समानुपातिक विकासमा हेटौंडाको ध्यान «

समानुपातिक विकासमा हेटौंडाको ध्यान

तहः हेटौंडा उपमहानगरपालिका
वडाः १९
जिल्लाः मकवानपुर
प्रदेशः बागमती
क्षेत्रफलः २६१ वर्ग किमि
पूर्वाधारः तेस्रो ठूलो औद्योगिक क्षेत्र, केन्द्रीय खेलकुद प्रतिष्ठान (निर्माणाधीन)
पहिचानः बागमती प्रदेश राजधानी, महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको संगमस्थल, चुरे र महाभारत पर्वतको फेदीमा अवस्थित, उष्ण तथा समशितोष्ण हावापानी
जनसंख्याः १ लाख ५२ हजार (२०६८ को जनगणनाअनुसार)
बजेटः २ अर्ब ८ करोड ६६ लाख
नगर प्रमुखः हरिबहादुर महत
उपप्रमुखः मीनाकुमारी लामा

बागमती प्रदेशको राजधानी हेटौंडा प्रदेशको एक मात्र उपमहानगरपालिका हो । तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय मुकामसमेत रहेको हेटौंडा मुलुक संघीय संरचनामा गइसकेपछि २०७६ पुस २७ गते बागमती प्रदेशको स्थायी राजधानीको रुपमा घोषित भएको हो । प्रदेशको स्थायी राजधानीसमेत घोषित भएपछि उपमहानगरको विकास तीव्र गतिमा अघि बढेको छ । मुलुककै तेस्रो औद्योगिक नगरको रुपमा परिचित हेटौंडामा जनप्रतिनिधि निर्वाचित भएर आएयता नयाँ अवधारणाका साथ विकास निर्माणका कामहरू भइरहेका छन् ।
२०७४ साल हरिबहादुर महत नगर प्रमुखमा निर्वाचित भएर आएसँगै नगरको विकासको गति तीव्र बन्दै गएको छ । १५ वर्षसम्म जनप्रतिनिधिविहीनताको अवस्थामा रहेको नगर प्रमुखको जिम्मेवारी पाएसँगै मेयर महतले नगरको तीव्रतर विकासको खाका कोरे । वि.सं. २०४९ र २०५४ सालमा गरी दुईपटक नगरको उपमेयरको जिम्मेवारी सम्हालिसकेका महतले २०७४ सालबाट नगरको मेयरमै निर्वाचित भए । यसअघि पनि दुईपटक नगरको उपमेयरको भूमिका निर्वाह गरिसकेका महतले नगरलाई कुन ढंगले विकास गर्नुपर्छ भन्नेबारे धेरै सोच्नै परेन । उनले नगरको शिक्षा, स्वास्थ्य र पूर्वाधारको सँगसँगै विकास गर्नेगरी अवधारणा अघि सारे । साविकमा ११ वटा वडा रहेको हेटौंडामा ५ वटा तत्कालीन गाविस थपिएर उपमहानगर बनेको हो । उपमहानगरमा गाभिएपछि गाभिएका क्षेत्रहरू निकै विकट छन् । सोही विकट क्षेत्रको विकासमा नगर प्रमुख महतको दृष्टि गयो । जसअनुसार उनले सबै वडाको समानुपातिक विकासको लागि सबैभन्दा विकटदेखि सुगमका वडाहरूलाई वर्गीकरण गरी विकटका वडाहरूमा सबैभन्दा बढी बजेट हाल्ने परम्पराको सुरुवात गरे । सबै बजेट वडामै पठाइदिने परिपाटीको पनि उनैले सुरुवात गरे । आवश्यकताअनुसार योजना छनौट र कार्यान्वयनमा वडा अध्यक्षलाई बढी जिम्मेवारी दिए ।
“वडाको भूगोल र वस्तुस्थिति हेरेर हामीले वडाको बजेट सिलिङ तोकिदिने गरेका छौं । नगरको सबैभन्दा विकट क्षेत्रमा सबैभन्दा बढी बजेट हालेका छौं भने सुगम वडाहरूमा क्रमशः कम बजेट छुट्याउने गरेका छौं । नगरको सबैभन्दा बढी विकट वडा १९ नम्बर वडा हो यसवर्ष हामीले सबैभन्दा धेरै बजेट त्यही वडामा हालेका छौं,” मेयर महतले भने । ‘विकासको अवस्था हेरेर वडाको वर्गीकरण गरी सबैभन्दा विकट वडालाई धेरै बजेट हाल्ने परम्परा उपमहानगरले नै सुरु गरेको हो । जसको सिको अन्य स्थानीय तहहरूले पनि गर्न थालेका छन् ।
“हामी जब निर्वाचित भएर आयांै ६ देखि १० महिना त हामीलाई योजना बनाउन र कर्मचारीबीच समन्वय र समझदारी गर्नै समय लाग्यो । हामी नगरको विकास गर्नै भनेर आएको । आउने बित्तिकै हामीले शिक्षा क्षेत्रमा हात हाल्यौं । गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भनेर हामीले निजी विद्यालयसँग प्रतिष्पर्धा गर्नको लागि हामीले नगरका सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पठाई सुरु गर्न थाल्यौं । अहिले नगरभित्र ७९ वटा विद्यालयमध्ये करिब ९० प्रतिशत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु गरेका छौं । यसको प्रभावकारिता पनि देखिन थालिसकेको छ,” मेयर महतले भने ।
