१३ सय हेक्टरको मात्रै रुख काट्ने प्रस्ताव «

१३ सय हेक्टरको मात्रै रुख काट्ने प्रस्ताव

प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल 
बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि एयरपोर्ट सिटीबाहेक १ हजार ३ सय हेक्टर जमिनको मात्रै रुख कटानी गर्नेगरी नयाँ प्रस्ताव आह्वान गरिने भएको छ । यसअघि पर्यटन मन्त्रालयले १ हजार ६ सय ४१ हेक्टर जमिनको रुख कटान गर्ने प्रस्ताव वन मन्त्रालयमा पत्र पठाए पनि अहिले भने त्यसभन्दा कम क्षेत्रको मात्रै रुख काट्ने प्रस्ताव गरेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विगतमा कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनी (एलएमडब्ल्लू) ले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदनअनुसार पुरानो प्रस्ताव संशोधन गर्न लागेको हो । कोरियाली कम्पनी एलएमडब्लूले तयार पारेको प्रतिवेदनअनुसार दोस्रो चरणको विस्तार र एयरपोर्ट सिटीका लागि १ हजार ९ सय हेक्टर जमिन आवश्यक रहने उल्लेख छ । जसमा १ हजार ३ सय हेक्टर जमिन विमानस्थलका संरचना र ६ सय हेक्टर भने एयरपोर्ट सिटीका लागि भन्दै प्रतिवेदनमा उल्लेख छ । कारोबारलाई प्राप्त एलएमडब्लूको प्रतिवेदनअनुसार विमानस्थल निर्माणका लागि पहिलो र दोस्रो चरणको विस्तार र दुई धावनमार्ग १ हजार ३ सय हेक्टर जमिनमा तयार हुने समेत प्रतिवेदनमा उल्लेख छ । एलएमडब्लूले पहिलो चरणका कति हेक्टर जमिन चाहिने भन्ने विषयमा भने प्रतिवेदनमा उल्लेख गरेको छैन । प्रतिवेदनमा १ हजार ३ सय हेक्टर जमिनमा ‘फुल् फेज’को दुई धावनमार्ग सहितको विमानस्थल र ६ सय हेक्टरमा एयरपोर्ट सिटी सहित १ हजार ९ सय हेक्टर जंगलमा रहेका रुख कटानी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।  सरकारले सोही प्रतिवेदनअनुसार एयरपोर्ट सिटीबाहेक १ हजार ३ सय हेक्टर जमिनमा रहेको जंगल कटानीका लागि नयाँ प्रस्तावको तयारी गरेको छ । “पुरानो प्रस्तावमै केही संशोधन गरेर अगाडि बढ्ने तयारी छ,” पर्यटनमन्त्री रवीन्द्र अधिकारीले कारोबारसँग भने । कोरियाली कम्पनीकै अध्ययनअनुसार निर्माण प्रक्रियालाई अगाडि बढाउन लागेको र सबै प्रक्रिया एकैसाथ सुरु गर्ने समेत अधिकारीले जानकारी दिए ।  प्रतिवेदनअनुसार रुख कटान भएमा ठूला १ लाखभन्दा कम रुख काटिने मन्त्रालयको बुझाइ छ । मंसिर दोस्रो साता ‘ग्लोवल टेन्डर’ सरकारले निजगढ विमानस्थल निर्माणका लागि मंसिर दोस्रो साताभित्र आशयपत्र आह्वान गर्ने भएको छ । सरकारले आशयपत्र आह्वानको लागि नागरिक उड्डयन प्राधिकरणलाई जिम्मा दिइसकेको छ । “बढीमा मंसिर दोस्रोसाता भित्रै ग्लोबल टेन्डर आह्वान हुन्छ,” मन्त्री अधिकारीले भने । रुख कटानको काम पनि सोही समय देखि सुरु गर्नेगरी सरोकारवाला निकायसंग छलफल भइरहेको मन्त्री अधिकारीले जानकारी दिए । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्न लागिएको उक्त विमानस्थल निर्माणको लागि मन्त्रालयले ग्लोवल टेन्डर मार्फत आशय पत्र माग्नको लागि प्राधिकरणमा यसअघिनै पठाएको थियो । सरकारले दुई महिना अगाडी मोडालिटी टुंग्याउँदै आशय पत्र माग्ने निर्णय गरेको थियो । जसमा अर्थ मन्त्रालय, योजना आयोग, लगानी बोर्डले समेत सहमति दिइसकेका छन् ।  आशयपत्र माग्ने निर्णय संगै आधा दर्जन भन्दा बढी मुलुकका कम्पनीहरुले चासो दिएकोले निजगढ विमानस्थल निर्माणले गति लिने मन्त्री अधिकारीले दावी समेत गरे । एलएमडब्लूले तयार पारेको अध्ययन प्रतिवेदनमा निजगढ विमानस्थलबाट विश्वका २० शहरमा ४ घन्टाको उडान दुरीमा उडान गर्न सजिलै सकिने उल्लेख गरेको छ । विमानस्थललाई सुविधासम्पन्न बनाउन सकेको खन्डमा नयाँ हब हुने समेत मन्त्री अधिकारीको छ । दक्षिण एसियाकै हव विमानस्थलको रुपमा हेरिएको निजगढमा निर्माण गरिने विमानस्थलको वतावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन गत असारमा स्विकृत भएसंगै निर्माणका लागि बाटो खुलेको थियो ।  विमानस्थल निर्माण पश्चात पनि हाल रहेको जंगलको ८० प्रतिशत जंगल बाँकी रहने छ भने विमानस्थल जंगलको बीच भागमा रहने छ । 

प्रतिक्रिया दिनुहोस्