विश्व महामारीको अर्थ र कोभिड–१९ «

विश्व महामारीको अर्थ र कोभिड–१९

डब्लूएचओले २०२० अगस्ट ४ मा प्रकाशन गरेको रिपोर्टमा कोभिडको मृत्युदर कुनै देशमा ०.१ प्रतिशतभन्दा कम र कुनैमा २५ प्रतिशतभन्दा बढी रहेको तथ्यांक उल्लेख छ ।

कोभिड–१९ को विश्व महामारी घोषणाले मानिसहरूमा त्रास फैलायो, अनावश्यक मृत्यु बढायो, स्वास्थ्य प्रणालीमा चाप सिर्जना ग-यो, जनजीवन अस्तव्यस्त बनायो र अर्थतन्त्र ध्वस्त बनायो । विश्व स्वास्थ्य संगठनले सामान्य रोगलाई किन विश्व महामारी घोषणा ग-यो भन्ने प्रश्न विश्वभर मानिसहरूले उठाइरहेका छन् । यसको जवाफ विश्व स्वास्थ्य संगठनका दस्ताबेजमा पहिलेदेखि नै उपलब्ध छन् ।

सरुवा रोग
भाइरस, ब्याक्टेरिया र फंगसजस्ता प्याथोजेनिक माइक्रोब्सका कारण लाग्ने र रोगीबाट स्वस्थ मानिसमा संक्रमण हुने रोगलाई सरुवा रोग भनिन्छ । रोग लगाउने यस्ता सूक्ष्म जीव मानिसको शरीर, वातावरण वा अन्य जीवजन्तुको शरीरमा हुन्छन् । सरुवा रोगलाई फैलावटको आधारमा तीन भागमा बाँडिन्छ : स्थानीय रोग (इन्डेमिक), महामारी (एपिडेमिक) र विश्व महामारी (प्यान्डेमिक) ।

इन्डेमिक
स्थानीय स्तरमा सानो संख्यामा देखिने रोग इन्डेमिक हो । यति जनालाई लाग्न सक्छ र यसरी उपचार गर्न सकिन्छ भनेर पूर्वानुमान गर्न सकिन्छ । जन्डिस, टाइफाइड, हैजा, झाडापखाला आदि यो वर्गमा पर्छन् । कतिपय रोग सुरुमै इन्डेमिक हुन्छन् भने कतिपय पहिले एपिडेमिक वा प्यान्डेमिक भएर पछि इन्डेमिक भई समाजमा बसिरहन्छन् । कोभिड पनि इन्डेमिक भएर बसिरहने सम्भावना रहेको डब्लूएचओले बताइसकेको छ ।

एपिडेमिक
कुनै देश वा समुदायमा तीव्र गतिमा फैलिने रोगलाई एपिडेमिक भनिन्छ । यो रोग बहुसंख्यक मानिसको शरीरका लागि नयाँ हुनुपर्छ । यो राज्य र समाजको नियन्त्रणबाहिरको अवस्था हो । कति मानिस बिरामी पर्छन्, कसरी उपचार र व्यवस्थापन गर्न सकिन्छ भनेर तयारी गर्न नसकिने अवस्था हो ।

प्यान्डेमिक
कति समयमा कति देशसम्म फैलियो भने त्यसलाई इपिडेमिकमै सीमित गर्ने र कति देश नाघ्यो भने प्यान्डेमिक भन्ने भनी सिमाना छुट्याएर परिभाषा गरिएको छैन । अवस्था हेरेर डब्लूएचओले घोषणा गर्छ । प्यान्डेमिक भनेको एकै पटक अर्थात् छोटो समयमा विश्वका धेरै देशमा फैलने रोग हो । कति समयमा कति रोगी आउँछन्, कसरी उपचार र व्यवस्थापन गर्ने भन्ने अनुमान गर्न नसकिने अवस्था हो ।