विकास निर्माणको काममा पनि उपमहानगरले समानुपातिक विकासको अवधारणाअनुरुप विकट क्षेत्रको शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ध्यान केन्द्रित ग¥यो । जनप्रतिनिधि निर्वाचित भएर आएयता १९ वटा वडामा २० वटा स्वास्थ्य चौकी भवन निर्माण गरी सञ्चालनमा आइसकेको छ । १९ नम्बर वडामा मात्र २ वटा स्वास्थ्यचौकी स्थापित छन् । “वडावडामा व्यवस्थित स्वास्थ्यचौकी निर्माण गरी सामान्य स्वास्थ्य सेवादेखि सुत्केरी गराउनसम्मलाई वडा छाडेर अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ,” महत भन्छन्, “हेटौंडाको मुख्य बजार क्षेत्रमा सडक फराकिलो गर्दै पिच र स्ल्याब ढलानलाई प्राथमिकता दियौं । सडक छेउमा फूल र फलफूलका विरुवा रोपेर हरियाली बनाउने अभियान चलाइरहेका छौं । त्यसको प्रतिफल अहिले देखिइसकेको छ ।”
फूलैफूलको सहर बनाउने र फराकिलो र स्वच्छ सडक निर्माण गर्ने अभियानमा नगर निरन्तर अघि बढेको महतको भनाइ छ । जनप्रतिनिधि निर्वाचित भएर आएदेखि बितेको आर्थिक वर्षको अन्त्यसम्ममा हेटौंडामा ७९ किलोमिटर सडक स्ल्याब ढलान भइसकेको छ । ९ किलो मिटर कालोपत्रे भएको नगरको तथ्यांकमा उल्लेख छ । त्यस्तै कृषिमा आत्मनिर्भर बन्नको लागि कृषिमा यान्त्रीकरण गर्ने काममा पनि नगरले ध्यान दिएको छ । “थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकियोस् भन्नको लागि हाते ट्याक्टरलगायतका कृषि सामाग्री उच्चतम अनुदानमा उपलब्ध गराइरहेका छौं । पशुको विकासको लागि किसानलाई उन्नत जातका बोका वितरण गर्ने काम पनि गरिरहेका छौं,” मेयर महतले भने ।
नगरले ठूला पूर्वाधार निर्माण गरी दीर्घकालीन आम्दानीको स्रोतको समेत पहिचान गरेको छ । अहिले साइक्लिङ र वाकिङ ट्र्याक निर्माण गर्न कर्रा कोरिडोरको अवधारणाका साथ काम अघि बढेको छ । कर्रा कोरिडोेरको वहुवर्षीय ठेक्का लगाएर काम सुरु गर्न थालिएको उपमहानगरले जनाएको छ । त्यस्तै हेटौंडामा यत्रतत्र छरिएर रहेका मोटर ग्यारेजहरूलाई एकीकृत गर्न एकीकृत अटो भिलेज निर्माणको योजना अघि बढाइरहेको छ । अटो भिलेजको डीपीआर तयार भइसकेको छ । राप्तीखोलाको छेउमा तटबन्धन गरी ठूलो क्षेत्रफलमा अटो भिलेज निर्माण सुरु गर्ने योजना बनेको छ । अब यसै वर्ष ठेक्का लगाएर काम सुरु हुने मेयर महत बताउँछन् ।
त्यस्तै हेटौंडामा अत्याधुनिक बस टर्मिनल पनि निर्माण हुँदैछ । त्यहाँ चार्जिङ स्टेशन पनि स्थापना हुन्छ । जसको लागि नगरले चालु वर्ष १४ करोड रुपैयाँ छुट्याएको छ । “यो पनि बहुवर्षीय योजनाअन्तर्गत ठेक्का लागिसकेको छ । अब यसको काम केही समयमा नै सुरु हुन्छ,” मेयर महतले भने । त्यस्तै, हेटौंडा बजार क्षेत्रमा व्यावसायिक भ्यूटावर निर्माण गर्न पनि नगर कस्सिएको छ । सबै प्रकारका व्यवसाय सञ्चालन गर्ने र मनोरञ्जनस्थल पनि निर्माण गरी आकर्षक भ्यूटावर बनाइ नगरको दीर्घकालीन आम्दानीको स्रोत स्थापना गर्ने योजनाअनुसार काम अघि बढिसकेको जनाइएको छ । भ्यूटावरको डिपिआर पनि बनिसकेको छ । अब केही समयमा नै बहुवर्षीय ठेक्का आह्वान गर्ने मेयर महतको भनाइ छ ।
चालू आर्थिक वर्ष २०७७÷०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख रुपैयाँको बजेट पारित गरेर हेटौंडाले कार्यान्वयन सुरु गरिसकेको छ । गत वर्षको त्ुलनामा चालू वर्ष उपमहानगरले २७ करोड ४८ लाख रुपैयाँ बढीको बजेट बनाएको हो । चालू वर्ष भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिँदै ९७ करोड ९८ लाख ३९ हजार रुपैयाँ विनियोजन गरेको छ । सामाजिक विकासतर्फ ७२ करोड ७४ लाख ७९ हजार, आर्थिक विकासतर्फ ६ करोड ५३ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ चार करोड ७१ लाख १९ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ २३ करोड १४ लाख ५० हजार रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ ।
बस्ती तथा वडास्तरीय आयोजनाका लागि पनि ३२ करोड ७० लाख छुट्याइएको छ । वृहत्तर चक्रपथ निर्माणको कामलाई पनि हेटौंडाले निरन्तरता दिइरहेको छ । जसको लागि यस वर्ष दुई करोड रुपैयाँ छुट्याइएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएमा उपमहानगरले प्रतिव्यक्ति ३ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने पनि जनाएको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि कोष व्यवस्थापन गर्न दुईकरोड ५० लाख रुपैयाँ उपमहानगरले छुट्याएको मेयर महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्