कोभिड संकटमा आप्रवसन नीतिबारे पुनर्विचार गर्न सुझाव «

कोभिड संकटमा आप्रवसन नीतिबारे पुनर्विचार गर्न सुझाव

आप्रवसन विज्ञले कोभिड–१९ को परिप्रेक्ष्यमा नेपालले आप्रवसन नीतिबारे पुनर्विचार गर्नुपर्ने सुझाव दिएका छन ।
नेपाल पलिसी इन्स्टिच्युट लगायतका चारवटा संस्थाहरूद्वारा शुक्रबार अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलनमार्फत विज्ञले सो सुझाव दिएका हुन् । सम्मेलनमा विज्ञले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिलाई एक अवसरको रूपमा उपयोग गर्दै नेपालको आप्रवसनका लागि एक मार्गचित्र तयार गर्न अनुरोध गरेका छन् । सम्मेलनमा सहभागीहरूले नेपालले आप्रवसनलाई सुरक्षित, व्यवस्थित र नियमित बनाउन तत्काल उपयुक्त कदमहरू चाल्नु पर्ने सुझाव पनि दिएको छन् ।
पूर्वराजदूत तथा सेन्टर फर डिप्लोमेसी एण्ड डिभेलपमेन्टका अध्यक्ष मोहन कृष्ण श्रेष्ठले सरकारी नीति तथा नियमहरूको कडा पालना गरेर मात्रै आप्रवासी श्रमिकहरूको रक्षा गर्न सकिने बताए । उनले आप्रवासी श्रमिकहरूको हित रक्षा गर्न राज्यले श्रमिक भर्ती गर्ने संस्थाहरूलाई जवाफदेह बनाउनुपर्ने बताए ।
“आप्रवसनबारे पुनर्विचारः आजको आवश्यकता” विषयक अन्तरक्रियामा भाग लिँदै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विदेशबाट फर्केका नेपालीहरूसँग रहेको सीप र अनुभवलाई उपयोग गर्दै कृषि तथा विकासका अन्य आयोजनाहरूमा संलग्न गराउने नेपाल सरकारको नीति रहेको बताए । उनले आप्रवासनसम्बन्धी योजना तथा नीति बनाउने काममा सघाउन प्रवासमा रहेका संस्थाहरूलाई आग्रह पनि गरे ।
नेपाल पलिसी इन्स्टिच्युटका अध्यक्ष खगेन्द्र ढकालले नेपाल फर्किरहेका झन्डै ७० प्रतिशत नेपाली कामदारहरूका लागि सरकारले के कस्तो योजना बनाएकाबारे थाहा नभएको बताए । उनले नेपालले आप्रवसनलाई देश विकाससँग जोड्न नसकेको बताउंदै आप्रवसनलाई देश विकासको एक सकारात्मक औजारका रूपमा हेर्न आग्रह पनि गरे, अध्यक्ष ढकालले आप्रवसन नेपालीहरूको जीविकाका लागि वाध्यता न भएर एउटा छनोटको विषय हुनुपर्ने बताए । उनले आप्रवासी श्रमिकहरूलाई ‘आप्रवासी चक्र’ को प्रत्येक चरणमा शोषण गर्ने गरिएको बताउँदै त्यस्तो शोषणको मुख्य कारण वैदेशिक रोजगार प्रक्रियाबारे जानकारी नहुनुनै भएको बताए ।
नेपाली आप्रवासनबारे अध्ययन गरेकी समाजशास्त्री डा. मीना पौडेलले कोभिड–१९ का कारण विदेशमा काम गरिरहेका सबै नेपालीहरू फर्कन्छन् र उनीहरू नेपालका लागि बोझ हुन्छन् भनेर सोच्नु गलत हुने बताइन् । उनले आप्रवासन एक विश्वव्यापी, मानवीय, सामाजिक तथा विकास प्रक्रिया भएकाले कोभिड–१९ मत्थर भएपछि वा खोप पत्ता लागेपछि नेपाल फर्किएका नेपालीहरू फेरि कामको खोजिमा बिदेसिने बताइन् । उनले आप्रवासीहरूले पाएको दुःखको कुरा गर्दा आप्रवासन सुशासनको पक्ष बिर्सन नहुने बताइन् ।
बेलायतको युनिभर्सिटी अफ एडिनबरासँग आबद्ध अनुसन्धानकर्ता डा. जीवनराज शर्माले नेपालको आप्रवसन नीति विरोधाभाषपूर्ण रहेको बताए । “हामी एकातिर देशभित्रै रोजगारी सिर्जना गर्ने भन्छौँ, अर्कोतिर भटाभट कैयौं देशहरूसँग श्रमसम्झौता गरिरहेका छौं,” उनले भने, “हामी सस्तो श्रम आपूर्ति गरेर रमाई रहेका छौं । तर, हामीले के बिर्सनु हुँदैन भने जब ती श्रमिक वृद्ध, बिरामी वा मृत्यु भएर नेपाल फर्कन्छन्, त्यसको मूल्य राज्यले, समुदायले र परिवारले व्यहोरीरहेको हुन्छ ।”
एनपीआईकी सदस्य तथा आप्रवसनसम्बन्धी जानकार सरु जोशीले नेपाली कूटनीतिक निकायहरूले सामूहिक सौदाबाजी र कम्पनीहरूको सामाजिक उत्तरदायित्वबारे पनि ध्यान दिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्