धानबाली उत्पादनमा वृिद्ध हुने अनुमान «

धानबाली उत्पादनमा वृिद्ध हुने अनुमान

रुकुम पश्चिममा यसवर्ष धानबाली उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । यस पटक समयमै वर्षा सुरु भएको र धान रोपाईँ पनि समयमै भएकाले धानबाली उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो । जिल्लाका अधिकांश ठाउँका किसानले लगाएको धानबालीमा हालसम्म कुनैपनि रोग तथा किरा फट्याङग्रा नलागेकाले धान उत्पादनमा वृद्धि हुने कृषक धिरेन्द्रजंग शाहले बताए ।
जिल्लाको चौरजहारी नगरपालिका, आठविसकोट नगरपालिका, मुसिकोट नगरपालिका, सानीभेरी, त्रिवेणी, र वाफिँकोट गाउँपालिका अन्र्तगतका विभिन्न स्थानमा लगाएको धानबाली उत्पादन राम्रो हुने देखिएको हो । यस वर्ष जिल्लाका किसानले लगाएको धानबाली फस्टाउँदै गएकाले गत वर्ष भन्दा यो वर्ष धान उत्पादनमा वृद्धि हुने कृषि विकास कार्यालय रुकुम पश्चिमले पनि अनुमान गरेको छ । कार्यालयका निमित्त प्रमुख राजेश शाहले यस वर्ष समयमै वर्षा सुरु भएको र किसानले पनि भनेकै समयमा मल पाएकाले धान उत्पादनमा वृद्धि हुने बताए ।
३ नगरपालिका र ३ गाउँपालिका रहेको रुकुम पश्चिममा रहेको ३ हजार ४८ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिँदै आएको छ । गत वर्ष जिल्लामा ९ हजार ४ सय ७३ मेट्रिक्टन धान उत्पादन भएको थियो । कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा ९ हजार ७ सय मेट्रिक्टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्