आईसिटी अवार्ड २०२० को चार विधामा उत्कृष्ट १२ छानिए, अन्य विधाको छनोट प्रक्रिया जारी

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२० संस्करणको छनौट प्रक्रिया जारी रहेको छ । १४ जनाको जुरी समितिले दोस्रो चरणमा विभिन्न चार विधाहरूको नतिजा सार्वजनिक गरेको छ ।
स्टार्टअप आईसिटी अवार्ड २०२० र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० विधामा उत्कृट १२ तेस्रो चरणको छनौटका लागि प्रवेश गरेका छन् । त्यसैगरी प्रडक्ट आईसिटी अवार्ड २०२० को विधामा उत्कृट १३ प्रडक्टहरू तेस्रो चरणको छनौटमा प्रवेश गरेका छन् भने इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० मा उत्कृष्ट १४ इन्नोभेसनहरू तेस्रो चरणको छनौटमा प्रवेश गरेका छन् ।
पाँचौं संस्करणको आइसिटी अवार्ड २०२० मा ११ विधाका लागि अनलाइन आवेदन खुला गरिएको थियो । विभिन्न ११ विधामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जानकारी दिएको छ । भदौ अन्तिम सातादेखि सुरु भएको छनौट प्रक्रिया जारी रहेको छ । अन्य ७ विधामा उत्कृष्ट ७ हुँदै उत्कृष्ट ३ को छनौट गरेर सर्वोत्कृष्टको छनौट गरिने जुरी समितिका सुशील पोखरेलले बताए । आईसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले यस वर्ष डिसेम्बर पहिलो हप्ता आयोजना गरिने बताइएको छ ।
दोस्रो चरणबाट छनौट भएका उत्कृष्ट स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनहरूले तेस्रो चरणको छनौटको लागि १४ जना जुरी समक्ष प्रिजेन्टेशन तथा स्पिड डेडिङ सेसनमा भाग लिनुपर्ने हुन्छ । उक्त सेसनबाट छनौट भएका उत्कृट ५ पब्लिक भोटिङको लागि छनौट हुनेछन् । पब्लिक भोटिङसँगै स्टार्टअप कम्पनीहरू फिल्ड भिजिट पनि सञ्चालन गरिने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए ।
अवार्ड निष्पक्ष र उत्कृष्ट बनाउन १२ जना बढीको विशिष्ट जुरी सल्लाहकार समिति समेत रहेको छ ।
लिभिङ विथ आईसिटीले आयोजना गरेको आइसिटी अवार्ड २०२० मा नेपाल सरकारका विभिन्न निकायहरू, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, जिनस सोलुसन, इमिनेन्स वेज, ई–सेवा लगायतका संस्थाहरूको सहयोग रहेको छ ।