कच्चा पदार्थ र बजार अभावमा हाते कागज उद्योग संकटमा «

कच्चा पदार्थ र बजार अभावमा हाते कागज उद्योग संकटमा

सुर्खेत-वीरेन्द्रनगर औधोगिक क्षेत्रस्थित हाते कागज उद्योगमा काम गरेर सीप सिकेपछि चौकुने गाउँपालिका– २ का बुद्धिमान बोहोराले आफैले उद्योग सञ्चालन गर्ने योजना बनाए । उद्योगमा चार वर्ष काम गरेर सीप सिकेपछि उद्योग खोल्ने योजना बनाएका बुद्धिमानले पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा सिर्जना नेपाली हाते कागज उद्योगका नामबाट सञ्चालनमा ल्याए । उद्योग सुरु गर्न आठ लाख खर्च भयो । जसमध्ये चार लाख आफैंले निकाले भने बाँकी चार लाख ब्याजमा ऋण लिएर सुरु गरे । दुई रोपनी जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरेका उनले सुरुमा राम्रै आम्दानी गरेका थिए । तर, पछिल्लो समय कच्चा पदार्थको अभावमा उद्योग बन्द हुने अवस्थामा पुगेको छ । “सुरु–सुरुमा त ठिकै थियो’ बोहोराले भने,‘तर अहिले कच्चा पदार्थको अभाव, आर्थिक स्रोत र बजारीकरणले उद्योग संकटमा परेको छ ।”
उत्पादित कागज बिक्री गर्न टाढा लिनुपर्ने झन्झटिलो प्रक्रिया, लगानी अनुसारको प्रतिफल नआउनु, पर्याप्त मात्रामा औजार नहुनु, समयमा कच्चापदार्थ नपाईनु, ढुवानीको समस्यालगायतका कारणले उद्योग सञ्चालमा समस्या आएको बोहोरा बताउँछन् । “पहिला चार वर्षसम्म कागज उद्योगमा काम गरें, सम्भावना पनि राम्रै देखेपछि आधा ऋण र आधा जग्गा बेचेरै भएपनि उद्योग सञ्चालनमा ल्याएँ,” सञ्चालक बोहोराले भने, “न चाहिएको बेला कच्चापदार्थ आउँछ, नत कतैबाट अनुदान पाइयो अहिले उद्योग बचाउनै मुस्किल परेको छ ।” उद्योगलाई आधुनिक औजार तथा मेसिन, नयाँ प्रविधिमा जोड्न सकेमा आम्दानी गर्नसकिने सम्भावना देखेपनि लगानीको अभावमा उद्योग थला परेको बोहोरा बताउँछन् ।
सञ्चालक बोहोराका अनुसार जाजरकोट, दैलेख, कालिकोटलगायतका जंगलमा पाइने लोक्ता (कागज बनाउन प्रयोग गरिने कच्चा पदार्थ वनस्पती) को अभाव छ । उनले उद्योगबाट नोटबुक, डायरी, फोटोकपी पेपर, ए फोर साइज पेपर, गिफ्टबक्स, गमलालगायत नेपाली हाते कागजका आकर्षक सामग्री उत्पादन गर्थें । तर हाल कागज बनाउनका लागि महंगो र कोरोनाका कारण बजारको व्यवस्था नभएपछि उत्पादन गर्न छोडेको उनले बताए । सरकारले उद्योगहरुका लागि भाडामा जग्गा, अनुदान नदिनु र उद्यमीलाई प्रोत्साहन नगर्दा यस्ता उद्योगहरु संकटमा परेको उनको भनाइ छ । उनले स्थानीय, प्रदेश तथा केन्द्र सरकारले वितरण गर्ने अनुदान समेत टाठाबाठाले पाउने गरेको गुनासो गरे । स्थानीय तथा प्रदेश तहमा बारम्बर धाइरहँदा पनि उद्योगलाई कुनै सहयोग नभएको उनको गुनासो छ । पहिला सम्भावना देखेर फरक व्यवसायलाई अंगालौ ंभनेर उद्योग सञ्चालन गरिए पनि अहिले उद्योग संकटमा परेपछि लगानी नै डुब्ने डर भएको उनी बताउँछन् ।
स्वरोजगारमूलक तथा परम्परागत लघु घरेलु तथा साना उद्यमलाई सरकारले प्रोत्साहन गर्नुपर्ने लघु घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश अध्यक्ष चन्द्र विसी बताउँछन् । “आफ्नै गाउँठाउँमा स्थानीय स्रोत र साधनबाट बनेका उद्यमहरु राज्यले संरक्षण गर्न नसम्दा यस्ता उद्योगहरु संकटमा छन्,” उनले भने, “जबसम्म स्थानीय, प्रदेश र केन्द सरकारले उद्योगीका हितमा नीति तथा कार्यक्रम ल्याउँदैनन्, तबसम्म राष्ट्रलाई नै घाटा हुन्छ ।” प्रत्येक स्थानीय तहहरुमा औद्योगिक ग्रामहरु स्थापना गर्ने, उत्पादन भएका बजार प्रवद्र्धन गर्ने ठोस नीति ल्याए कर्णालीका करिब १७ हजार साना तथा घरेलु उद्योगहरु नियमित सञ्चालनमा आउने अध्यक्ष बिसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्