बाह्यभन्दा आन्तरिक पर्यटक बढी «

बाह्यभन्दा आन्तरिक पर्यटक बढी

लमजुङ-लमजुङका पर्यटकीय गाउँहरूमा बाह्यभन्दा आन्तरिक पर्यटकहरू धेरै आएको पाइएको छ । ग्रामिण पर्यटन विकाससँगै अधिकाँश गाउँहरूमा होमस्टे सुरुभएपछि बाह्यभन्दा आन्तरिक पर्यटकहरूको आगमन बढेको पाइएको छ ।
जिल्लामा भित्रिएका आन्तरिक पर्यटकहरूको एकिन तथ्यांक नभए पनि तुलनात्मक रूपमा बाह्यभन्दा आन्तरिक पर्यटकहरूनै बढी भएको पर्यटन व्यवसायीहरू बताउँछन् । जिल्लाका केही पर्यटकीय गाउँहरूमा भने आन्तरिक पर्यटकहरूको पनि तथ्यांक राख्ने गरिएको छ ।
लमजुङमा रहेको एसीयाकै नमुना घलेगाउँमा वार्षिक २५ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्छन् । गाउँ आएका पर्यटकहरूमध्ये अधिकांश आन्तरिक पर्यटक रहेको घलेगाउँ ग्रामीण पर्यटन विकास समितिका व्यवस्थापक दीर्घ घलेले बताए ।
जीविकोपार्जनका लागि कृषि र पर्यटन व्यवसायमा व्यस्त घलेगाउँका स्थानीयहरू पर्यटकहरूको आगमन बढेसँगै कृषि पेसामा नभ्याउने अवस्था आएको घलेगाउँ पर्यटन विकास समतिका अध्यक्ष प्रेम घले बताउँछन् ।
“पर्यटक आगमनले गाउँलेहरूको जिवनस्तर उकासिएको छ,” घलेले भने, “दैनिक पर्यटकहरूको आगमनले स्थानियले अरु काम गर्न समयनै छैन ।” सार्क राष्ट्रकै नमुना गाउँ घोषणा भएको घलेगाउँलाई हाल स्मार्ट भिलेजको रूपमा प्रवद्र्धन सुरु गरिएको छ ।
घलेका अनुसार पछिल्लो पाँच वर्षमा १ लाख ८ सय २४ पर्यटक आएको तथ्यांक छ । त्योमध्ये १ लाख २२ हजार ८ सय २० जना पर्यटक आन्तरिक रहेको घलेले बताए ।
घलेगाउँमा अघिल्लो वर्ष (सन्२०१६) मात्रै २६ हजार ८ सय ५२ पर्यटक आएकोमा २६ हजार ४ सय ५६ जना आन्तरिक पर्यटक छन् । यस्तै २०१५ मा १९ हजार ७ सय ५० आन्तरिक र २ सय ४४ बाह्य पर्यटक आए भने सन् २०१४ मा २७ हजार ५ सय पाँच आन्तरिक र ३ सय ८४ बाह्य पर्यटक आएको तथ्यांक छ ।
विशेष गरी स्कुल, कलेजका विद्यार्थी धेरै अध्यन तथा अवलोकनका लागि घलेगाउँ आउने गरेको उहाँको भनाइ छ । प्राकृतिक सौन्दर्य हेर्न तथा स्थानीय होमस्टेको अनुभव लिन देश विदेशबाट पर्यटकहरू घलेगाउँ आउने गर्छन् ।
नेपालकै उत्कृष्ट भनिएको पर्यटकीय गाउँ–गाउँसहर काउलेपानीमा पाँच वर्षको अवधिमा ६० हजारको हाराहारीमा पर्यटक आएका छन् । काउलेपानी पर्यटन विकास समितिका अनुसार गाउँमा आएका पर्यटकमध्ये ९८ प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक हुन् ।
काउलेपानीमा सन् २०११ मा तिनहजार चारसय ८३, सन् २०१२ मा ७ हजार ९ सय ९९, सन् २०१३ मा १० हजार १ सय १५ जना पर्यटक आएका पर्यटन विकास समिति अध्यक्ष देवबहादुर गुरुङले बताए ।
यसैगरी सन् २०१४ मा १० हजा ३ सय १५ जना, सन् २०१५ मा १३ हजार ३ सय ६९ जना पर्यटक आएका थिए । त्यस्तै सन् २०१६ मा १६ हजार ३ सय ११ जना पर्यटक काउलेपानी आएका थिए ।
सन् २०१४ मा काउलेपानी नेपालकै उत्कृष्ट पर्यटकीय गाउँ घोषणा भएको थियो । पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेको भिटोफ नेपालले काउलेपानीलाई नेपालकै उत्कृष्ट पर्यटकीय गाउँ घोषणा गरेको हो । काउलेपानी उत्कृष्ट गन्तव्य बनेसँगै पर्यटकहरूको आगमन पनि बढ्दै गएको छ ।
पछिल्लो समय निकै चर्चामा आएको लमजुङको राइनासकोटले पनि पर्यटकहरूलाई आकर्षण गरेको छ । २०७२ सालको विनाशकारी भूकम्प पछि पुनर्निर्माण गरिएका राईनासकोटका घरहरूमा व्यावसायिक होमस्टे सुरु भएको वर्षदिन मात्रै भएको छ । पुरानो शैलीमा आधुनिक भवन निर्माणसँगै राइनासका स्थानीयले व्यावसायिक होमस्टे सुरु गरेपछि पर्यटक आगमन दैनिक बढ्दै गएको राइनास होमस्टे व्यवस्थापन समिति अध्यक्ष विष्णु गुरुङले बताइन् ।
ऐतिहासिक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण राइनासकोटमा व्यावसायिक होमस्टे सुरु भए लगत्तै अधिकांश पर्यटकको रोजाइमा परेको छ । ग्रामीण पर्यटन प्रवद्र्धनमा छलाङ मारेको राइनासकोट पनि ३९ औं विश्व पर्यटन दिवसको अवसरमा नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत भएको थियो ।
राइनासकोटमा पुनर्निर्माण गरिएका १४ घरमा व्यावसायिक होमस्टे सञ्चालनमा छन् । यहाँ पनि बाह्यभन्दा आन्तरिक पर्यटकहरूको आगमन नै बढिरहेको छ । शाहकालीन इतिहासमा समेत जोडिएको राइनासकोटको संस्कृति, अतिथि व्यवस्थापन र आधुनिक संरचनामा व्यवस्थापन गरिएको होमस्टेले अझै धेरै फड्को मार्ने स्थानिय प्रर्वद्धक कृष्णराज ओलिया बताउँछन् ।
राइनासकोटमा व्यवसायिक होमस्टेका लागि राम्रो पूर्वाधार निर्माण भइसकेको छ । होमस्टेसँगै ऐतिहासिक कोट, प्राकृतिक दृश्यावलोकनका लागि भ्यूटावर, स्थानीय संस्कृतिको थप प्रवद्र्धन र प्याराग्लाइडिङ गन्तव्य विकासका लागि नगरपालिकाले पनि विशेष योजना बनाएको छ । राईनासकोटलाई नगरपालिका भित्रकै मुख्य गहनाको रूपमा लिएको र यसको प्रवद्र्धनमा लागिपरेको राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले बताए ।
सदरमुकाम बेसीसहर नजिकै रहेको खासुरमा पनि आन्तरिक पर्यटकहरूनै बढी पुगेका छन् । काम विशेषले बेसीसहर आएकाहरू पनि नजिकै भएकोले पर्यटक बनेर खासुर पुग्ने गर्छन् । खासुरमा रहेको सामुदायिक खाजाघर, स्थानीय संस्कृति र त्यहाँको प्रकृतिले अधिकांश आन्तरिक पर्यटकहरूलाई आकर्षण गरेको छ ।

