डा. केसीसँग वार्ता नगरेर प्रधानमन्त्रीले लोकतन्त्रविरोधी चरित्र देखाए : कांग्रेस «

डा. केसीसँग वार्ता नगरेर प्रधानमन्त्रीले लोकतन्त्रविरोधी चरित्र देखाए : कांग्रेस

नेपाली कांग्रेसले सत्याग्रहमा बसेका डा. गोविन्द केसीसँग वार्ता नगरेर प्रधानमन्त्री केपी ओलीले बालहठ देखाएको बताएको छ । अनशनमा बसेको २४ दिन हुँदासम्म सरकारका तर्फबाट केसीसँग वार्ताको पहल नगरेपछि कांग्रेसले यस्तो टिप्पणी गरेको हो ।
कांग्रेसले सत्याग्रहीसँग वार्ता गरेर लोकतान्त्रिक चरित्र देखाउन सकारसँग माग गरेको छ । डा. केसीसँग वार्ता नगरी बालहठ देखाइरहे ओलीका लागि महँगो पर्ने चेतावनी पनि कांग्रेसले दिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘प्रधानमन्त्रीलाई गम्भीर प्रश्न’ भन्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ। वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू ।’
कांग्रेसले डा. केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गरेर गम्भीर भूल नगर्न पनि सरकारसँग आग्रह गरेको छ । शर्माले भनेका छन्, ‘हेक्का रहोस्, लोकतन्त्र भर्सेस कम्युनिस्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ ।’
अनशनजस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गरेर प्रधानमन्त्री ओलीले लोकतन्त्रविरोधी चरित्र देखाएको कांग्रेसको आरोप छ । शर्माले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘खुला ढंगले के यो सन्देश दिन चाहनुभएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ ?’
शर्माले सत्याग्रहीलाई दुव्र्यवहारददेखि, सत्ताको अहंकारसम्मले कम्युनिस्टतन्त्रको मनोविज्ञानलाई मात्रै पुष्टि गरेको बताएका छन् । ओलीले विगतमा प्रचण्डको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्ने गरेको सन्दर्भ स्मरण गर्दै शर्माले भनेका छन्, ‘त्यो स्वाभाविक थियो, अब अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्