भन्सारबाटै भित्रिन्छ प्रतिबन्धित लागूऔषध

नेपालको प्रमुख प्रवेशद्वारा वीरगन्ज भन्सार नेपालको राजस्व संकलनको दोश्रो ठूलो नाका हो । कोरोना महामारीमा वीरगन्ज भन्सार कार्यालयबाट आयात खुम्चिएर राजस्व संकलन समेत कम भएको भन्सारका कर्मचारीहरुले भनिरहँदा नेपालमा प्रतिबन्धित लागू औषध नै भन्सार पास भएको गाडीबाट फेला परेको छ ।
पर्सा प्रहरीले शनिबार एकीकृत भन्सार जाँच चौकी (आईसिपी) हुँदै भित्रिएको गाडीबाट ठूलो परिमाणमा लागु औषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीबाट जाँचपास भई आएको एचआर ३८ भी ४८९५ नम्बरको ट्रकको क्याविनबाट, चालक बस्ने सिटको पछाडीको सिटमुनी तथा बोनटभित्र लुकाएर ल्याएको अवस्थामा लागू प्रतिबन्धित औषध बरामद गरेको हो ।
प्रहरीले नुर्फिन २९७ एम्पुल, फेनारगन २९७ एम्पुल, डाइजेपाम २९७ एम्पुल गरी लागु औषध इन्जेक्सन ८ सय ९१ थान र भारतको दिल्लीमा उत्पादन भएको २१ सय एमएल विनसिरेक्स १२ सय ६ बोतल ट्रकबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गंगा पन्तले जानकारी दिईन् ।
लागु औषध ओसार पसारमा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ट्रक चालक भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया वडा नं.४ बस्ने २० वर्षिय बिक्रान्त पटेल, ट्रकमा सवार २८ वर्षिय रामबालक राम र २० वर्षिय आकाश कुमार रामलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले बताए ।
पक्राउ परेका तीनै जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागु औषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । लागु औषध नियन्त्रण सम्बन्धी ऐन २०३३ को दफा १४ (१) को (झ) अनुसार लागु औषध ओसार प्रसार वा निकासी पैठारीमा संलग्न व्यक्तिलाई २ बर्ष देखि १० बर्ष सम्म कैद र १ लाखदेखि २० रुपैया जरिवाना हुने व्यावस्था छ ।
खुला सीमाका कारणले लागूऔषध ओसार पसार नियन्त्रणमा भारतसँग सीमा जोडिएका सीमावर्ती जिल्लाहरुमा चुनौती रहेकै अवस्थामा आईसीपी भन्सार पास भएकै गाडीमा यति धेरै प्रतिबन्धित लागू औषध बरामद हुनुले लागूऔषध ओसार पसारमा संलग्नहरुको सञ्जाल बलियो भएको अनुमान गर्न सकिन्छ ।
गोदरेज कम्पनीको एयर फ्रेशनर (कोठाको हावा ताजा बनाउने) सामान लोड भएको भारतीय नम्बरको सवारी साधनमा यति धेरै परिमाणको प्रतिबन्धित लागू औषध कसरी आयो ? भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । आईसीपी भन्सारबाट नजिकैको दूरीमा बरामद गरिएको लागूऔषध भन्सार भित्रैबाट आएको हो ? या बाहिरबाट लोड गरिएको हो ? भन्ने विषयमा पनि अनुसन्धान शुरु गरिएको छ । आईसीपी भन्सारका कर्मचारीले भने भित्रबाट नभई सामान पास भएर आएपछि बाहिरबाट लागूऔषध लोड भएको हुन सक्ने बताएका छन् ।
भन्सार अधिकृत रमेश सुकमनीले भने, “गाडीको क्याविनबाट बरामद गरिएको हो । त्यसको जिम्मेवार चालक हुन्छ । हामीले ट्रकको पछाडि भागमा लोड गरिएको सामान मात्रै चेकजाँच गरेर सील गरिएको हुन्छ । लागूऔषध बाहिर आएर लोड गरेको पनि हुन सक्छ ।” आईसीपीबाट सामान पास भएर छुटेको भारतीय ट्रक प्रहरीले शनिबार राति १० बजेको समयमा वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोक स्थित रामगढवा सडक खण्डबाट नियन्त्रणमा लिएर खानतलासी गर्दा लागू औषध फेला परेको थियो ।
आईसीपीबाट प्रहरीले गाडी नियन्त्रणमा लिएको स्थानको दूरी भनेको एकडेढ किलोमिटरको दूरीमा पर्छ । प्रहरीले उक्त गाडीमा लागू औषध छ भन्ने सूचना पहिले नै पाईसकेको थियो । भन्सार भित्रै चेकजाँच गर्ने प्रहरीको क्षेत्राधिकारी भिन नपर्ने भएकोले भन्सार पास भएर आएपछि मात्रै नियन्त्रणमा लिएको हो ।