दोस्रो चरणको चक्रपथ विस्तारको तयारी अन्तिम चरणमा

चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरणको काम अन्तिम चरणमा पुगेको छ । निर्माण क्षेत्रमा रहेका बिजुलीका पोल, ढल, रुख, खानेपानीका पाइपलगायत हटाउने जस्ता पूर्व तयारीका कार्यले तिव्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हालसम्म यसमा ९७ प्रतिशत भौतिक प्रगति भइसकेको छ भने तीन प्रतिशत हटाउनुपर्ने काम छिट्टै सकेर निर्माण कार्य अघि बढाउने लक्ष्य छ । आइतबार सरोकारवाला निकाय र मन्त्रालयबीच भएको छलफलमा कलंकी–महाराजगंज–सुकेधारा पुलसम्म अवरोधको रुपमा रहेका पोल, ढल, खानेपानी, रुख लगायतको साइड किल्यरेन्स (राफसाफ) को काम ९७ प्रतिशत पूरा भएको मन्त्रालयले जनाएको हो । उक्त सडकखण्डको लम्बाई ११.६ किलोमिटर छ ।
मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरणबाट विगतमा विभिन्न बैठकहरूमा भएका प्रतिबद्धताहरू अनुसार कात्तिक मसान्तभित्र सम्पूर्ण पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सम्पन्न हुनेछ । तीन महिना (पुस मसान्त) भित्र अनिवार्य कारखाना चोक र सानो भ¥याङस्थित हाइभोल्टेज टावर स्थानान्तरण गरिने छ । यस्तै, स्वयम्भूस्थित चैत्य कात्तिक मसान्तभित्र हटाउन काठमाडौं महानगरपालिकासँग समन्वय गर्ने सहमति भएको छ । सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाबाट कात्तिक मसान्तभित्र नयाँ बसपार्कको आकाशे पुल भत्काउने कार्य सम्पन्न गरिने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी नारायणगोपाल चोक, महाराजगंजको २ सय ४४ मिटर सडक सीमामा रहेका जग्गाको मुल्यांकन कार्तिक मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरिसकेको छ ।
सडक सीमासम्बन्धी रहेको अन्योल बारेमा राजपत्र र कानुनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी तत्काल नीतिगत निर्णय गर्न सडक विभागबाट आवश्यक पहल गर्ने निर्णय भएको जनाइएको छ ।
सडक खण्ड विस्तारका लागि सडकको सीमा क्षेत्र पूर्णरूपमा खाली गरेर विस्तारको काम सुरु गरिने छ । जसअन्तर्गत गत फागुनसम्म बिजुलीका पोल, रुख र खानेपानी ढललगायत अन्य अवरोध हटाएर सीमांकन गरिने लक्ष्य राखिएको भए पनि ढिलो भएको थियो । छलफलमा सहभागी एक अधिकारीका अनुसार, चिनियाँ निर्माण कम्पनीलाई अब बोलाएर भौतिक प्रगतिको स्थलगत अवलोकन गराउने र निर्माण प्रक्रिया अगाडि बढाउन आह्वान गर्ने सहमति भएको छ । सडक निर्माणका लागि कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर काम थाल्ने योजना छ । कलंकी–महाराजगंज सडक चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ । तर, डीपीआर निर्माणका लागि सीमा क्षेत्र ‘साइट क्लियर’खाली हुनुपर्ने चिनियाँ पक्षको अडान कायमै छ ।
कुल ६२ मिटर चौडाई रहने सडकमा (केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर) रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्ने छ । बीचमा डिभाइडरसहितको ४ लेन र दायाँवायाँ २÷२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुने छ । बाँकी १२ मिटर चौडाईमा भने नेपाल सरकारले एक÷एक लेनको साइकल लेन रहने र यससँगै पैदलयात्रु लेन पनि हुनेछ । सो क्षेत्रमा रहेका करिब १९ सय रुख कटानको लागि लिलामी प्रक्रिया पनि सुरु भइसकेको छ । साढे आठ किलोमिटर सडक खण्ड पनि २ वर्षभित्रै सक्ने तथा ६ अर्ब लागत अनुमान छ । सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ । चीनको सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन गु्रपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो । कलंकी–महाराजगंज सडक विस्तारपछि चाबहिल–तिलगंगा–कोटेश्वर सडकखण्ड विस्तार गरिने मन्त्रालयले जनाएको छ ।