खानीडाँडा विमानस्थल संकटमा «

खानीडाँडा विमानस्थल संकटमा

खोटाङ-वर्षायाममा पहिरोले चारैतिरबाट तानेपछि खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल संकटमा परेको छ । जिल्लावासीको गौरव विमानस्थल पछिल्लो समय प्राधिकरण र निर्माण उपभोक्ता समितिले व्यवस्थापनमा ध्यान नदिँदा अस्तित्व संकटमा गरेको हो ।
गत जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको डिलको माटो कटान सुरु भए पनि यसको स्थायी रोकथामका लागि हालसम्म कसैको ध्यान गएको छैन । वर्षायाममा विमानस्थलमा पस्ने भलबाढीलाई व्यवस्थापन नगर्दा चारैतिरबाट भल पसेर विमानस्थल पहिरोको रूपमा परिणत भएर अस्तित्व हराउँदै गएको स्थानीयवासीको भनाइ छ ।
सदरमुकाम दिक्तेलनजिक रहेको खानीडाँडा विमानस्थल चिरा–चिरा हुँदासम्म प्राधिकरणले हालसम्म चासो नदेखाउँदा बेकम्मा बन्ने स्थितिमा पुगेको हो । माटो कटान हुँदा जोखिममा परेको विमानस्थल मर्मतका लागि बजेट विनियोजन भए पनि प्राधिकरणले हालसम्म काम गर्ने चासो देखाएको छैन ।
विमानस्थलमा टेवा पर्खाल र तार जाली निर्माणका लागि भ्याटबाहेक ७० लाख र ‘मेन्टेनेन्स’ का लागि पनि बजेट विनियोजन भइसकेको नेपाल नागरिक उड्ड्यान प्राधिकरणले जानकारी दिएको छ । भ्याटबाहेक २४ लाख खानेपानी व्यवस्थापनका लागि विनियोजन भएको छ । तर कामको प्रगतिका बारेमा इन्जिनियरबाट रिपोर्ट लिन बाँकी रहेकाले कामको प्रगति बताउन गाह्रो भएको प्राधिकरणले जनाएको छ ।
मनमाया राई खानीडाडाँ विमानस्थल निर्माण उपभोक्ता समिति अध्यक्ष दुर्गा घिमिरे प्रशस्त जग्गा हुँदाहुँदै इन्जिनियरको गलत स्टिमेट र प्राविधिक त्रुटिका कारण विमानस्थल बनाइँदा बारम्बार पहिरोले तान्ने र बर्सेनि लाखौँ खर्च हुने भन्दै ढुक्क बसेका छन् । उनले पनि विमानस्थल मर्मतमा खासै चासो देखाएका छैनन् ।
नागरिक उड्ड्यान प्राधिकरण अन्तर्गतको सम्पत्ति भएकाले प्राधिकरणले यस विमानस्थलाई चासो नराखेको जिल्लास्थित सरोकारवालाको भनाइ छ ।
दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–४ खाल्लेमा अवस्थित विमानस्थलको रन–वेमा भरिएर किनाराबाट निकास भएको भलपानीका कारण विमानस्थलको १०÷१५ मिटर डिल भासिनुका साथै फिलिङ माटो बगेको थियो । कटानका कारण विमानस्थलको रन–वेभन्दा २÷३ मिटर नजिकसम्मको भाग भासिए पनि थुनिएको ड्रेन खुलाउनमा हालसम्म कसैको ध्यान पुग्न सकेको छैन । जमिन भिजेर माथिबाट खसेको स्ल्याबले ड्रेनको मुख थुनिँदा रन–वेमाथिबाटै निकासा भएको पानीले विमानस्थलको दक्षिणतर्फका डिल कटान गरेको छ । थुनिएको कल्भर्ट खोल्न नेपाल नागरिक उड्ड्यान प्राधिकरणको चासो नपुग्दा थप क्षति हुने खतरा बढेको छ ।
स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गामा २०६० वैशाख २० गतेबाट निर्माण सुरु गरिएको विमानस्थलमा २०६२ सालमा नेपाल एयरलाइन्सले परीक्षण उडान भरेको थियो । जिल्लाका लामीडाँडा, थामखर्कसहित तीनवटा विमानस्थलमध्ये दूरीका हिसाबले खानीडाँडा विमानस्थल सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्छ ।
स्थानीयको १५ करोड बढी श्रमदान तथा नेपाल नागरिक उड्ड्यान प्राधिकरणको ७ करोड २४ हजार लागतमा निर्माण सम्पन्न ५९० मिटर लम्बाइ र २० मिटर चौडाइ धावनमार्गको बीचभाग करिब सय मिटर चर्किएको छ ।
यीमध्ये दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थमा कालोपत्रेको काम भइरहेको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण काममा सुस्तता रहेको पाइएको छ । थामखर्क विमानस्थलमा लामो समयदेखि उडान अवरुद्ध छ । नेपाल नागरिक उड्ययन प्राधिकरणको ९ करोड ३८ लाख ६८ हजार ७ सय रुपैयाँ सहयोगमा कालोपत्रे गर्ने काम रौता कन्ट्रक्सन कम्पनीले जिम्मा लिएको भए पनि कम्पनीले ढिलासुस्ती गरेको छ ।
०७३ माघ महिनादेखि गत असार मसान्तसम्म दुई वर्षभित्रमा सञ्चालनमा ल्याउने गरी कालोपत्रेको काम सुरु गरेको कम्पनीले हालसम्म ५० प्रतिशत पनि काम गरेको छैन ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलको पनि कालोपत्रेको काम भइरहेको छ । २०२८ सालदेखि सञ्चालनमा आएको विमानस्थल कालोपत्रेका लागि प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार ८०९ रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्