बयानका आधारमा चोरी भएको चन्दननाथको दाहिने शंख भेटियो «

बयानका आधारमा चोरी भएको चन्दननाथको दाहिने शंख भेटियो

जुम्लाको चन्दननाथ मन्दिरबाट पाँच वर्ष पहिले चोरी भएका मूर्तिमध्ये दाहिने शंख भेटिएको छ । बुधबार बिहान चन्दननाथ नगरपालिका १० बोहोरा गाउँस्थित खोलापाने भन्ने ठाउँमा भेटिएको हो । सोमबार दुई मूर्तिसहित पक्राउ परेका तीन जनाको बयानका आधारमा बुधबार दाहिने शंक भेटिएको डीएसपी माधव काफ्लेले बताए ।
डीएसपी काफुलले भने, “सोमबार पक्राउ भई हाल हिरासतमा बसेका तीन जनासँग लिइएको बयानका आधारमा खोज तलास गर्दा पाँच वर्ष पहिले चोरी भएको प्रसिद्ध चन्दननाथ मन्दिरको पुरातात्तित्वक महोत्वको दाहिने शंक भेटिएको छ ।”
२०७३ साल मंसिर ११ गते राति मन्दिरबाट चोरी भएका दर्जनौं पुरातात्तित्वक महोत्वका मूर्ति मध्य हालसम्म विभिन्न चरणमा गरी २१ वटा मूर्ति भेटिएको प्रहरीको तथ्यांक छ । गएको सोमबार विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले चन्दननाथ १० बोहोरा गाउँस्थित सुशील विष्टको खेतको आलीमा सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा भेटिएको दुई मूर्ति भेटिएका थिए ।
प्रहरीले मूर्तिसँगै संकास्पद ३२ वर्षीया सुशील विष्ट, २८ वर्षीया जयलाल थापा र २३ वर्षीया सुदीप रावललाई समेत पक्राउ गरेको थियो । उनीहरूले दिएको बयान र क्लुको आधारमा दाहिने शंख भेटिएको इनिस्पेक्टर भरतसिंह राठौरले जानकारी दिए । उनले भने, “तिनै जनासँग अनुसन्धान र सोधपुछ अझै जारी छ । घटनाको भित्री सतहसम्म पुगेर सबै दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी लागी परेको छ । ढिलो चाडो घटना सार्वजनिक हुनेछ ।” तर, नागरिकहरू भने चाँडै घटना सार्वजनिक गर्न दोषी पत्ता लगाउन माग गरिरहेका छन् ।
पाँच वर्ष पहिले चन्दननाथ मन्दिरबाट २१ मूर्ति चोरी भएको भनिए पनि संख्या एकिन हुन सकेको छैन । तथापि हालसम्म विभिन्न ठाउँमा गरी करिब २१ वटा मूर्ति भेटिएको प्रहरीको भनाइ छ ।
चोरी भएका मूर्तिमध्ये तामा र पित्तलले बनेका भगवतीका दुईवटा, विष्णु, गणेश, बाल गोपालका मूर्ति, एउटा मुकुट, बुद्धको ठूलो र सानो मूर्ति, बुद्धले ध्यान गरेको मूर्ति, कृष्ण बालगोपालले मुरली समातेको मूर्ति, पत्थरबाट बनेको हनुमानको मुर्तिसँगै दायाँ र बायाँ शंख र रुद्राक्ष २०७३ पुसमा गुठीचौर गाउँपालिकाको देपालगाउँस्थित ढुङ्ग्री खोलामा मूर्ति फेला परेका थिए । त्यस्तै दत्तात्रयको १८ किलोको चाँदीको मुख्य मूर्ति २०७६ माघमा चन्दननाथ १ दानसाँघुमा रहेको खेतको आलीमा बेवारिसे अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्