर गर्नेमा पूर्व माओवादी केन्द्रबाट समानुपातिक सदस्यमा मनोनित सदस्य तथा उपसभामुख पुष्पा घर्ती विष्ट, सुर्खेत १ ख बाट विजयी माओवादी केन्द्रकै ठम्मरबहादुर विष्ट तथा दैलेख १ क का सदस्य धर्मराज रेग्मी छन् ।
बाँकी १५ सदस्यमध्ये तत्कालिन नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित ८ र सात समानुपातिक सदस्य छन् । सात प्रदेशमध्ये सबैभन्दा सानो ४० सदस्यीय प्रदेशसभामा नेकपाका ३३ सदस्य छन् । ६ नेपाली कांग्रेस र १ राप्रपाका सदस्य छन् । नेकपाका ३३ मध्ये तत्कालिन नेकपा एमालेका २०, र नेकपा माओवादी केन्द्रका १३ सदस्य हुन् । हाल नेकपाको संसदीय दलमा कँडेललाई बाँकी ९ सदस्यले साथ दिइरहेका छन् । जसमध्ये पूर्व माओवादीबाट सदस्य बनेका तीन जनाहरु उपसभामुख पुष्पा घर्ती, ठम्मर विष्ट र धर्मराज रेग्मीले कँडेललाई साथ दिइरहेका छन् । ओली पक्षबाट केहीले कँडेलको साथसमेत छाडेका छन् । कँडेललाई साथ दिनेमा कौशिल्यावती खत्री, प्रमुख सचेतकबाट हटाइएका गुलाबजंग शाह, वर्षदिन अगाडि मन्त्रीबाट हटाइएका खड्गबहादुर खत्री, राजु नेपाली, तथा माधव नेपाल पक्षधर शुशील थापाले अहिले कँडेललाई साथ दिइरहेका छन् । मंगलबार देखिएको संकेतबाट मुख्यमन्त्री परिवर्तनको प्रयास असफल हुने देखिएको छ । तर मन्त्रीमा हेरफेर गर्ने भने निश्चित जस्तै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्