मूल्यवृद्धि नियन्त्रणको लागि निरन्तर अनुगमन : उद्योगमन्त्री भट्ट «

मूल्यवृद्धि नियन्त्रणको लागि निरन्तर अनुगमन : उद्योगमन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नभएको बताएका हुन् । उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा खाद्यान्नलगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नियन्त्रण गर्न सरकारले निरन्तर बजार अनुगमन गरिरहेको दावी गरे ।
उनले विश्व बजारमै केही वस्तुमा मूल्यवृद्धि हुँदा नेपालमा पनि केही वस्तुमा त्यसको असर परेर मूल्य वृद्धि हुनु स्वभाविक भएको बताए । मन्त्री भट्टले अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रित भएको पनि बताए ।
निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताए । कर र राजस्वका विभिन्न विषयमा सुधार गरी उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको मन्त्री भट्टको दावी छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समग्र आर्थिक विकासका लागि निजी क्षेत्रको क्षमता र दक्षता अभिवृद्धि गर्ने तथा खुला अर्थतन्त्रको विकासमा निजी क्षेत्रको तर्फबाट महत्वपूर्ण योगदान दिएको बताए । उनले विश्वव्यापी बजारमा नेपाली व्यवसायीहरुको उत्पादनलाई प्रतिष्पद्र्धी तथा गुणस्तरीय बनाउन सहयोग एवम सहजीकरण गर्न चेम्बर लागिपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्