लमजुङका पशुहरूमा लम्पी स्किन रोगको संक्रमण «

लमजुङका पशुहरूमा लम्पी स्किन रोगको संक्रमण

लमजुङको मध्यनेपालमा पशुहरूमा देखिने लम्पीस्किन रोग देखिएको छ । मध्यनेपाल नगरपालिका–६, भोर्लेटारको एक व्यावसायिक फार्ममा पालिएका गाईहरूमो त्यस्तो रोग देखिएको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले जनाएको हो ।
भोर्लेटारस्थित दिव्यचन्द्र सोतीको मिदिमखोला एग्रिकल्चर एण्ड लाइभस्टक फार्ममा यस्तो रोग देखिएको कार्यालय प्रमुख डा. रुपेश श्रेष्ठले जानकारी दिए । करिब तिनसाता अघि फार्मका गाईहरूमा ज्वरो आउने, दूध घट्ने तथा शरीरमा गिर्खा आउने समस्या देखिएपछि परीक्षणका लागि पोखरास्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमुना रगत पठाइएको थियो ।
पोखरामा पनि रोगको पहिचान हुन नसकेपछि थप परीक्षणका लागि केन्द्रीय पशुपन्छी प्रयोगशाला काठमाडौं पठाइएको र उक्त गाईहरूमा लम्पीस्किन रोग भएको पुष्टि भएको हो । कार्यालयका अनुसार फार्ममा रहेका ६ वटा गाईहरूमा त्यस्तो समस्या देखिएको छ ।
लम्पीस्किन रोग एक प्रकारको पक्स समूहको काप्रीपक्स भाइरस संक्रमणबाट गाई–भैंसीहरूमा लाग्ने डा. श्रेष्ठले बताए । यो रोग भैंसीहरूमा भन्दा गाईहरूमा बढी देखिने डा. श्रेष्ठको भनाइ छ । संक्रमित गाईहरूमा सुरुमा एक चरण गिर्खाहरू देखिएर निको भइसके पनि पुनः पछि पनि त्यस्तै देखिएपछि परीक्षण गर्न प्रयोगशाला पठाइएको कार्यालयले जनाएको छ ।
सन् २०१२ अघि अफ्रिकामा देखिएको यो रोगपछि मध्यपूर्व, दक्षिण युरोप, रसिया, काजकिस्तान, हुँदै बंगलादेश र भारतमा पनि देखिन थालेको हो । हाल यो रोग नेपालको मोरङ, झापालगायतका पूर्वी क्षेत्र र चितवन लगायतका क्षेत्रमा पनि देखिन थालेको छ । पछिल्ला दिनहरूमा छिमेकी जिल्ला तनहुँ, कास्की लगायतका केही क्षेत्रमा पनि लम्पीस्किन रोग देखिएको अस्पतालले जनाएको छ ।
लमजुङमा पनि चितवनलगायत अन्य जिल्लाबाट पशु दाना ल्याउने क्रममा यो रोगको संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । यो रोग आफंैमा सरुवा रोग भएकाले पशुहरूलाई सुरक्षित राख्नुपर्ने पशु चिकित्सकहरूको भनाइ छ । विशेषगरी लामखुट्टे, झिँगा, किर्ना आदिको टोकाइबाट यो रोग सर्ने गर्छ । सो बाहेक संक्रमित गाई–भैंसीको ओसारपसार, लसपस र संक्रमित गाई–भंैसी र स्वस्थ गाई–भैंसीको उपचारमा एउटै सुई प्रयोग गरेमा पनि यो रोग सर्नसक्ने पशु चिकित्सकहरूले बताएका छन् ।
विशेष गरी लम्पीस्किन रोग लागेका पशुहरूमा कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज निकाल्ने, गाई–भैंसीको शरीरका विभिन्न भाग विशेष गरी घाँटी, पछाडिको खुट्टा, पेट, थुन वरपर सानादेखि ठूला गिर्खाहरू देखिने गर्दछ । यो रोगको संक्रमण भईसकेपछि पशुहरूमा एक सय चार फरेनहाइटसम्म ज्वरो आउने, २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, गर्भ तुहिने, बाँझोपन हुने तथा मृत्युदर कम भए पनि ५ देखि ४५ प्रतिशत पशुहरू बिरामी हुने पशु चिकित्सकहरूले बताएका छन् ।
लम्पीस्किन रोग लागिसकेपछि ठोस उपचार नभएको पनि पशु चिकित्सकहरूले बताएका छन् । प्राविधिकहरूको सल्लाहमा लक्षण अनुसारको उपचार गरिने र संक्रमित क्षेत्रबाट पशुपन्छी ओसारपसार नियन्त्रण गर्नुनै मुख्य सतकर्ता भएको भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । यो रोगबाट बच्न विशेषगरी लामखुट्टे, झिंगा, किर्ना, आदिको नियन्त्रण र गोठ वरिपरिको वातावरण सफा गर्नुपर्ने पशु चिकित्सकहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्