महिनैपिच्छे जुम्लामा मन्त्रीको लर्को «

महिनैपिच्छे जुम्लामा मन्त्रीको लर्को

जुम्ला-गुठिचौर नेपालकै एक मात्र ठूलो र पुरानो सरकारी भेडा बाख्रा अनुसन्धान केन्द्र हो । यसले मागअनुसार देशभर उन्नत जातका भेडा बाख्रा पठाउनु पर्छ । २०२८ सालमा स्थापना भएको सरकारी भेडा फार्ममा सरकारकै लापरबाहिले गर्दा स्थापनाको पाँच दशक बितिसक्दा पनि उपलब्धी शून्य छ । गुठिचौरमै रहेको उच्च पर्वतिय कृषि अनुसन्धान केन्द्रमा पनि कर्मचारी देखि पूर्वाधार समस्या दशकौदेखि उस्तै छ ।
गुठिचौर भेडा फार्म राजतन्त्रमा राजा महेन्द्रको खाजा खाने र गणतन्त्रदेखि हाल संघियतामा मुख्यमन्त्रीदेखि मन्त्रीहरुको नाईट स्टे गर्ने ठाउँका रुपमा मात्रै हेरिएको छ । महिनैपिच्छे जुम्ला आएर मन्त्रीहरुको ताँती नै गुठिचौर पुग्दा समेत हालसम्म त्यहाँका समस्याले काँचुली फेर्न सकेको छैन ।
कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहि १ पटक, सामाजिक विकास मन्त्री दल रावल १ पटक, पर्यटनमन्त्री नन्दसिंह बुढा १ पटक, कृषि मन्त्री विमला केसी २ पटक र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी ५ पटक भन्दा बढी चोटी जुम्लाको गुठिचौरको तथा अन्य क्षेत्रको अनुगमन तथा भ्रमण गरिसकेका छन् । तर न त केहि समस्या समधान भएका छन्, न अनुगमन पश्चात विकास निर्माण क्षेत्रमा भइरहेको अनियमिता नियन्त्रण हुन सकेको छ । उपलब्धी विहिन भ्रमण र अनुगमन गरी बजेट सकाउने मात्रै काम भएको छ ।
यहि असोज १९ गते कानुनमन्त्री नरेश भण्डारी, कृषि मन्त्री विमला केसी र सामाजिक विकास मन्त्री दल रावल गरी कर्णालीका तीन मन्त्री जुम्ला आए । किन आए ? के का लागि आए ? भन्ने कुरा जानकारी नै नभई आएका तीनै मन्त्रीले करिब ४ दिन जुम्लामा बिताएर विहिबार फर्किए ।
विहिबारको क्षणिक पत्रकार सम्मेलनमा भ्रमण अनुगमनको उपलब्धी के ? कोरोना कहरका बेला जमघट भेला किन भन्ने प्रश्नमा नाजवाफ जस्तै भएर चित्त बुझ्दो उत्तर दिएनन् । आगामी दिनमा सहकार्य र समन्वय गर्ने तीनै मन्त्रीले उल्लेख गरे ।
बेलाबेला मन्त्रीहरुकै ताँती नै जाने गुठिचौरका कर्मचारी अभाव, पूर्वाधार अभावका समस्या समधान हुने अनुसन्धान प्रभावकारी बन्ने आशा गरिएकोमा अहिले मन्त्रीहरुको भ्रमण र अनुगमनको उपलब्धी शून्य देखिएको पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरम महतले बताए । जनतालाई सुनाउन कुनै उल्लेखनीय कामै नगरेकाले महिनौपिच्छे मन्त्रीको लर्को नै जुम्ला आउँदा पनि पत्रकार सम्मेलन गर्न मन्त्रीहरुलाई डर लागेको आरोप लगाए ।
संघियता अघिका ठूला ठूला नमुना योजनाहरु बजेट अभावमा अलपत्र अवस्थामा छन् । गुठिचौरमा दशकौंदेखि कर्मचारी पूर्वाधार समस्या छन् । तर मन्त्रीहरुको लर्को महिनैपिच्छे जुम्ला आउनेबित्तिकै नाईट स्टेकै लागि मात्र गुठिचौर जाने आश्वासन बाँडेर तर काम नगर्ने प्रवित्तिकै कारण समस्या ज्युँका त्युँ रहेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।
३÷४ महिनाको अन्तरमा २÷३ का दरले मन्त्रीसहित सयौको संख्यामा जुम्ला भ्रमण र अनुगमन गर्ने उपलब्धी शून्य देखिने भन्दै यस पटकको अनुगमनलाई लिएर स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
होटल व्यवसायी नोर्बु लामा एक पटक मन्त्रीको जम्बो टोली आउँदा कम्तीमा २५ देखि ३० हजार खर्च आउने बताउँछन् । यहि दरको खर्चलाई हेर्ने हो पनि आउन जान, खानबस्न भ्रमण भत्ता गरेर लर्को लागेर आउने मन्त्रीले उपलब्धी विहिन राज्यको लाखौ खर्च भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्