फूलखेतीमा आकर्षण «

फूलखेतीमा आकर्षण

दाङ जिल्लामा पछिल्लो समयमा हजारीको फूलखेती गर्नेतर्फ आकर्षण बढ्दै गएको छ । व्यक्तिगत तथा सामूहिक रूपमा फूल खेती गर्ने थालिएको छ । आफ्नो जग्गा हुनेले आफ्नो जग्गामा, नहुनेले जग्गा भाडामा लिएर समेत खेती गर्ने थालेका छन् । जिल्लामा फूल खेती नहुँदा चाडपर्वको समयमा बाह्य जिल्लाबाट फूल ल्याउनुपर्ने बाध्यता थियो । तर, पछिल्लो समयमा फूलखेती हुन थालेपछि बाहिरबाट ल्याउनुपर्ने बाध्यतासमेत हट्दै जाने व्यवसायीहरूले बताएका छन् ।
बाहिरबाट फूल ल्याउन नपरेपछि जिल्लाबाट रकमसमेत बाहिर जानेछैन । घोराहीका दुई युवा मिलेर अहिले घोराही उपमहानगरपालिका वडा नं. १३ डुमर गाउँमा दुई बिघामा फूलखेती गरेका छन् । उनीहरूले दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेका हुन् । फूलको सम्भावना देखेर आफूहरूले फूलखेती गरेको लोकेन्द्र रोकाले बताए । उनीहरूले अहिले जग्गाको भाडा तथा फूल रोप्न तथा संरक्षणका लागि करिब १ लाख रुपैयाँ लगानी गरिसकेका छन् । उनले विगत पाँच वर्षदेखि नै फूलखेती गर्दै आएका छन् । विगतका वर्षहरूमा थोरै जग्गामा खेती गरेका थिए, तर पछिल्ला वर्षहरूमा जग्गा भाडामा लिएर खेतीगर्ने थालेको रोकाले बताए ।
पाँच वर्ष विदेश बसेर फर्केपछि उनले फूलखेती गर्न थालेका हुन् । फूलखेती गरेपछि सहज रूपमा बिक्री भए पछि यसतर्फ आफ्नो आकर्षण बढेको उनको भनाइ छ । “सुरुका वर्षहरूमा मागअनुसार फूल पु-याउन नसकेपछि बिस्तारै बढाउँदै लगेको हुँ,” रोकाले भने । सुरुका वर्ष उनले एक्लै फूलखेती सुरु गरेका थिए, तर पछि रायन बूढासँग मिलेर जग्गा भाडामा लिएर खेती गर्न थालेका हुन् । अन्य बालीभन्दा फूलखेतीबाट आम्दानीसमेत राम्रो हुने रोकाको भनाइ छ । फूलको सम्भावना राम्रो रहेको उनले बताए । उनीहरूले स्थानीय फूलखेती गरेका छन् ।
आफूहरूले उत्पादन गरेको फूल जिल्लाका घोराही, तुलसीपुर र लमहीमा बिक्री हुने गरेको रोकाले बताए । “हामीलाई फूल बिक्री गर्न कुनै समस्या छैन,” रोकाले भने । अहिले उनीहरूले चाडपर्वलाई लक्षित गरेर मात्र फूलखेती गरेका छन् । जिल्लामा अन्य समयमा फूलको मागकै मात्रामा हुने गरेको बताए । तर, यसलाई व्यावसायिक रूपमै अगाडि बढाउने उनीहरूको सोच छ । अहिले आफूहरूले साँझ–बिहानको समयमा मात्र फूलखेती गर्ने गरेको रोकाले बताए । “हामी अन्य पेसा गरिराखेका छौं, फूलखेतीलाई नै व्यवसायका रूपमा अगाडि बढाएका छैनौं,” रोकाले भने ।
खेर गएको समय तथा खेर गएको जमिनको सदुपयोग गर्नका लागि आफूहरूले फूलखेती गरेको रायन बूढाले बताए । “बचेको समयलाई सदुपयोग गर्नुपर्छ भनेर हामीले फूलखेती गरेका हौं,” बूढाले भने । पछिल्लो समयमा जिल्लामा खेती नगरी जमिन खाली हुँदै उनको भनाइ छ । “सबै कुरामा परनिर्भर नभई आत्मनिर्भर बन्नुपर्छ भन्ने उद्देश्यले फूल खेती बढाउँदै लगेका हौं,” बूढाले भने ।
जिल्लामा फूल उत्पादन नभएपछि बाहिरबाट ल्याउनुपर्दा रकमसमेत बाहिरिने गरेको उनको भनाइ छ । खेती गरेपछि जिल्लामै फूल प्राप्त गर्न सकिनेछ । त्यसै गरेर रोजगारीको समेत सिर्जना हुने उनले बताए । यसका लागि राज्यले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ । उनीहरूले गत वर्षको तिहारमा प्रतिमाला १ सय ५० रुपैयाँसम्म बिक्री गरेका थिए ।
दाङ फूल खेतीका लागि उपयुक्त रहेको कृषि विज्ञ पीताम्बर बस्नेत बताउँछन् । यहाँ फूलका लागि उपयुक्त वातावरण छ । यसैले जिल्लाभर व्यावसायिक फूलखेती अगाडि बढाउनु आवश्यक छ । धार्मिक तथा शोभाका हिसाबले पनि फूलको प्रयोग गरिन्छ । चार्डपर्वको समयमा बाहेक धार्मिक तथा घर सजावटका लागिसमेत फूल प्रयोग हुन्छ । हजारी मात्र नभई सबै फूलका लागि उपयुक्त हावापानी पाइने भएकाले व्यावसायिक खेतीको सम्भावना छ ।
अमरराज आचार्य

प्रतिक्रिया दिनुहोस्