विकासको परिभाषा र राजनीतिक दल «

विकासको परिभाषा र राजनीतिक दल

राजनीतिक प्रणाली तथा पात्रमात्र फेरिने, राजनीतिक संस्कारचाहिँ नफेरिने गरेका कारण देश अझै अल्पविकसित मुलुककै श्रेणीमा रहेको छ ।

नेपालमा विकासका बारे बहस चलेको पनि लामै भयो । करिब सात दशक राजनीतिक अस्थिरताका कारण विकास भएन भन्ने भाष्य स्थापित गर्न लागियो । जब नागरिक आफैंले संविधानसभामार्फत संघीय गणतन्त्र नेपालको संविधान लेखे र जारी गरियो, त्यसपछि भने सबै नेपालीले अब राजनीतिक लडाइँ सकियो, देश विकास–निर्माण तथा आर्थिक क्रान्तिको बाटोमा जान्छ भन्ने ठाने । राजनीतिक दलले पनि अहिलेसम्म विकास नहुनुको दोष तत्तत् विगतका सरकार नै हुन् भने । नेपालीले त्यो पनि माने, तर राजनीतिक स्थायित्वका पछिल्ला करिब तीन वर्षमा नेपाली नागरिक अझै राजनीतिक कुसंस्कारकोे सिकार भइरहेका छन् । विकास त टाढाको कुरा भयो, राजनीतिक दल फेरि सरकारमा रहँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्कै परिभाषा बोकेर हिँड्ने भीडमा परिवर्तन हुँदैछन् । विगतका सरकारको तथा राजनीतिक अस्थिरताका कारण नेपाल विकास नभएको भए पछिल्ला तीन वर्षमा विकासका केही जग बसाउने प्रयत्न गरिन्थ्यो होला । संविधान बाधक भएको भए संघीय गणतन्त्रको संविधान आएपछिका वर्षहरूमा कति काम संविधानको मर्म तथा भावनाअनुरूप भए त्यो पनि छिनोफानो लाग्थ्यो होला । तर, राजनीतिक प्रणाली तथा पात्रमात्र फेरिने, राजनीतिक संस्कारचाहिँ नफेरिने गरेका कारण देश अझै अल्पविकसित मुलुककै श्रेणीमा रहेको छ । किनकि विकास राजनीतिक दलका लागि चुनावमा गरिने एक प्रकारको अमूर्त भाषण हो, चुनाव सकिएपछि त्यसबारे न त राजनीतिक दल, न त नागरिक कसैलाई पनि त्यसको हेक्का रहन्न । योजना आयोगका सुरुदेखिका आवधिक योजनाका खाका हेर्दा कुनै योजनाले पनि नेपाललाई गरिब नै बनाइराख्ने भनेको छैन, न त कुनै वर्षको नीति तथा कार्यक्रम वा बजेटले त्यसो भनेको देखियो । तर, नेपालमा किन ठूला आयोजनाका नाममा सधैं राजनीतिमात्र हुन्छ र विकासका काममा किन अवरोधमात्र सिर्जना हुन्छ, यसको उत्तर विकासविरोधी राजनीति गर्ने ती नेताहरूसँग पनि छैन । संसारमा नेपालमात्र यस्तो मुलुक होला, जहाँ विकासको कुरा गर्नेबित्तिकै राष्ट्रियता ओतप्रोत हुन थाल्छ । अत्यावश्यक र दशकौं पहिले गरिसक्नुपर्ने सामान्य विकास पनि नगरेर देशलाई गरिब तथा पिछडिएको नै बनाएर राख्दा झन् कसरी नेपाल आत्मनिर्भर हुन्छ र देशको सार्वभौमसत्ता कसरी जोगिन्छ, राजनीतिक दललाई यसबारेमा चिन्तन गर्ने फुर्सद छैन । किनकि विकासको विरोधका पछाडिको मनोविज्ञानमा पक्कै केही खोट छ ।
एकातिर राजनीतिक दल विकासमा राजनीति गर्छन् भने अर्कातिर नागरिकहरू पनि राजनीतिक नेतृत्वको पछाडि लागेर आफ्नै भविष्यमाथि नराम्रो खोल खेल्दैछन् । चाहे मेलम्ची भनौं वा ठूला–ठूला जलविद्युत् आयोजना, वा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भनौं, कि त दु्रतमार्ग वा भर्खरैको एमसीसी, यी सबैको अवरोेधका कारणको पछाडि कस्तो मनोविज्ञानले काम गरेको छ, यसबारे राजनीतिक दलभित्रै एकरूपता छैन । नेपालले ठूला–ठूला विमानस्थल, ठूला–ठूला दु्रतमार्ग नबनाइकनै, देशभित्रै रोजगारी सिर्जना नगरीकनै तथा अर्थतन्त्रलाई चलायमान नबनाईकनै विकास गर्न सक्ने, सम्पन्न हुने भए नेपाली नागरिकले विगतका सात दशक केका लागि लडे, कसका लागि लडे ? किन बारम्बार व्यवस्था परिवर्तन गर्नुपरेको हो, राजनीतिक नेतृत्वलाई भावी पुस्ताले कठघरामा उभ्याएर सोध्ने नै छ । पछिल्लो समयको अलमलले गर्दा दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थल निर्माणको कार्य धकेलिँदै गएको छ ।
कुनै पनि देशको विकासका लागि चाहिने पुँजी, जनशक्ति तथा प्राकृतिक स्रोतमध्ये नेपालमा यथेष्ट पुँजीमात्र नभएको हो । तर, विश्वमै सबैभन्दा युवा जनशक्ति तथा प्राकृतिक स्रोत हुँदा पनि किन नेपाल विकास हुन सकेन, राजनीतिक दलले गहिरो आत्मसमीक्षा गर्न ढिलो भइसकेको छ । यदि राजनीतिक दल तथा नेतृत्वमा दृढ इच्छाशक्ति छ भने अहिलेको समयमा पुँजी कुनै समस्या होइन, तर नेपाली राजनीतिक दलमा विकासका बारे नै दोहोरो मापदण्ड छ र विकासको परिभाषा नै राजनीतिक दलपिच्छे फरक छ । त्यसैले नेपाली नागरिक गरिबीमै बाँच्न अभिशप्त छन् । नत्र नेपालमा लगानी गर्न संस्थागत तथा कानुनी संयन्त्रहरू पनि बनेका छन् । विकास साझेदारहरू पनि सहयोग गर्न तयार छन्, अन्तर्राष्ट्रिय लगानीकर्ता लगानी गर्न तयार छन्, तर समस्या देशभित्रै छ । देशमा विकास हुन नदिने तŒवहरूको सलबलाहट देखिन्छ, तर सरकार र राजनीतिक दल किंकर्तव्यविमूढ छन् ।

प्रतिक्रिया दिनुहोस्