टुरिष्ट बसको टिकट अनलाइनमार्फत बुकिङ्ग गर्न सकिने

नेपालमा नै पहिलो पटक टुरिष्ट यातायात व्यवसायीहरुले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायात सेवाको टिकट उपलब्ध गराउने भएका छन् ।
टुरिष्ट बस एसोसिएसन अफ नेपाल(टिबान)ले आफ्ना सम्पूर्ण बसहरुको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (ईसीआरसी) प्रालिसँग सम्झौता गरेको छ ।
एसोसिएसनले ईसीआरसीसँगको सम्झौतापछि आफ्ना नेपालभर सञ्चालन हुने टुरिष्ट बसहरुको टिकट अनलाइनमार्फत नै बुकिङ गरी बिक्री गर्न सक्नेछ । टिबानका अध्यक्ष ईश्वरप्रसाद उपाध्याय तथा ईसीआरसीका अध्यक्ष सञ्जित पौडेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि टिबानमा आवद्ध कम्पनीका पर्यटन सार्वजनिक यातायातको रुपमा सञ्चालनमा रहेका सवारी साधनहरुको टिकट अनलाइन तथा एपबाटै बुकिङ्ग गर्न सकिनेछ ।
पछिल्लो दिनमा कोभिड–१९ को महामारीले नेपालको पर्यटन सेवा संकटग्रस्त भएको सन्दर्भमा यात्रुहरुलाई सुरक्षित र सहजरुपमा पर्यटन सार्वजनिक यातायातका साधनहरु उपलब्ध गराउने यो सम्झौता भएको हो । सम्झौताअनुसार दसैंको लागि टिबानका पर्यटक सार्वजनिक यातायातका साधनहरुको अग्रिम बुकिङ्ग अनलाइन सिस्टममार्फत सुरु गरिनेछ ।
सुरुवाती चरणमा पर्यटक सार्वजनिक यातायातको सेवा काठमाडौंदेखि पोखरा, नारायणघाट, लुम्बिनी, जनकपुरमा उपलब्ध हुनेछ भने क्रमशः अन्य शहरहरुमा पनि सेवा बिस्तार गरिनेछ ।