कोभिड कसरी प्यान्डेमिक
अहिलेको कोरोना भाइरस (सार्स कोभ टु) मानिसलाई हानि गर्ने भाइरसको वर्गमा कम हानिकारक भाइरसमध्ये पर्छ । कोभिडको मृत्युदर कम भएका कारण यसलाई प्यान्डेमिक घोषणा गरेर आतंक फैलाउनु हुँदैनथ्यो भन्ने कतिपयको मत पाइन्छ । तर, प्यान्डेमिकको अर्थ मृत्युदर र संक्रमण दर दुवैसँग जोडिएको हुँदैन ।
डब्लूएचओले पहिले एपिडेमिक र प्यान्डेमिक हुनका लागि यति मृत्युदर भएको रोग भनेर तोकेको थियो । सन् २००९ को स्वाइन फ्लूपछि परिभाषा परिवर्तन गरेको छ । नयाँ परिभाषाअनुसार विश्वभर फैलिएको नयाँ रोगलाई प्यान्डेमिक भनिन्छ । अधिकांश मानिसको शरीरमा त्यो रोगको एन्टिबडी नभएको अर्थात् यसभन्दा पहिले त्यो रोग नलागेको हुनुपर्छ ।
एपिडेमिक वा प्यान्डेमिक हुन सरुवा रोगचाहिँ हुनुपर्छ । डब्लूएचओले रोगको परिभाषामा घाउचोट लागेर बाहेक शरीर वा कुनै अंगको नियमित कार्यमा प्रतिकूल असर परेको अवस्था भनेको छ । रोग हुनका लागि पनि मृत्यु नै हुनुपर्छ भन्ने छैन । घाउचोटबाहेक वंशाणुगत, खानपान जीवनशैली र बाह्य सूक्ष्म जीवको प्रवेशका कारण शरीरमा असामान्य अवस्था आउन सक्छ ।

घोषणाका असर
कुनै रोगलाई एपिडेमिक वा प्यान्डेमिक घोषणा गर्दा सकारात्मक र नकारात्मक दुवै असर हुन्छन् । डब्लूएचओले एपिडेमिक वा प्यान्डेमिक घोषणा गर्दैमा रोगलाई कुनै असर पर्ने होइन । यसबाट डब्लूएचओ र विश्व बैंकले कमजोर देशहरूलाई गर्ने सहयोग वितरणका प्रक्रियाहरू खुकुलो हुन्छन् । कोष परिचालनलाई सहज हुने मात्र हो । सरकार र समाज रोगबारे सचेत हुने र व्यवस्थित तयारी गर्न सहज हुन्छ । अर्कातिर त्रासका कारण अनावश्यक खर्च र मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्न जान्छ ।
सन् २००३ मा सार्स २९ देशमा फैलिएको थियो, तर डब्लूएचओले प्यान्डेमिक घोषणा गरेको थिएन । सन् २००९ को स्वाइन फ्लूलाई प्यान्डेमिक घोषणा गरियो । स्वाइन फ्लूलाई प्यान्डेमिक घोषणा गरेर विश्वव्यापी त्रास फैलाइयो, रोगको सचेतना फैलाउने कामलाई कमजोर बनाउनुका साथै एन्टिभाइरल औषधि बनाउनेलगायत नाममा सरकारहरूलाई अनावश्यक खर्च गर्नुपर्ने स्थिति सिर्जना गरियो भनेर विज्ञहरूबाट आलोचना भयो ।
अहिलेको कोभिडलाई प्यान्डेमिक घोषणा गर्ने या नगर्ने भन्नेमा महामारी विज्ञहरूबीच तीव्र बहस भएको थियो । त्यतिखेर डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले कोभिड–१९ को सम्बन्धमा भनेका थिए, “विश्व महामारी हलुका र लापरवाहीपूर्वक प्रयोग गर्ने शब्द होइन । यदि यो शब्द दुरुपयोग भयो भने औचित्यहीन डर पैदा गर्नेछ, रोगसँग जुँध्न सकिँदैन भन्ने भ्रम पर्नेछ, यसले अनावश्यक पीडा र मृत्युलाई डो¥याउनेछ ।”

मृत्युदर
रोगको संक्रमणदर र मृत्युदरबारे कहिले पनि यकिन तथ्यांक पाउन सकिंदैन । स्वाइन फ्लूको हकमा प्रतिष्ठित अनुसन्धान संस्थाहरू कसैले मृत्युदर ०.१ अर्थात् एक हजारमा १ जना अनुमान गरेका छन् भने कसैले ०.५ प्रतिशत अनुमान गरेका छन् । अहिलेको कोभिडको मृत्युदर ३ प्रतिशत रहेको भनेर धेरै विज्ञले प्रयोग गर्छन् । डब्लूएचओले आधिकारिक रूपमा स्पष्ट भनेको छैन ।
डब्लूएचओले २०२० अगस्ट ४ मा प्रकाशन गरेको रिपोर्टमा कोभिडको मृत्युदर कुनै देशमा ०.१ प्रतिशतभन्दा कम र कुनैमा २५ प्रतिशतभन्दा बढी रहेको तथ्यांक उल्लेख छ । साथै औसतमा ०.५ देखि १ प्रतिशतको बीचमा मृत्युदर कायम हुने मानिएको उल्लेख गरेको छ । मार्च २३ सम्म डब्लूएचओले बेलायतमा ५ प्रतिशत र विश्वमा ४ प्रतिशत मृत्युदर बताएको थियो । त्यतिखेर बेलायती वैज्ञानिकहरूले आफ्नो देशमा मृत्युदुर ०.५ देखि १ प्रतिशत अनुमान गरेका थिए ।

