पीपीएलमा बुटवल ब्लास्टर्सको लगातार दोस्रोे जित «

पीपीएलमा बुटवल ब्लास्टर्सको लगातार दोस्रोे जित

पोखरा- बुटवल ब्लास्टर्सले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणका दुई खेलमा लगातार जित हासिल गरेको छ । शनिबार चितवनलाई पराजित गरेको बुटवलले आइतबार भएको खेलमा घरेलु टिम पोखरा पल्टनलाई ३३ रनले पराजित गर्दै आफ्नो खातामा ४ अंकसहित शिर्ष स्थानमा रहेको हो ।
पोखरा रंगशालामा खेलमा बुटवलले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय ५० रनको योगफल तयार पा¥यो । एक सय ५१ रनको लक्ष्य पछ्याएको पोखराले ९ विकेटको क्षतिमा १ सय १७ रनमै सीमित हुन पुग्दा बुटवलसँग पराजित हुन पुग्यो । पोखराले लिग चरणका दुई खेलमध्ये एकमा जित र एकमा हारसहित दुई अंक जोड्न सफल भएको छ ।
बुटवलको जितमा रोहन मुस्तफा र भीम सार्कीले ७३ रनको साझेदारी गरे । भीम सार्कीले ४६ बलमा ५४ रन बनाए । उनले २ चौका र ३ छक्का प्रहार गरे । रोहनले ३५ बलमा ३ चौका र २ छक्कासहित ४५ रन जोडे । सोमपाल कामीले २२, सिद्धान्त लोहनीले १३ रनको योगदान दिए । पोखराका मोहमद नाविदले ३ तथा मेहबुव आलम, ललित नारायण राजवंशी र कप्तान शरद भेषवाकरले १-१ विकेट लिए ।
पोखराका ओपनर आसिफ शेखले २०, कप्तान शरद भेषावकरले १९, रासिद खानले १०, विक्रम भुसालले ८ तथा ललितनारायण राजवंशीले ९, कुशल भुर्तेलले ९, रवी इन्द्र सिंहले ११, विनोद भण्डारीले ६ रन जोडे । बुटवलका कप्तान सोमपाल कामी, रोहन मुस्तफा, ललितसिंह भण्डारी र विपिन खत्रीले २-२ विकेट लिए । सागर पुनले १ विकेट लिए ।
यसअघि आइतबार भएको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रन फराकिलो अन्तरले पराजित गरेको छ । १ सय ८३ रनको लक्ष्य पाएको विराटनगरले निर्धारित २० ओभरको खेलमा १७ औं ओभरमा १ सय ४ रनमै सीमित भयो ।
टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा १ सय ८२ रन बनाउन सफल भएको थियो । धनगढीको जितमा पिटर ट्रेगोले अर्धशतकको योगदान दिए । विराटनगरका जितेन्द्र मुखियाले भने चार विकेट लिएका थिए । धनगढीले सुरुवातमा खराब प्रदर्शन गरेको थियो ।
सोमबार (आज) पनि लिग चरणका दुई खेल हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्