उद्योगलाई बिजुली व्यवस्थापन «

उद्योगलाई बिजुली व्यवस्थापन

उत्पादन लागत कम गर्नका लागि पनि विद्युत्को सहज र निरन्तर आपूर्ति हुनु आवश्यक छ ।
देशमा औद्योगिक विकासको अवस्था निकै सुस्त छ । औद्योगिक विकास कमजोर हुँदा त्यसले रोजगारी सिर्जनादेखि आर्थिक विस्तारमा समेत असर पार्दै लगेको छ । औद्योगिक विकास किन भएन भनेर खोज्ने हो, दर्जनौं कारकहरू देखा पर्छन् । उद्योगी–व्यवसायी र आमलगानीकर्ताहरूले जहिले पनि लगानीको वातावरण नै नभएको गुनासो गर्ने गरेका छन्, त्यस्तो वातावरणभित्र पूर्वाधारदेखि वित्त पहुँचसम्म पर्छ । डुइङ बिजनेस प्रतिवेदनले नेपालमा राजनीतिक स्थिरतासँगै व्यावसायिक वातावरणमा पनि सुधार हुँदै गएको देखाए पनि अझै आधारभूत पूर्वाधारमा नै समस्या छ । उद्योगका लागि चाहिने आधारभूत पूर्वाधार भनेकै यातायातको पहुँच, विद्युत् र पानीको पर्याप्त उपलब्धता हो । यी तीन पूर्वाधार पुगेका ठाउँमा उद्योगीहरूले सहजै उद्योग स्थापना गर्छन् । सरकारले ११ स्थानमा औद्योगिक क्षेत्रहरूको निर्माणपछि औद्योगिक पूर्वाधार पनि बनिसकेको दाबी गर्ने गर्छ, यसै क्रममा अब सातै प्रदेशमा थप औद्योगिक क्षेत्र बनाउने भाषण पनि गर्दै आइएको छ । तर सबै उद्योगीहरू विभिन्न कारणहरूले औद्योगिक क्षेत्रभित्र जाँदैनन्, जान चाहँदैनन् । फरक–फरक प्रकृतिका उद्योगहरूले आफ्नै छुट्टै स्वायत्त औद्योगिक परिसर खडा गरी उत्पादन गर्दै आएका छन् । त्यसैले सरकारले सही अर्थमा औद्योगिक पूर्वाधार सिर्जना गर्ने हो भने औद्योगिक क्षेत्रभित्र रहेका मात्र होइन, त्यसभन्दा बाहिर रहेका उद्योगहरूका लागि पनि आधारभूत पूर्वाधारको प्रत्याभूति गराउनुपर्छ । देशमा रोजगारी सिर्जना गर्ने, राजस्वमा योगदान गर्ने, कच्चा पदार्थको परिचालन गरी अर्थतन्त्रमा मूल्य अभिवृद्धि सिर्जना गर्ने सबै उद्योगहरूका लागि सरकारले समान व्यवहार गर्नु आवश्यक छ ।
देशभित्र बढ्दो पूर्वाधार आवश्यकताका कारण यहाँ निर्माणजन्य उद्योगहरूको संख्या निरन्तर बढ्दो छ । अहिलेसम्म सुस्त रहेको पुनर्निर्माण मात्र होइन, अबको नयाँ निर्माणका लागि समेत सिमेन्ट, फलामे छड, कंक्रिट, इँटा, काठपातलगायतका उत्पादनहरूको माग बढ्दै जानेछ । यदि आन्तरिक उत्पादनले माग धान्न सकेन भने विदेशबाट समेत यी वस्तुहरू आयात गरेर माग गर्नुपर्ने हुन्छ । अहिले नै पनि निर्माण सामग्रीहरूको आयात उच्च छ । यस्तो आयातका कारण देशको व्यापारघाटा पनि चुलिन थालेको छ । यो अवस्थामा तत्कालै कमी आउनेसक्ने सम्भावना पनि छैन, किनकि यस्ता वस्तुको माग आउँदा दिनमा घट्नेभन्दा अझ बढ्दै जानेछ ।
उच्च माग र व्यापार घाटालाई सम्बोधन गर्ने एकै उपाय हो, आन्तरिक उत्पादन बढाउने । यसका लागि बढीभन्दा बढी उत्पादनमूलक उद्योगहरू स्थापना हुनुपर्ने र भएका उद्योगहरू सुचारु रुपमा सञ्चालन हुनुपर्ने हुन्छ । देशमा आत्मनिर्भर बन्ने बाटोतर्फ अग्रसर उद्योगहरूमध्ये रहेको सिमेन्ट उत्पादनका लागि पर्याप्त विद्युत्को प्रबन्ध गर्न नसकिएको चिन्तालाग्दो समाचार प्रकाशमा आएको छ । आफ्नै महँगो इन्धन स्रोतबाट ऊर्जा उत्पादन गरी सिमेन्टजन्य उत्पादन गर्दा त्यसले उत्पादित वस्तुको लागत बढाउनु स्वाभाविक हो । उत्पादन लागत कम गर्नका लागि पनि विद्युत्को सहज र निरन्तर आपूर्ति हुनु आवश्यक छ । सिमेन्ट उत्पादनका लागि एकैनासले निरन्तर विद्युत् आपूर्ति हुन सकेन भने त्यसबाट भट्टी तात्न नसकी उत्पादन प्रक्रियामा पनि असर पार्ने भएकाले उद्योगीहरूले गुणस्तरीय विद्युत् आपूर्तिका माग गर्दै आएका छन् । जसरी अहिले विद्युत् व्यवस्थापनका ‘घिसिङ फर्मूला’ प्रयोग गरेर देशभरि लोडसेडिङ न्यून गरिएको छ, त्यसरी नै उद्योगहरूमा गुणस्तरीय विद्युत् आपूर्तिमा ध्यान दिनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्