चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे पुस्तक प्रकाशित «

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे पुस्तक प्रकाशित

चिनियाँ राष्ट्रपति सि जिङफिङले नेपाल भ्रमण गरेको एक वर्ष पूरा भएको अवसर पारेर नेपाल–चीन मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘प्रेसिडेण्ट सि जिङफिङ्स नेपाल भिजिट ः अ पिक्टोरियल गाइड’ पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालले सार्वजानिक गरेका छन् ।
समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाल–चीन सम्बन्ध सधै हार्दिक र सुमधुर रहेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै कसिलो र घनिभूत बनाउनु पर्ने बताए । चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले कति लाभ लिन सक्यो भन्ने समिक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले भने, ‘कागजीरुपमा त लाभ लियौं तर व्यवहारिकरुपमा कति लाभ लिनसक्यौ ? बेल्ट एण्ड रोड इनिसियटिभ्सबाट कति लाभ लिन सक्यौं ? यसको समिक्षा गर्दै भएका सहमति कार्यन्वयनमा जोड दिनुपर्छ ।’ नेपाल चीनको विश्वासिलो मित्र भएको भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामी चीनसँग अझ विश्वासिलो र साझेदार देशकारुपमा अघि बढ्न चाहान्छौं ।’
पछिल्लो समय सी जिन फिङले चीनको नेतृत्व सम्हालेपछि उनले बेल्ट एण्ड रोड सम्बन्धी नयाँ सिल्क रोडको नयाँ अवधारणा अगाडी सार्नु भएको उल्लेख गर्दै नेपालले थपे,‘पुरानो सिल्क रोडले जसरी एसिया र युरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले गररेको छ । उहाँ आएपछि यो अवधारणालाई अझ गति प्रदान गर्नुभयो । सिंगो मानवजातीको साझा भविष्यको परिकल्पना गर्दै सबैलाई आर्थिकरुपले लाभ हुने जुन प्रस्ताव अगाडी सार्नुभयो, त्यो अत्यन्तै सरानीय छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालले सन् १९६५ मा नेपाल–चीनविच कुटनैतिक सम्बन्ध स्थापना भएयताका विभिन्न महत्वपूर्ण आयामहरुका बारेमा चर्चा गरे ।
सीमासम्बन्धी सन्धी, पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा भएको व्यापार तथा यातायातसम्बन्धी सम्झौता, बेल्ट एण्ड रोड इनिसियटिभ्समा नेपालको हस्ताक्षर, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भ्रमणका रुपमा राष्ट्रपति विद्या भण्डारीले गरेको चीन भ्रमण र चीनका राष्टपतिबाट २३ वर्षपछि भएको सिको नेपाल भ्रमण दुई देशवीचको सम्वन्धमा कोशेढुंगा भएको उनले बताए ।
कार्यक्रममा नेपाल–चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि भएको सी को भ्रमण नेपालका लागि विशेष दिनका रुपमा रहेको र यसले द्धिपक्षीय सम्बन्धमा विशेष महत्व बोकेको बताए ।
सार्वजानिक गरिएको पुस्तक ‘प्रेसिडेण्ट सि जिङफिङ्स नेपाल भिजिट ः अ पिक्टोरियल गाइड’ मा चिनियाँ राष्ट्रपति सी, नेपालका पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग उपप्रमुख विष्णु रिजाल, सन योङ÷ विएम रेग्मी का लेखहरु समावेश छन् । साथै, पुस्तकमा दुई देशका भएका संयुक्त वक्तव्यहरु, दुई देशका उच्चस्तरीय भ्रमणमा भएका सम्झौताहरु, सी भ्रमणका तश्वीर र साथै सी भ्रमणका बेला नेपाली छापा माध्यममा प्रकाशित सामाग्रीहरु पनि समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्