प्रशोधित पानीको मूल्य घटाउन व्यवसायी सहमत «

प्रशोधित पानीको मूल्य घटाउन व्यवसायी सहमत


सर्वत्र विरोधपछि प्रशोधित पानीको बढेको मूल्य फिर्ता लिन व्यवसायीहरू सहमत भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीहरूलाई बढेको मूल्य फिर्ता लिन भनेपछि उनीहरू सहमत भएका हुन् । बजारमा मूल्य एकरूपता कायम गर्न भन्दै व्यवसायीले गत साता २५ रुपैयाँ प्रतिजारदेखि ४५ रुपैयाँमा बिक्री भइरहेको पानीको अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ निर्धारण गरेका थिए । त्यसलगत्तै बजारमा खुद्रा व्यवसायीले मनपरी ढंगले पानीको मूल्य बढाउन थालेपछि उपभोक्ताले विरोध गरेका थिए ।
पानीको मूल्य बढेको विषयमा सोधपुछ गर्न व्यवसायीलाई बोलाएको र कानुनअनुसार सरकारले पक्राउ गरेर थुन्ने भनेपछि मूल्य घटाउन सहमत भएको विभागको भनाइ छ । पानीको मूल्य बढाउने निर्णय फिर्ता नलिए पक्राउ गर्ने विभागको चेतावनीपछि व्यवसायीहरूले विभागसँग लिखितरूपमै सहमति गरेको विभागका प्रवक्ता रवीन्द्र आचार्यले जानकारी दिए । “व्यवसायीले सार्वजनिक सूचना निकालेर बढेको मूल्य घटाउने भनेका छन,” उनले भने, “पानीमा अनुगमन गरेर मूल्य बढेको पाइएकाले तत्काल कारबाही गर्छौं ।”
विभागले बजारमा बढेको प्रशोधित जारको पानीको मूल्य फिर्ता नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ । बढेको पानीको मूल्य पूर्वअवस्थामै राख्ने भनेर व्यवसायीलाई बोलाइ लिखितसहमति गरेकाले फिर्ता नगरेको पाइएमा विभागले तत्काल कारबाही गर्ने जनाएको छ । उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐन आकर्षित हुने भएकाले बढेकाले मूल्य फिर्ता नगरेको पाइएमा तत्काल व्यवसायीलाई थुनेर कारबाही गर्ने विभागका प्रवक्ता आचार्यले बताए । विभागसँगको सहमति कार्यन्वयन भए नभएको बजारमा हेरिने र नभएको फेला परे तत्काल दण्ड जरिवाना गरिने विभागले जनाएको छ । बजार अनुगमनममा निस्किएको विभागको टोलीलाई पानीको खरिद र बिक्री जाँच गर्न निर्देशन दिइएको पनि विभागले जनाएको छ ।
डीडीसीमै म्याद नाघेको बटर
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)मा नै म्याद नाघेको दुई लाख किलो बटर फेला परेको छ । काठमाडौं महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले मंगलबार गरेको बजार अनुगमनका क्रममा उपभोग्य मिति सकिएको १ लाख ९४ हजार किलो ९ सय ७५ किलो बटर पाइएको हो । सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको सो बटरमा उपभोग्य मिति सकिएको फेला परेको हो । बजार अनुगमन टोली प्रमुख हरिबहादुर भण्डारीले डीडीसीको बालाजु प्लान्टको चार वटा गोदाममा रहेको१क लाख ९४ हजार ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको जानकारी दिए । बटरको प्याकिङमा उत्पादित मितिले आठ महिना अघिनै उपभोग गरिसक्न भनिएको तर, गोदामका अधिकाशं बटरमा सो मिति नाघेको पाइएको उनले जानकारी दिए । उत्पादन सकिएको बटर पनि डीडीसीले सुजलसंग किनेको पाइएको पनि अनुगमन समितिले जनाएको छ । सुजलसँग किनेको बटरबाट डीडीसीले घिउ उत्पादन गरेर बजार पठाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्