अलैंची भित्र्याउन किसानलाई चटारो «

अलैंची भित्र्याउन किसानलाई चटारो

तेह्रथुम-पूर्वी पहाडी जिल्लाका किसानलाई अलैंची भित्र्याउने चटारो सुरु भएको छ । नजिकिँदै गरेका ठूला पर्वहरुका लागि खर्च जुटाउने समयमै सकसानले अलैंची बिक्री गर्ने गरेका छन् । मूल्यमा गिरावट आएपनि यसवर्ष राम्रो भाउ पाउने आसमा यतिबेला किसानहरु अलैंची संकलनमा व्यस्त छन् । तेह्रथुमको धेरै जसो क्षेत्रमा किसानले अलैंची खेती गर्दै आएका छन् । केही वर्षअघि १ लाख ५ हजार रुपैयाँसम्म प्रतिमन पुगेको अलैंचीको मूल्य खस्किँदा किसान निरास भएका थिए । थोरै लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले पनि किसानहरुले अलैंची खेती नै रोजेको हुन् । वैदेसिक रोजगारका लागि विभिन्न मुलुकहरुमा गरेको श्रम गाउँमै गरे राम्रो आम्दानी हुने सोचका साथ अलैंची खेती सुरु गरेको छथर गाउँपालिका–६ का कमल मगरले बताए ।
कम लगानीका धेरै आम्दानी लिन सकिने अलैंचीको मूल्यमा गिरावट आएपनि खेती बिस्तार गर्ने क्रम रोकेका छैन । मूल्य राम्रो नभएकाले सोचे जस्तो आम्दामी लिन नसकेपनि अन्नबाली भन्दा राम्रो आम्दानी भएको मगरले बताए ।
किसानहरुले पाखो बारीदेखि करेसाबारीसम्म अलैंची खेती लगाउँदै आएका छन् । खाली जमिन तथा ओसिलो ठाउँमा खेतीलाई बिस्तार गर्दै आएको किसानहरुले बताउने गरेका छन् । यहाँका अलैंची किसानले ५ देखि ५० रोपनी क्षेत्रफलमा खेती गर्दै आएको र अन्नबाली भन्दा राम्रो आम्दानी भएकाले अलैंची खेती नै रोजेको छथर ६ सुदापका किसान जिवन मगर बताउँछन् ।
७ सय २३ हेक्टर क्षेत्रफलमा अलैंचीको खेती गर्दै आएका किसानहरुको समस्या समाधनका लागि सरकारले गुणस्तर निर्धारण गरी बजार व्यवस्थापन गर्न सके मात्र आफूहरुलाई राहात मिल्ने किसान नारायण लिम्बुले बताए ।
यतिबेला बजारमा २८ देखि ३२ हजार रुपैयाँसम्म प्रतिमन खरिद बिक्री हुँदै आएको व्यापारीहरुले बताउने गरेका छन् । जिल्लाको ईवा, ह्वाकु, संग्रान्ती, खाम्लालुङ, सम्दु, ईसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती, सोल्मा, बसन्तपुरलगायतका स्थानमा अलैंची खेती किसानहरुले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्