Logo

पुरानै विमानस्थलको स्तरोन्नति पहिलो प्राथमिकता : भट्टराई

विराटनगर-संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नयाँ विमानस्थल बनाउने भन्दा पुरानै विमानस्थलको स्तरोन्नति गरी व्यवस्थित बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताएका छन् ।
विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री भट्टराईले अन्य यातायातका सुविधा नपुगेका विकट ठाउँबाहेक अन्य स्थानमा अहिले नयाँ विमानस्थल बनाउने योजना नरहेको उल्लेख गरे । मुलुकमा रहेका ५५ विमानस्थलमध्ये ३६ वटामा कालोपत्रे गरिसकेको बताउँदै उनले भने, “अन्य विमानस्थल थप्नेभन्दा पनि भएका विमानस्थललाई सुविधा सम्पन्न बनाउने र नियमित उडान गर्ने सरकारको योजना छ ।”
विमानस्थल बनाउँदा सरकारले तीनवटा प्राथमिकता निर्धारण गरेको उनको कथन थियो । कुनै पनि यातायातको सुविधा नभएको विकट स्थानमा सरकारले नाफा–घाटा नहेरी विमानस्थल बनाउने उनले बताए । “विकट स्थानमा सरकारले नाफा–घाटा नहेरी विमानस्थल बनाउँछ,” उनले थपे, “त्यो सरकारको दायित्व पनि हो । आफ्नो दायित्वबाट सरकार कहिल्यै पनि पछि हट्दै र हट्नु पनि हुन्न ।” मन्त्री भट्टराईका अनुसार पर्यटनको सम्भावना भएको स्थानलाई सरकारले दोस्रो प्राथमिकतामा राखेको सुनाए । उनले दैनिक ६०–७० वा त्यहाँभन्दा बढी उडान हुने स्थानमा सरकारले विमानस्थल बनाउन लगानी गर्ने सुनाए ।
“पर्यटनको सम्भावना भएको स्थानमा सरकारले धेरै नसोची लगानी गर्छ,” मन्त्री भट्टराईले भने, “जहाँ दैनिक सयौं पर्यटक आउँछन् । जसबाट पर्यटन व्यवसाय फस्टाउँछ र त्यसबाट राज्यलाई ठूलो फाइदा पुग्छ ।” उनका अनुसार तेस्रो प्राथमिकताका रूपमा सरकारले व्यावसायिक उडान हुने क्षेत्रमा लगानी गर्नेछ । जुन विमानस्थलबाट यात्रु मात्रै नभएर मालसामान पनि ओसारपसार हुने प्रचुर सम्भावना छ त्यस क्षेत्रमा विमानस्थलमा सरकारले लगानी गर्ने उनले सुनाए । अब विगतको जस्तो हचुवाका भरमा विमानस्थल बनाउने पक्षमा सरकार नभएको मन्त्री भट्टराईले प्रस्ट्याए ।
पर्यटनबाट नेपालको आर्थिक समृद्धि सम्भव रहेको चर्चा गर्दै भट्टराईले कोभिडले केही असर पुगेको बताए । तर, व्यवसायीहरूलाई नआत्तिन उनले ढाडससमेत दिए । “सन् २०२० मा कमाउनेतिर भन्दा बाँच्नेतिर ध्यान दिऔं,” उनले भने, “अहिले जेनतेन बाँचौं त्यसपछि पर्यटन क्षेत्रले व्यवसायीलाई मात्रै होइन देशलाई समृद्ध बनाउनेछ ।” उनले जनसंख्यासहित ठूलो अर्थतन्त्र भएका दुई छिमेकी मुलुकका पर्यटकलाई भित्र्याउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । वार्षिक ७ करोडभन्दा बढी भारतीय विदेश घुम्न निस्किने गरेको दृष्टान्त प्रस्तुत गर्दै मन्त्री भट्टराईले भने, “पहिला छिमेकी मुलुकका पर्यटकलाई भित्र्याऔं त्यसपछि युरोप र अमेरिका पर्यटकलाई भित्र्याउँला । हामी चन्द्रमाको उज्यालोलाई बेवास्ता गर्दै ताराको उज्यालो खोज्दै हिंडिरहेछौं ।”

प्रतिक्रिया दिनुहोस्