मृत्युदर भिन्नताको कारण
मृत्यु गणना गर्न सकिन्छ तर कति मानिस संक्रमित भएका थिए भन्ने थाहा हुँदैन । यसै कारण मृत्युदरको अनुमानमा धेरै नै भिन्नता आउँछ । परीक्षण गरेर भाइरस पोजेटिभ देखिएकामध्ये कतिको मृत्यु भयो भन्ने मात्र यकिन तथ्यांक प्राप्त हुन सक्छ । यसरी गणना गर्दा पनि मृत्युको कारण त्यही भाइरस नै हो या अन्य समस्याको कारणले मृत्यु भएको हो भन्ने थाहा हुँदैन ।
डब्लूएचओले महामारीको अध्ययनमा सन् १९१८ को इन्फ्लुएन्जा (स्पेनिस फ्लू) लाई आधार लिने गर्छ । डब्लूएचओले सन् २०१९ सेप्टेम्बरमा प्रकाशन गरेको जोखिममा विश्व ः स्वास्थ्य संकटका लागि विश्वको तयारी प्रतिवेदनमा १९१८ को इन्फ्लुएन्जाले विश्वको एकतिहाइ जनसंख्या बिरामी बनाएको र विश्व जनसंख्याको २.८ प्रतिशत अर्थात् ५ करोडको मृत्यु भएको अनुमान उल्लेख गरेको छ । त्यस्तै प्रकारको अहिलेको महामारी (कोभिड–१९) ले ५ करोडदेखि ८ करोड अर्थात् विश्व जनसंख्याको ०.६५ प्रतिशतदेखि १ प्रतिशतको मृत्यु हुने पूर्वानुमान उल्लेख गरेको छ ।
प्यान्डेमिकले विश्व जनसंख्यालाई र एपिडेमिकले देशविशेषको जनसंख्यालाई प्रभाव पार्छ । त्यसैले विश्वमा कुल जनसंख्यामा वा देशविशेषको कुल जनसंख्यामा कति मृत्यु भयो भन्ने आधारमा मृत्युदर गणना गरिन्छ । यसका लागि प्यान्डेमिक अन्त्य हुनुपर्छ । यस्तो गणनामा संक्रमित नभए पनि सबै जनसंख्या समेटिन्छ, किनकि रोगले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सबैलाई प्रभाव पारेको हुन्छ । बिरामी परेकामध्येको मृत्यु, सबै संक्रमितमध्येको मृत्यु र कुल जनसंख्यामध्येको मृत्यु निकाल्दा स्वतः तथ्यांक फरक–फरक आउँछ ।

स्वास्थ्य र वित्त विश्लेषणमा भिन्नता
वित्तीय विश्लेषणमा तत्कालको प्रत्यक्ष लाभ वा हानिलाई भविष्यको लाभ वा हानिसँग समायोजन गरिन्छ । यो वर्ष हुने हानि वा नोक्सानीले आगामी वर्षलाई के असर पार्छ भनेर विश्लेषण गरिन्छ । ५ वा १० वर्षको औसत लाभ–हानिका आधारमा निष्कर्ष निकाल्ने गरिन्छ । मानौं, यो वर्ष १० एकाइ लाभ गरेको कारण अर्को वर्ष ५ एकाइ हानि हुने देखिन्छ भने कुल लाभ ५ एकाइ मात्र गणना हुन्छ ।
स्वास्थ्य क्षेत्रमा भने भविष्यको क्षति वा बचत समायोजन नगरिने हुँदा वास्तविक हानि थाहा हुँदैन । कुनै एउटा रोगको कारण भएको मृत्यु गणना गर्दा अन्य रोग समेत लागेको व्यक्ति पनि गणनामा पर्छ । त्यस्तै, कुनै व्यक्ति अन्य रोगले एक वर्षपछि मृत्यु हुनेवाला थियो, अर्को रोग लागेर अहिले नै मृत्यु भयो भने त्यसको गणना अहिलेको रोगमा हुन्छ । वास्तवमा त यस्तो मृत्युले अर्को वर्ष रोगका कारण हुने कुल मृत्युको संख्या कम गरेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्