होमस्टेमा व्यवस्थापनमा चुनौती
लमजुङमा पर्यटक भित्र्याउने माध्यम बनेको होमस्टे व्यवस्थापन पछिल्लो समय चुनौती बन्दै गएको छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण लमजुङ हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र बनेपनि जनशक्ती, सीप र क्षमता नहुँदा व्यवस्थापनमा चुनौती देखिएको हो ।
२०६२ सालदेखि ग्रामीण पर्यटनको अवधारणा भित्रिएसँगै लमजुङका विभिन्न गाउँहरूमा सञ्चालन गरिएका होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका गन्तव्य बनेका छन् । तर, भौगोलिक विकटता र जनशक्ति अभावका कारण होमस्टे व्यवस्थापन कठिन हुँदै गएको छ । जिल्लामा सञ्चालन गरिएका होमस्टेहरूमा केही युवाक्लव सक्रिय रहे पनि अधिकांश गाउँहरूमा महिलाहरूले नै व्यवसाय धान्न बाध्य भएका छन् ।
“गाउँमा युवाहरू खासै छैनन्, प्रायः पाहुनाहरूको स्वागत, व्यवस्थापनमा महिलाहरूनै खटिनुपर्छ,” ताघ्रिङकी होमस्टे सञ्चालक आशकुमारी गुरुङले भनिन्, “पर्यटन व्यवसायमा युवाहरू नहुने हो भने दीर्घकालीन हुन सजिलो छैन ।”
लमजुङका गाउँहरूमा ऐतिहाँसिक तथा धार्मिक सम्पदासँगै न्यानो आतिथ्यता सम्झदै पर्यटकहरू पटक–पटक आइरहन्छन् । पर्यटकहरूलाई स्वागत सत्कार, व्यवस्थापनदेखि घरायसी कामसमेत भ्याउनुपर्ने हुँदा अपेक्षित प्रगति हुन नसकेको होमस्टे सञ्चालकहरूको भनाइ छ । अर्गानिक कृषि उत्पादन, सरसफाइ, बाटो, बिजुली, खानेपानीको प्रबन्ध मिलाउनुका साथै खानाका परिकारहरू बनाउने पर्याप्त सीपको अभाव रहेको होमस्टे सञ्चालकहरूको भनाइ छ ।
सांस्कृतिक विविधता र प्रकृतिसँगै यहाँको होमस्टेबाटनै अधिकांश गाउँहरूले पर्यटक भित्र्याएका छन् । पर्यटकहरूको आगमन बढेसँगै होमस्टेको व्यवस्थापन र सुधारका लागि विशेष ध्यान दिन आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ । होमस्टेलाई फेसनको रुपमा नभई मापदण्ड पूरा गरेका र आवश्यक जनशक्ति, सीप तथा क्षमताको अभिवृद्धि गराएर मात्र प्रवद्र्धनमा लाग्नुपर्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा बताए ।

 

प्रतिक्रिया दिनुहोस्