आफ्नै गाउँ आउन–जान दैनिक दुई सय «

आफ्नै गाउँ आउन–जान दैनिक दुई सय

कञ्चनपुरको लालझाडी गाउँपालिका स्थित दोदा नदीमा ट्युव मार्फत मोटरसाइकल तार्दै ।

महेन्द्रनगर-कञ्चनपुरको गाउँपालिका–४ का लोकेन्द्र रानाले लालझाडीमा बसोवास गरेको दशकौं बितिसक्यो । सुगम जिल्लाको दुर्गम गाउँपालिका भनेर चिनिने लालझाडीमा रानाले आधा उमेर कटाइसके । तर, राना गाउँबाहिर जान दैनिक दुई सय रुपैयाँ तिरेर जान्छन् र फर्किंदा पनि दुई सय रुपैयाँ नै तिर्ने गर्दछन् । उनले यसैगरी पैसा तिरेर आउने जाने गरेको धेरै समय भयो । गाउँको किनारमा बहने दोदा नदीका कारणले उनी गाउँबाहिर जानसमेत पैसा तिर्नुपर्ने अवस्थामा रहेका हुन् । उनीमात्र होइन, गाउँका सबैलाई आफ्नै घर आउजाऊ गर्न पैसा तिर्नुपर्ने बाध्यता छ । किनकी जिल्ला तराई भए पनि लालझाडीको किनार भएर बहने दोदा नदीमा विगत लामो समयदेखि पुल निर्माण हुन सकेको छैन ।
“हिउँदमा नदीमा पानी कम हुन्छ, पानी कम भए पनि दुई सय तिरेर त जान सकिन्छ,” उनले भने, “वर्षात्मा यत्रो नदी तरेर वारिपारि जान सम्भावना पनि हँुदैन ।” राना त केवल प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै दोदा नदी वारिपारि बस्ने अधिकांश स्थानीय वर्षात्मा गाउँबाहिर जान पाउँदैनन् । जिल्लाको वाणी–देखतभुली–पर्सिया जोड्ने सडक खण्डअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माण नहुँदा नदी आसपासका स्थानीय यसैगरी पीडित हुनुपर्ने बाध्यता छ । कोरोना भाइरसको प्रभाव पारेपछि गरिएको लकडाउनले थप चिन्तित बनाएको नदी किनारका बस्तीका स्थानियलाई आवतजावत गर्न पैसाको समेत अभाव हुने गरेको छ ।
“लकडाउनपछि दैनिक जीवन उस्तै अस्तव्यस्त भएको छ, रोजीरोटी तथा मजदुरी गर्न गाउँबाहिर जाँदा नदी तरेको नै दुई सय रुपैयाँ दिनुपर्छ,” स्थानीय लोकेन्द्र राना भन्छन्, “के खाउँ, के लाउँ भएको बेला नदी आवतजावत गर्ने पैसा पनि आफूसँग हुँदैन ।” दोदा नदीमा वारपार गर्न प्रतिसाइकलको २० रुपैयाँ र मोटरसाइकलको भने प्रतिमोटरसाइकल दुई सय रुपैयाँ तिनुपर्ने बाध्यता छ । वर्षात्को समयमा नदी आवतजावत गर्न नसकिने भए पनि हिँउदमा आएर पनि ट्युव मार्फत नदीको जोखिमपुर्ण यात्रा गनुपर्ने बाध्यता रहेको स्थानीय लोकेन्द्र रानाले बताए । हिउँदमा ट्युबमार्फत यात्रा गर्ने स्थानीयलाई वर्षात् लागेपछि भने निकै हैरानी हुने गर्दछ ।
सार्वजनिक सवारीसाधन नगुड्ने गाउँपालिकामा दोदा नदी भएर आवतजावत गर्ने १८ हजार जनसङ्ख्यालाई पुल नहुँदा समस्या हुने गरेको छ । “नदी भएर आवतजावत गर्ने देनिक चार ५ सय मानिस नदीको जोखिम मोलेर जाने गरेका छन् । गाउँमा राम्रो अस्पतालको सुविधा समेत छैन, रातिको समयमा कसैलाई अस्पताल लैजानु प¥यो भने पनि निकै समस्या हुन्छ, अध्यारो हुन्छ, नदीमा तरेर बिरामीलाई अस्पताल लैजानु पर्ने बाध्यता छ,” स्थानीय लाकेन्द्र रानाले भने । रातिको समयमा बिरामीलाई नदी तराउने क्रममा निकै जोखिम हुने गरेको उनले बताए । उनीजस्तै लालझाडी गाउँपालिका–४ कै भजना राना पनि बर्खामा नदी पारी जान सक्दैनन् । नदी पारपार गर्ने क्रममा कतिपयले भने ज्याननै गुमाउनु परेको अवस्था छ । अतिआवश्यकीय काम परेको अवस्थामा भने नदीमा ज्यानकै बाजी राखेर नदी पार गर्नुपर्ने बाध्यता भएको भजना रानाले बताए ।
“नदी पारपार गर्ने क्रममा यो नदीले तीन स्थानीयको ज्यान लगिसक्यो,” भजना रानाले भने, “वारिको स्थानीयले नदी पारि समेत खेती लगाएका छन्, खेतीपाती पारि गरिएको हुन्छ, कि ज्यान जोखिममा राखेर जानुप-यो, कि खेतबारी नै छोड्नु प-यो ।”
हिउँदमा ट्युबमार्फत यात्रा गरिने दोदा नदीमा वर्षात्को बेला भने नदी वारपार भएर बहने गर्दछ । वर्षात्को वेला नदी पारपार हुने भएकोले पनि स्थानीयलाई थप जोखिमको खतरा छ । “हिउँदभन्दा वर्षात्मा बढी खतरा हुन्छ, हामी त पौडी खेलेर वारपार गर्ने गर्छाैं,” उनी भन्छन्, “गर्भवती र सुत्केरी महिलालाई भने नदी तार्न समस्या हुन्छ ।” अस्पताल जान भनेर घरबाट हिडेका सुत्केरी तथा गर्भवती महिलाले बाटोबाटै फर्केर जानुपर्ने बाध्यता रहेको उनले बताए ।
ट्युबमार्फत नदी तार्ने छेउमै निर्माणाधीन पक्की पुल छ । तर, निर्माण कार्य भने केही वर्षदेखि अलपत्र छ । पक्की पुलको तीन पिलरमात्रै निर्माण भएका छन् । पुल निर्माणका लागि २०७२ पुस २६ मा २४ करोड ५३ लाखमा ठेक्का पनि लागेको थियो । तर, ठेकेदार लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग ठेक्का सम्झौता भएको अवधि २०७५ मै सकिँदा उनीहरू सम्पर्कमै छैनन् । ठेकेदारको लापबाहीले समयमै पुल निर्माण नहुँदा नदी भएर जोखिमपुर्ण यात्रा गर्ने स्थानीयलाई भने समस्या भएको छ । समयमै पुल नबन्दा स्थानीयलाई समस्या भएको लालझाडी–४ का घुम्मन रानाले बताए ।
“पुल निर्माण भएको पाँच वर्षभन्दा बढी भयो, अहिलेसम्म कहिले निर्माण सम्पन्न हुने ठेगान समेत छैन,” स्थानीय घुम्मन रानाले भने, “पुल निर्माण भए पनि जोखिमपूर्ण यात्रा सकिन्छ भन्ने लागेको थियो, पुल निर्माण अलपत्र छ ।” पुल निर्माण हुन्छ भनेर हर्षित भएका लालझाडीका स्थानीय पुल अलपत्र छोडिएपछि भने दुःखी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्