महिला उद्यमीका उत्पादन प्रवद्र्धनका लागि सहमति «

महिला उद्यमीका उत्पादन प्रवद्र्धनका लागि सहमति


नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्बर र सोचेको डटकमबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । कोभिड–१९ बाट उत्पन्न भएको समस्याबाट व्यापारीक क्षेत्रमा देखिएको असरलाई चलायमान बनाउन तथा अनलाइन ई कमर्सको माध्यमद्वारा उद्यमी व्यवसायीको व्यापार अभिवृद्धि गर्ने उद्देश्यले यो सहमति भएको हो ।
नेपाल महिला चेम्बरको तर्फबाट महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठ र सोचेको डटकमका प्रबन्ध निर्देशक शैलेश लोहनीले समझदारी पत्रमा हस्ताक्षर गरे । सो अवसरमा नेपाल महिला चेम्बरका सभापति श्रेष्ठले अनलाइनको बढ्दो प्रयोगका साथै चेम्बरसँग आवद्ध महिला उद्यमीबाट उत्पादित सामानको ब्यापार अभिवृद्धि गर्न सोचेको डटकम पोर्टल माध्यमद्वारा एकीकृत रुपमा पोर्टलबाट उत्पादित सामान बिक्री वितरण गर्न लागिएको र यो व्यवस्था प्रभावकारी हुने अपेक्षा गरिन् । नेपाल महिला चेम्बर नेपालका महिला उद्यमीहरुको साझा छाता संगठनको रुपमा रहेको र यसले महिला उद्यमीहरुका हक हितका लागि विभिन्न कार्य गर्दै आएको छ ।
नेपाल महिला चेम्बर र सोचेको डटकम बीचको समझदारीपत्रले महिला व्यवसायीहरुको व्यापार वृद्धि हुने र हाल कोभिड–१९को सन्दर्भमा यस्तो डिजिटल मार्केटिङ्गको सम्भावना र सम्भाव्यता अझ बढी रहेको बताउँदै यसबाट सबै आम उपभोक्तालाई स्वास्थ्य र आर्थिक दृष्टिले समेत लाभान्वित हुने सभापति श्रेष्ठले बताइन् ।
सोचेको डटकमका प्रबन्ध निर्देशक लोहनीले सोचेको डटकम नेपालको एक लोकप्रिय अनलाइन सपिङ कम्पनी रहेको र विगत केही वर्षदेखि सञ्चालित कम्पनीले छोटो समयमा नेपाली ग्राहकको मन जित्न सफल भएको बताउँदै यस अनलाइन सपिङमार्फत विभिन्न उत्पादक तथा बिक्रेताको उत्पादनलाई बिक्री वितरण गर्न मद्दत गर्ने बताए । उनले उद्यमीका उत्पादनलाई बजारीकरण समेत गर्दै आएको बताए । नेपालको प्रविधि क्षेत्रको अग्रणी संस्था मेगाटेक ग्रुप प्रवर्धक रहेको यस कम्पनी नेपाली उद्यमशील युवाहरुबाट सञ्चालित तथा पूर्णरुपमा नेपाली लगानीमा सञ्चालित अनलाइन सपिङहरु मध्ये अग्रणी स्थानमा रहेको समेत बताए ।
समझदारी पत्रमा महिला उद्यमीबाट उत्पादित उत्पादनलाई सोचेको डटकमको वेवसाइटमा राखिने, वेवसाइट सम्बन्धी तथा डिजिटल मार्केटिङको तालिम उपलब्ध गराउने, उत्पादनहरुको फेसबुक लगायतका विभिन्न माध्यमबाट विज्ञापन गर्नुका साथै उद्यमीहरुको आवश्यक पर्ने ब्राण्ड मेनेजमेन्ट लगायतका तालिम उपलब्ध गराउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्