२१ सयलाई सय दिनको रोजगारी «

२१ सयलाई सय दिनको रोजगारी

जुम्ला-चालु आर्थिक वर्षमा यहाँको हिमा गाउँपालिकाका २ हजार १ सय ६५ जनाले रोजगारी पाउने भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कोरोनाका कारण रोजगारी गुमाएका २१ सय ६५ जनाले एक सय दिनको रोजगारी पाउने रोजगार संयोजक दिपेन्द्र पौडेलले बताए । उनका अनुसार कोरोना भाइरसका कारण भारत तथा तेस्रो मुलुकबाट फर्किएका बेरोजगार यूवालाई प्रथामिकता दिएर सय दिनको रोजगारी दिइने पक्का भएको छ ।
रोजगार संयोजक पौडेलले भने, “चालु आवका लागि हिमा गाउँपालिकाका २१ सय ६५ जना बेरोजगार युवा रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएसमा) सूचिकृत भएका छन् । गत साउन ८ गतेदेखि भदौ ७ गतेसम्म गाउँगाउमा पुगेर व्यक्तिसँग बेरोजगार दर्ताका लागि निवेदन दिन अनुरोध गरिएको थियो ।”
जम्मा २ हजार ८ सय ७६ बेरोजगार व्यक्तिले दिएको आवेदन माथि वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका २१ सय ६५ जना सय दिनको रोजगारी दिने निर्णय भएको हो । जसमा दलित महिला, विपन्न वर्गका बेरोजगार त्यसमा पनि कोरोनबाट रोजीरोटी गुमाएका व्यक्ति प्राथमिकतामा परेका छन् ।
सूचिकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताको आधारमा न्युनतम एक सय दिनको रोजगारीमुलक काममा खटाइने प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले बताए । गाउँपालिकाका ७ वटै वडामा खानोपानी, सडक, सिँचाइ, कृषिलगायतका विभिन्न क्षेत्रमा आवश्यकता अनुसार काममा खटाइने उनको भनाइ छ ।
कोभिडले गर्दा रोजीरोटी जुटाउन मुस्किल भएका, गाउँपालिकाको योजनाबाट लाभान्वित नभएका, अन्य क्षेत्रमा अवसर नपाएका, आयआर्जन निकै कम भएका व्यक्तिलाई छनौट गरेर सय दिनको रोजगारीका लागि सूचिकृत गरिएको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।
यस वर्ष विश्व बैंकसँगको सहकार्यमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना र नेपाल सरकारको सहयोगमा कामका लागि पारिश्रमिक सामुदायिक आयोजनाबाट देशभर करिव पाँच लाख रोजगारी सिर्जना गर्न ११ अर्ब भन्दा बढी रकम सरकारले विनियोजन गरेको छ ।
कोभिडका कारणले रोजगारी गुमेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सय दिनको रोजगारी पाउने खबरले युवाहरु खुसी भएका छन् । दैनिक ज्याला ६ सयका दरले गर्दा पनि सय दिनमा एक जनाले कम्तीमा ५० हजार भन्दा बढी रुपैयाँ कमाउने छन् । जसले परिवार पाल्न सहज हुने एक बेरोजगार युवाले बताए ।

प्रतिक्रिया दिनुहोस्