अमरगढीका मेयरलाई सर्वोच्चको कारण देखाउ आदेश «

अमरगढीका मेयरलाई सर्वोच्चको कारण देखाउ आदेश

सडक विस्तारमा समस्या
डडेल्धुरा
-सर्वोच्च अदालतले अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझासहितका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मेयर ओझासहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय, नगर कार्यपालिकाको कार्यालय र डिभिजन सडक कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्कीलगायतका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
अमरगढी नगरपालिका–५ बस्ने दीपकराज पन्तले डडेल्धुरा सदरमुकाममा सडक विस्तार गर्दा अदालतको फैसलाविपरीत सडक क्षेत्रमा घरजग्गा रहेका सर्वसाधारणलाई मुआब्जा नदिई सडक विस्तार गर्न थालिएकाले अदालतको मानहानी भएको ठहर गर्दै असोज ८ गते सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । सो निवेदनका सन्दर्भमा आइतबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएकोे अधिवक्ता भेषराज पन्तले जानकारी दिए ।
भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडक खन्ड साँघुरो भएकाले यातायात सेवा सञ्चालनमा कठिनाइ भइरहेको भन्दै अमरगढी नगरपालिकाको सिफारिसमा डिभिजन सडक कार्यालय कुलपाते डोटीले सडक विस्तार गर्न दोस्रो पटक टेण्डर आह्वान गरेको थियो । आइतबार नै डिभिजन सडक कार्यालयले दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै टेण्डर स्थगित गरेको डिभिजन प्रमुख कार्कीले जानकारी दिए ।
डिभिजन सडक कार्यालय कुलपातेले डडेल्धुरा सदरमुकाम क्षेत्र बागबजारदेखि कीर्तिपुरसम्म राजमार्गको दायाँबायाँ १५÷१५ मिटर फराकिलो गर्नका लागि ४४ करोड बजेट विनियोजन गर्दै पहिलो पटक गत जेठ ८ गते टेन्डर आह्वान गरेको थियो । मुआब्जासम्बन्धी विवादका कारण सो टेण्डर प्रक्रिया गत भदौ ३ गते स्थगित गरिएको थियो । पहिलो पटक स्थगित गरिएको टेन्डर पुनः आह्वान गरिए पनि आइतबार पुनः स्थगित भएको छ ।
सदरमुकाम क्षेत्रमा सडक साँघुरो भएकाले विस्तार गर्न अमरगढी नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र पर्ने जमिनको नापजाँच गर्न गतभदौ २४ गतेदेखि प्राविधिक टोली खटाएर काम थालेको र स्थानीय केही व्यक्तिले नापजाँच गर्ने कार्यमा समेत अवरोध पु¥याएको अमरगढी नगरपालिकाले जनाएको छ । नगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका टहरा हटाउनका लागि सातदिने सूचना प्रकाशित गरेको भए पनि हटाउन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको हिलस्टेसनका रुपमा डडेल्धुरा सदरमुकामलाई विकास गर्न आवश्यक रहेकाले सडक विस्तार गर्न आवश्यक भएको नगरप्रमुख ओझाले बताए । उनले सडक विस्तार कार्यमा अवरोध पु¥याउन मुद्दा दर्ता गरिएको दाबी गरे । “हामीले अदालतको मानहानी गरेका होइनौं,” उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “पटकपटक अदालतमा मुद्दा दिएर विकासका काम अवरुद्ध गर्ने प्रयास भइरहेको छ ।” सर्वोच्च अदालतमा निवेदन परेपछि दोस्रोपटक आह्वान गरिएको टेन्डर स्थगित गरेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले भने प्रावधिक कारणले रद्द गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्