स्वरोजगार र समृद्धिको आधार प्राविधिक शिक्षा

वैदेशिक रोजगारीमा जाने युवाहरूलाई पनि त्यहाँको मागअनुसार सीपमूलक तालिम दिएर पठाउन सके उनीहरूको कमाइमा उल्लेख्य वृद्धि गर्न सकिन्छ ।
जीवनोपयोगी प्राविधिक शिक्षाको सर्वसुलभताले मात्रै समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारी नाराले सार्थकता पाउन सक्छ । हाम्रो शिक्षा गरिखाने भन्दा पनि ठगी र मागिखाने जनशक्ति उत्पादनतिर लक्षित भएको गुनासो सत्यताको नजिक रहेको पाइन्छ । समयको मागअनुसार देश तथा विदेशका श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो । रोजगारीका लागि भौंतारिने भन्दा पनि रोजगार सिर्जना गर्न सक्ने, प्रतिभाशाली शैक्षिक जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्याको हल गर्न सक्छ । प्राविधिक शिक्षाले स्वरोजगारका अवसरहरू प्राप्त गर्न सहजता प्रदान गर्छ । तर, कुन क्षेत्रको, कस्ता प्राविधिक, कति चाहिन्छ भन्ने भविष्यदर्शी योजनाको अभाव र हचुवाको भरमा कार्यक्रम ल्याउने प्रवृत्तिका कारणले पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव खट्किएको छ । विद्यालय शिक्षा पार गरेका युवाहरूको भविष्यको शैक्षिक यात्राको सही मार्गदर्शन दिन नसकेमा त्यसको नकारात्मक असर परिवार, समाजदेखि देशले नै भोग्नुपर्ने हुन्छ । साधारण शिक्षा मात्र अध्ययन गर्ने प्रवृत्तिका कारण देशमा बेरोजगारीको विकराल समस्या बन्दै गएको परिवेशमा सीपमूलक गुणस्तरीय प्राविधिक शिक्षा समस्या समाधानका लागि वरदान साबित हुन सक्छ । अहिले पनि झन्डै ४५ लाखको हाराहारीमा वैदेशिक रोजगारीमा भएका युवाहरूले पठाएको रेमिट्यान्सले अर्थतन्त्र धान्न विवश हाम्रो देशमा जीवनोपयोगी पौरखी प्राविधिक शिक्षा अपरिहार्य भइसकेको छ ।
वैदेशिक रोजगारीमा जाने युवाहरूलाई पनि त्यहाँको मागअनुसार सीपमूलक तालिम दिएर पठाउन सके उनीहरूको कमाइमा उल्लेख्य वृद्धि गर्न सकिन्छ । मुलुकको समृद्धिका लागि दक्ष जनशक्तिको आवश्यकता पर्छ । नेपालमा अहिले पनि प्राविधिक जनशक्तिको उत्पादन न्यून छ । देशको आवश्यकताका लागि मात्रै नभएर ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने युवाहरूको आय आर्जनमा समेत वृद्धि गर्न योजनाबद्ध प्राविधिक शिक्षा आजको आवश्यकता हो । रोजगारीका लागि भौंतारिनेभन्दा पनि रोजगारी दिन सक्ने सिर्जनात्मक तागत भएको जनशक्ति उत्पादन गर्ने राज्यको शिक्षा नीति हुनुपर्छ ।
प्रत्येक वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) बाट करिब ५ लाख परीक्षार्थी उत्तीर्ण भएका छन् । उनीहरूलाई भविष्यको शैक्षिक यात्राका लागि मुख्यतया प्राविधिक र साधारण शिक्षामध्ये छनौट गर्नुपर्ने हुन्छ । धेरै लगानी गरेर लामो समयसम्म अध्ययन–अनुसन्धान तहसम्मका लागि साधारण शिक्षा रोज्नु स्वाभाविकै हो । आफ्नो योग्यता, क्षमता र आर्थिक हैसियतको ख्यालै नगरी उच्च शिक्षाको विषय र बाटो रोज्दा भविष्य अलपत्र परेका उदाहरण बग्रेल्ती पाइन्छ । हाम्रो जस्तो विकासोन्मुख देशमा मध्यमस्तरीय सीप भएका प्राविधिक जनशक्ति प्रशस्त आवश्यक पर्छ । एसईई पार गरेका परीक्षार्थीका लागि विभिन्न क्षेत्रमा स्वरोजगार बन्ने अवसर प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले विविध क्षेत्रमा अध्ययन र तालिमको अवसर प्रदान गर्दै आएको छ । एसईई परीक्षा उत्तीर्ण, टीएसईई र डिप्लोमा गरी करिब ४५ हजारभन्दा बढीले सिटिइभिटीअन्तर्गत देशका विभिन्न क्षेत्रमा छरिएर बसेका शिक्षण संस्थामार्फत प्राविधिक शिक्षाको अध्ययन गर्ने अवसर छ । सिटिइभिटीअन्तर्गतका ३ सय ३१ संस्थाहरूबाट विभिन्न प्राविधिक क्षेत्रमा १८ हजार विद्यार्थीले डिप्लोमा कोर्स अध्ययन गर्न पाउने सुविधा प्रदान गरेको छ । त्यस्तै २ सय ८० सम्बन्धन प्राप्त निजी संस्थाहरूले पनि विभिन्न प्राविधिक कोर्सहरू सञ्चालन गरिए तापनि पर्याप्त देखिएको छैन । हाम्रो जस्तो भौगोलिक विकटता र सामाजिक–आर्थिक विभिन्नता भएको देशमा गुणस्तरीय प्राविधिक शिक्षामा सहज पहुँचको सुनिश्चितताका लागि सरकारले विशेष ध्यान दिन विलम्ब भइसकेको छ । विगत वर्षहरूमा साधारण शिक्षामा मात्र जोड दिँदा शिक्षण संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाका रूपमा चित्रित भएका थिए । तर, पछि विद्यालय तहदेखि नै प्राविधिक धारका आधारभूत ज्ञान र सीप प्रदान गर्ने समयानुकूल सकारात्मक नीति राज्यले लिएको पाइन्छ ।
