Logo

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आसलाग्दो प्रगति

विश्वव्यापी कोभिड–१९ को संक्रमण बढिरहेको अवस्थामा यसको असर नेपालमा पनि दिन–प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो समय यो भाइरसबाट उत्तर अमेरिका, दक्षिण अमेरिका तथा दक्षिण एसियाका देशहरूमा तीव्र रूपमा फैलिरहेको छ । करिब १० महिनाअघि चीनबाट सुरु भएको यो महामारीले विश्व जनमानसमा त्रासमय बनाएको छ । नेपालमा पनि यो भाइरस पत्ता लागेपछि करिब चार महिना लामो लकडाउन तथा त्यसपछि जिल्लामा निषेधाज्ञा लागू गरिए पनि दिनदिनै संक्रमणको दर वृद्धि हुँदै जाँदा त्यति प्रभावकारी देखिएन । पछिल्लो समय जनताको जीवनयापनलाई ध्यानमा राखी सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्दै सम्पूर्ण क्षेत्रहरू क्रमैसँग खुला भएका छन् ।
मुलुकले करिब चार महिना लामो लकडाउन भोगिरहेको अवस्थामा अधिकांश आयोजना कामदार अभावसँगै कोराना संक्रमणले पूर्ण रूपमा रोकिए । तर, राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भने कहिल्यै रोकिएन । निरन्तर काम सुचारु भइरहँदा करिब ९५ प्रतिशत काम सम्पन्न भएसँगै आयोजना अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको यो आयोजना सम्पन्न भएपछि मुलुकको आर्थिक विकास र समृद्धिमा महत्वपूर्ण टेवा पु-याउने विश्वास लिएको छ । मुलुकको एकमात्र पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो ट्राफिक जाम, घण्टौं जहाज आकाशमा फन्को मार्नुपर्ने बाध्यता तथा प्राकृतिक विपत्मा नजिकै जहाज डाइभर्ट गर्ने विमानस्थल नभएका कारण मुलुकमा अर्को अन्तर्राष्ट्रिय विमानस्थलको अति आवश्यकता खट्किएको अवस्थामा विमानस्थलको कामले तीव्रता पाउनुले आमनागरिकमा थोरै भए पनि आशाको किरण छाएको छ । यो आयोजनाको प्रगतिले रोकिएर बसेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई ठूलो चुनौती तथा प्रेरणाको स्रोत बन्न सक्छ । गौरवका आयोजना निर्माणका लागि यो आयोजना उदाहरणीय बनेको छ ।
खाडीमा पसिना बगाउन होस् या कोरिया, जापान, अमेरिका नै किन नहोस्; देशका अधिकांश ठाँउबाट जहाज चढ्न नागरिकहरू काठमाडौं आउनुपर्ने बाध्यता छ । यो विमानस्थल सञ्चालनमा आएपछि विदेश जान र फर्किन काठमाडौं आउनुपर्ने झन्झटबाट नागरिकहरूले केही हदसम्म मुक्ति पाउनेछन् । यसबाट काठमाडौंको बढ्दो चाप, फजुल खर्च र यात्रा सरल एवं सहज हुनेछ । त्यस्तै भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलले मुलुकले धार्मिक तथा पर्यटन क्षेत्रमा ठूलो फट्को मार्ने देखिन्छ । यो विमानस्थलबाट ठूलो संख्यामा बौद्ध धर्मावलम्बी भित्रिन सहयोग पुग्ने देखिन्छ र मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ । विमानस्थल निर्माणसँगै पर्यटकहरूको आवागमनलाई ध्यानमा राखी होटल, रेस्टुराँ, बाटोघाटो तथा नयाँ पर्यटकीय गन्तव्यहरूको वृद्धि–विकासमा विशेष ध्यान दिन जरुरी छ । बुद्धले जन्म लिएको लुम्बिनी जति सुन्दर छ त्यति नै यो ठाउँले नेपाललाई विश्वभरि भगवान् बुुद्धको नामले चिनाएको छ । यहाँको भौगोलिक बनावट र धार्मिक पर्यटकीय स्थलले भरिपूर्ण यो क्षेत्र भ्रमण गर्न आउने जोकोहीको मन लोभ-याउने गर्छ ।
देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको अहिलेको अवस्थामा आकाशमा हुने बढ्दो ट्राफिक जामलाई अन्त्य तथा दीर्घकालीन समाधानका लागि भोलिका दिनहरूमा सातवटै प्रदेशहरूमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूको अति आवश्यक रहेको छ, जसका लागि सरकारले यसबारे सूक्ष्म रूपमा अध्ययन–अनुसन्धान गर्न जरुरी भइसकेको छ । देशको सर्वाङ्गीण विकासका लागि अबको आवश्यकता भएको छ । त्यस्तै एसियाकै ठूलो क्षेत्रफलको विमानस्थल निजगढमा बनाउने घोषणा गरे पनि राजनीतिक तथा आर्थिक कारणहरूले निर्माणका काम अघि बढ्न सकेको छैन । यस्ता गौरवका आयोजना सञ्चालन नहुनु देश र जनताका लागि दुःखको कुरा हो । यो विमानस्थलमा रोकिएका कार्यहरू सञ्चालनका लागि सरकार तथा सम्बन्धित निकायको चाँडोभन्दा चाँडो ध्यान जाहोस् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई थोरै सहयोग गर्न गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले साथ दिए पनि मुलुकको उज्ज्वल भविष्यका लागि सातवटै प्रदेशहरूमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अबको आवश्यकता रहेको छ ।
सूर्योदय न.पा., इलाम; हाल : काठमाडौं

प्रतिक्रिया दिनुहोस्