प्रदेश–५ को राजधानी देउखुरी उपत्यका, नाम लुम्बिनी «

प्रदेश–५ को राजधानी देउखुरी उपत्यका, नाम लुम्बिनी

भैरहवा-प्रदेश नम्बर ५ को स्थायी राजधानी र नाम तोकिएको छ । प्रदेश सभाको मंगलबारको बैठकबाट बहुमतका आधारमा प्रदेशको राजधानी र नाम तोकिएको हो ।
अब प्रदेशको राजधानी दाङको देउखुरी उपत्यका हुनेछ भने नाम लुम्बिनी राखिएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले प्रदेश सभामा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी राखियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा सो प्रस्तावमा मत विभाजन गराइै दुई तिहाइबाट नाम र स्थायी राजधानी टुंगो लागेको घोषणा गरेका थिए ।
स्थायी राजधानी दुई तिहाइ र प्रदेशको नाम दुई तिहाइभन्दा बढी मतले पारित भएको छ । सभामा सुरुमा प्रदेश राजधानी देउखुरी बनाउने प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो । सो प्रस्तावको पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत परेको थियो । कुल ८७ सदस्यीय प्रदेशसभामा प्रदेश केन्द्रको मतविभाजनमा ८२ सांसद सहभागी थिए । देउखुरीको पक्षमा परेको ६९ मत प्रदेशसभाको दुई तिहाइ मत हो ।
त्यस्तै, प्रदेशको नाम लुम्बिनीको पक्षमा प्रदेश केन्द्रको पक्षमा भन्दा धेरै मत परेको छ । प्रदेशको नाम लुम्बीनी राख्ने प्रस्तावको मतविभाजन हुँदा ८३ सांसद सहभागी थिए । जसमध्ये ७९ मत लुम्बिनीको पक्षमा र ४ मत विपक्षमा परेको थियो ।
प्रदेशको नाम र स्थायी राजधानी तय भएसँगै प्रदेश सभाको संसद अधिवेशन पनि अन्त्य भएको छ । प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख घर्तीले मंगलबार राति १२ बजेबाट प्रदेश सभाको चालु अधिवेशन अन्त्य हुने घोषणा गरेका थिए ।
सोमबार कानुनमन्त्री केसीले प्रदेशको स्थायी राजधानकिो प्रस्ताव पेश गर्दा संसदमा कांग्रेस सांसदहरुले तोडफोड गरेका थिए । कानुनमन्त्री केसीले विरोध गरिरहेका सांसदहरुलाई घिसारेर निकाल्न मर्यादापलकलाई निर्देशन दिएको भन्दै आलोचना भएको थियो ।
०७४ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई प्रदेश ५ को अस्थायी राजधानी तोकेको थियो । कांग्रेस र जनता समाजवादी पार्टीका अधिकांश सांसदहरु रुपन्देही नै स्थायी राजधानी बनाउनुपर्ने पक्षमा थिए ।

भालुवाङले प्रदेशको साझा प्रतिनिधित्व गर्छ : मुख्यमन्त्री
प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रस्तावित राजधानी अर्घाखाँची र दाङ क्षेत्रलाई समेटेर प्रस्तावित भालुवाङ क्षेत्रले सिङ्गो प्रदेशको साझा मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने बताएका छन् ।
प्रदेशसभाको मंगलबारको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले प्रस्ताव गरेको राजधानी दाङ जिल्ला मात्रै नभएर लुम्बिनी र राप्ती अञ्चलको मनोविज्ञानलाई जोड्ने स्थानमा प्रस्ताव गरिएको स्पष्ट पारे । प्रदेशको राजधानी प्रस्तावित क्षेत्र राप्ती नदीले चर्चेको किनारले साबिक लुम्बिनी र राप्ती अञ्चल छोएको जानकारी दिँदै उनले भने, “यसले भेरीका बाँके र बर्दियाको मनोभाव र विकासलाई समेत समेट्छ ।”
मुख्यमन्त्री पोखरेलले सरकारले प्रस्ताव गरेको राजधानी र नामकरणको प्रस्ताव संसद्ले गठन गरेको विशेष समितिको सिफारिसकै आधारमा गरिएको समेत स्पष्ट पारे । उनले प्रदेशका १२ जिल्लाका जनताको विकास र समृद्धिको चाहनाअनुरुप सरकारले प्रस्ताव ल्याएको समेत बताए । मुख्यमन्त्री पोखरेलले कहाँ राजधानी बनाउने होइन कस्तो राजधानी बनाउने भन्ने कुरामा आधारमा राजधानीको प्रस्ताव गरिएको बताउँदै भने, “प्रदेश ५ समृद्ध बनाउन सक्दा मुलुक नै समृद्ध बन्ने छ ।”
मुख्यमन्त्री पोखरेलले नमूना व्यवस्थित शहर बनाउने योजनाअनुसार प्रदेश राजधानी तोकिएको बताए । “सुदूरपश्चिम प्रदेशमा बाहेक अन्य प्रदेशमा अहिले प्रदेश राजधानीका संरचना निर्माण गर्ने पर्याप्त जग्गा नपाएको गुनासा सुन्न पाइन्छ,” उनले भने, “प्रदेश नं ५ मा आगामी दुई वर्षभित्र प्रस्तावित राजधानीको क्षेत्रमा राजधानी तोक्नका लागि तोक्ने र त्यसपछि सुतेर बस्ने हैन काम गर्नेछौँ ।”
उनले आफूलाई प्रदेश राजधानी आफ्नो ठाउँमा लग्यो भन्ने आरोपको खण्डन गर्दै भने, “मुख्यमन्त्रीको गाउँबाट भालुवाङ पुग्न र बुटवलबाट भालुवाङ पुग्न पनि उत्तिकै समय लाग्छ, मैले मेरो होइन प्रदेशको स्वार्थ हेरेको हुँ ।” उनले राजधानी सारिएकामा लुम्बिनी क्षेत्रका जनताले मन दुखाउनुपर्ने आवश्यकता नरहेको बताउँदै रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानीका रुपमा अगाडि बढाउने प्रदेश सरकारको योजना रहेको स्पष्ट पारे ।
मुुख्यमन्त्री पोखरेलले बाँके र बर्दियाबाट हरित क्रान्तिको शुरुआत गर्ने सम्भावना रहेको उल्लेख गर्दै राप्ती नदीको सिक्टा र भेरी बबई डाइभर्सनको काम पूरा हुँदा बाँके बर्दियालाई हरित क्रान्तिमा कसैले रोक्न नसक्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्