दिनप्रतिदिन ऊर्जाशील युवा जनशक्ति रोजगारीका लागि बिदेसिनु देशका लागि कदापि शुभसंकेत होइन । रोजगारीका लागि नेपाली युवाहरू भौंतारिंदै कस्तूरीले आफूमा भएको सुगन्धित बिनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौंतारिएर हिँडेजस्तै मृगतृष्णाका रूपमा आफ्नै देशमा उपलब्ध पेसा अँगाल्न हिचकिचाउँदै हजारांै, लाखौं रुपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलपूmलखेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाडमछाडका साथ पुगेका छन् । अर्कातर्फ छिमेकी देशहरूबाट रोजगारीका लागि नेपाल आएर फलफूल, तरकारी र अन्य सामान बेच्न सहरबजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ । तर गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्योभन्दा तल्लो स्तरको काम गर्न मुग्लान नै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावैअभावबाट छटपटिई निराश भई बिरक्तिएर बिदेसिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुङ्ग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले बिदेसिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? आदि प्रश्नहरूको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन ।
शिक्षालाई गुणस्तरीय, जनमुखी, प्रगतिशील, जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिएको पाइन्छ । गुणस्तर प्राप्ताङ्कका आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै छ । जसका कारणबाट आमाबुबाको अर्थ नबुझ्ने तर ड्याड–ममको संस्कारमा हुर्कने, दूध कहाँबाट आउँछ भन्दा डेरीबाट भन्ने, गाईभैंसीको जानकारी नराख्ने, कृषिमा हलो, फाली, करुवा, दाँते आदिका बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्पव्यवहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने÷गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्बन गरिनुपर्छ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्छ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्छ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्ताङ्कभन्दा पनि उसले देखाउने बानीव्यवहार, चालचलन, चरित्रका आधारमा गुणस्तरिय शिक्षा परिभाषित हुनुपर्छ ।
हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकि १ सय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुनरावलोकन गरिनुपर्छ । त्यसप्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन–अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णाङ्क प्राप्त गर्नु आठौं आश्चर्य भएको छ । अर्कातर्फ कतिपय विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनीहरूको अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्न । त्यसकारण सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील सफल नागरिक बनाउने खालको व्यावहारिक, पौरखी शिक्षा आजको आवश्यकता हो । जसअनुसार श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनुपर्छ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थीकेन्द्रित गरिनुपर्छ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्छ । पौरखी नागरिक बन्ने अभ्यास, विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनुपर्छ । साथै, उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक मूल्यमान्यता, संस्कार एवं भावना आदिलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनुपर्छ । राज्यले तोकेको पाठ्यक्रमका अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्छ, जसले विद्यार्थीलाई भविष्यमा स्वरोजगार भई बाँँच्न प्रेरित गर्न सकोस् ।
(लेखक काठमाडौं जिल्लाका निवृत्त जिल्ला शिक्षा अधिकारी हुन् ।)