रारामा पर्यटक बढ्दा व्यवसायी खुसी «

रारामा पर्यटक बढ्दा व्यवसायी खुसी

जुम्ला-नेपालकै ठूलो तथा आकर्षक पर्यटकिय क्षेत्र मुगुको रारा तालमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउन खुकुलो भएसँगै करिब ६ महिनापछि रारा हेर्न आउने पर्यटकको भीड लाग्न थालेको हो । जसका त्यहाँका होटल व्यवसायी पर्यटन व्यवसायी खुसी भएका छन् ।
असोज १ गतेदेखि सवारी सञ्चालन र असोज ५ गतेदेखि समिट एयरले कर्णालीमा नियमित उडान गरेसँगै रारातालमा पर्यटकको सख्या बढेको मुगुका स्थानीयले बताएका छन् ।
६ महिनासम्म सुनसान बनेको रारामा आन्तरिक पर्यटक बढ्दै गएको हुटुस्थित डाँफे गेस्ट हाउसका प्रबन्धक बलीराज शाहीको भनाइ छ ।
उनले भने, “जिल्लाबाहिरका पर्यटक एक दिन रारा बसेर फर्किन्छन्, ‘वर्षा सकिएसँगै यहाँ आउनेको संख्या बढ्दै गएको छ । पर्यटक बढ्न थालेपछि बिदामा बसेका होटल कर्मचारीलाई रारा बोलाएको छु ।” पुन रारामा पर्यटकीय गविधिले पुरानै लय लिन थालेको पर्यटन व्यवसायी शाहीले उल्लेख गरे ।
करिब एक महिनाकै अवधिमा अधिकांश दिनमा पर्यटकले हुटुका होटल भरिभराउ हुन थालेका छन् । पर्यटक बढेसँगै लामो समयदेखि बन्द रहेका झ्यारी, डाब, ताल्चलगायत क्षेत्रका होटल पनि खुल्न थालेको व्यवसायी शाहिको भनाइ छ । ६ महिनादेखि ठप्प पर्यटन व्यवसायले विस्तारै पुरानै लयमा लिन थालेकोमा व्यवसायी खुसी छन् ।
रारा घुम्न आएका आन्तरिक पर्यटक डुंगा चढेर रमाउने गरेको व्यवसायी दानबहादुर बुढाले बताए । उनका अनुसार केही पर्यटक घोडामा चढेर आसपासका गाउँमा घुम्न थालेका छन।
नेपालगन्ज घर भई जुम्ला कार्यरत लीला बहादुर भण्डारीको पनि रारा तालमा घुम्न जाने ठूलो धोको थियो । तर लकडाउनले रारा जाने रहरलाई त्यागेका भण्डारी भने, बन्दान्दी खुलेसँगै रारा घुमेर फर्किएका छन् । नाग्म गमगडी सडक सुधार पनि भइसकेको र रारा घुम्ने उपयुक्त समयपनि भदौ÷असोज भएकाले आन्तरिक पर्यटकको घुइँचो रहेको उनको भनाइ छ ।
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाईरसको त्रास अझै कम नएकाले बाह्य पर्यटक आएका छैनन् । तर, नेपालका विभिन्न जिल्लाबाट दैनिक ६० देखि ७० जनासम्म पर्यटक रारामा आउन थालेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
नेपालकै ठूलो कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएपछि रारामा पर्यटकीय चहलपहल पनि सुरु भएको छ । लकडाउन खुलेसँगै पर्यटक हवाई र सडक मार्गबाट रारा आउन थालेका छन् । एक महिनायता मुगुसहित जुम्ला, सुर्खेत, कालीकोट, दैलेख, बाँके लगायतका जिल्लाबाट रारा घुम्न जानेको संख्या बढ्दै गएको छ ।
कर्मचारी, व्यापारी र विद्यार्थी तथा परिवारहरु समूहमा घुम्न आउन थालेपछि रारामा मानवीय चहलपहल बढेको स्थानीय नन्द रोकायाले बताए । उनका अनुसार ‘रारा घुम्न आउने उपयुक्त समय र मौसम भदौ–असोज भएकाले लकडाउन खुले संगै पर्यटक बढ्न थालेका हुन् । तर, कोरोना महामारीबाट बच्न आवश्यक सुरक्षा मापदण्ड भने सबै पर्यटकहरुले अपनाएकै पाईन्छ ।
जुम्लाबाट गएका आन्तरिक पर्यटक बिहान आएर साँझ फर्कन्छन् । भने,सुर्खेत,कालिकोट, दैलेख लगायतका जिल्लाबाट गएका पर्यटहरु एकदुई बास बसेर फर्किने गरेका छन् ।
पर्यटक बढ्न थालेपछि रारा क्षेत्रमा कोरोना संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाइएको रारा राष्ट्रिय निकुञ्जका अधिकृत विष्णुप्रसाद थपलियाले जानकारी दिए ।
उनले भने, “पर्यटकहरुलाई अनिवार्य मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरिएको छ ।”एक महिनाकै अवधिमा २ हजार बढी आन्तरिक पर्यटक आएका छन् ।

प्रतिक्रिया दिनुहोस्