नेपाल–भारत फ्रेन्चाइज सम्मेलन भर्चुअल हुने «

नेपाल–भारत फ्रेन्चाइज सम्मेलन भर्चुअल हुने


यसै महिनाको अन्तिम सातादेखि दोस्रो नेपाल भारत फ्रेन्चाइज सम्मेलन हुने भएको छ । नेपाली र भारतीय ब्राण्ड र आगन्तुकहरूलाई एकै मञ्चमा जुटाई एकअर्का देशबीच लगानी, प्रविधि एवं व्यावसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो । असोज ३० देखि कात्तिक २ गतेसम्म पहिलो पटक भर्चुअलका माध्यमबाट नेपाल इन्डिया फेन्चाइज सम्मेलन हुन लागेको छ ।
सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रेन्चाइज.कमको साझेदारीमा नेपालस्थित भारतीय राजदूतावास आयोजना गर्न लागेको हो । कार्यक्रममार्फत नेपाल तथा भारतका प्रसिद्ध ब्राण्ड र अवलोकनकर्ताहरूलाई एउटै छानामुनी ल्याएर दुवै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्राण्डहरूले आफ्ना प्रदर्शनी गर्ने छन् भने सम्मेलनलाई दुई हजार भन्दा भन्दा बढी लगानीकर्ताहरूले फ्रेन्चाइज, डिलरसिप तथा अनुमतीपत्र लगायतमा व्यावसायिक अवसरहरू खोज्ने महत्वपूर्ण माध्यमको रूपमा उपयोग गरी लाभ उठाउने महासंघले जनाएको छ ।
गतवर्ष काठमाडौंमा सम्पन्न पहिलो नेपाल भारत फ्रेन्चाइज एक्सपो तथा सम्मेलनको सफलता पश्चात कार्यक्रमलाई एक स्थापित कार्यक्रमको रूपमा विकास गर्ने लक्ष्य अनुसार दोस्रो संस्करणको रूपमा यो सम्मेलन आयोजना गर्न लागिएको महासंघको भनाइ छ । कोभिड–१९ को विश्व महामारीका कारण यस वर्षको नेपाल भारत फ्रेन्चाइज एक्सपो तथा सम्मेलन भर्चुअलका माध्यमबाट आयोजना हुन लागेको हो ।
यो सम्मेलनलाई नेपाल भारतबीच लगानी प्रवद्र्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदान प्रदानको महत्वपूर्ण मञ्चको रूपमा हेरिएको छ । पहिलो एक्सपोमा नेपालका स्थापित १० र भारतका ५० गरी जम्मा ६० वटा स्थापित ब्राण्डहरूको सफल सहभागिता रहेको थियो । उक्त एक्स्पोले २ हजारभन्दा बढी ख्याती प्राप्त उद्यमी व्यवसायीहरूलाई प्रत्यक्ष अवसर प्रदान गर्नुका साथै कार्यक्रममार्फत व्यावसायिक अवसर विस्तार गर्न, सम्बन्ध सुधार गर्न, नयाँ अवसर तथा नविनतम सोंचको आदान प्रदानमा महत्वपूर्ण उपलब्धी हासिल गरेको थियो ।
कोभिडको महामारीका बावजुद, उद्यमी व्यवसायीहरूले ई–कमर्स तथा अन्य प्रविधिहरूको अधिकतम उपयोगमार्फत व्यवसाय मोडल परिवर्तन गरी आफूलाई समयको माग अनुसार अगाडी बढाउन मद्दत गरिरहेका छन् । यस थ्रीडी भर्चुअल एक्सपोले पनि उद्यमशीलताको सोच राखेर अगाडी बढ्न लागेको यूवा जमातलाई समय अनुसार अगाडी बढ्न र व्यावसायिक अवसरहरूको खोजी गर्न सघाउने विश्वास गरिएको छ ।
सम्मेलनले अहिलेको समयमा सम्भावित लगानीकर्ता र साझेदारहरुलाई प्रविधिको माध्यमबाट सुरक्षित रूपमा आ–आफनै घरमा रही एकै ठाउँमा जुटाउन सहयोग गर्ने छ । भर्चुअल एक्सपोले व्यवसायी र विज्ञहरू बीच आपसी सम्वाद, श्रव्य दृश्यका माध्यमबाट सबै तहका उद्यमीहरू, लगानीकतालाई भेट गराई व्यावसायिक अवसरको उत्खनन, विश्वमा पछिल्लो व्यावसायिक अवस्थाका बारेमा जान्ने बुझ्ने अवसर समेत जुटाउने छ । अन्तमा, नेपाल र भारतमा रहेका सबै अग्रणी ब्रान्डहरूलाई यस भर्चुअल प्लेटफर्ममा भाग लिन आमन्त्रण गरिन्छ । कार्यक्रमका तीन दिन दुवै राष्ट्रका ब्रान्ड र लगानीकर्ताहरू निजी क्षेत्रकातर्फबाट व्यवसायीहरूको उद्देश्य, इच्छा र लक्ष्य अनुरूपका व्यावसायिक सम्भावनाहरूको नया“ ढोका खोल्न सफल हुने विश्वास महासंघको छ ।

प्रतिक्रिया दिनुहोस्