व्यावसायिक भैंसीपालनमा आकर्षण «

व्यावसायिक भैंसीपालनमा आकर्षण

रुकुम पश्चिममा पछिल्लो समय भैंसीपालन व्यवसायतर्फ आकर्षण बढेको छ । आयआर्जनका लागि निर्वाहमूखी परम्परागत पशुपालन व्यवसायलाई सुधार गरी आधुनिक र व्यवसायिकता तर्फ विकास गर्ने भन्दै भैंसीपालनमा आकर्षण बढेको हो । दुग्धजन्य पदार्थको उत्पादन, खपत र बिक्रीबाटै राम्रो आम्दानी गर्न सकिने भन्दै भैंसीपलान व्यवसायमा लाग्नेको संख्या बढेको होे । पशुपालन व्यवसाय अन्तरगत भैंसीपालन व्यवसाय नै उपयुुक्त भएकाले पछिल्लो समय जिल्लामा सामुहिक भैंसीफार्म, समूह र सहकारी स्थापना भएका छन् ।
बेरोजगारी समस्याको अन्त्यका लागि गाउँमै व्यावसायिक भैंसीपालनबाट आर्थिक समृद्धि र जीवनस्तरमा परिवर्तन गर्ने उद्देश्यले जिल्ला विभिन्न स्थानमा सामुहिक भैंसीपालन व्यवसाय सञ्चालनमा रहेका छन् । मित्रता भैंसीपालन फार्म रुकुम पश्चिमका सञ्चालक दुर्गाबहादुर बाँठाले भैंसीपालनलाई व्यावसायिक बनाउन आफ्नो फार्ममार्फत भैंसीपालन गरिरहेको बताए । “जिल्लामा निर्वाहमुखी भैंसीपालन त धेरै हुन्छ तर व्यावसायिक हुन सकेको छैन” उनले भने, “जिल्लामा व्यावसायिकताको सन्देश दिन समूह र केही सरकारी अनुदानमा हामीले पनि फार्म सञ्चालन गरेका हौं ।”
जिल्लाका भैंसीपालन व्यवसायीलाई लक्षित गरी मुसिकोट, आठबिसकोट, बाँफिकोट र त्रिवेणीमा दूध चिस्यान तथा संकलन केन्द्र समेत स्थापना भई सञ्चालनमा रहेका छन् । जसले गर्दा गाउँका किसान र भैंसीपालन व्यवसायीले उत्पादन गरेको दूध संकलन केन्द्रमै खपत हुँदा पछिल्लो समय जिल्लामा भैंसीपालन व्यवासाय फस्टाउँदै गएको हो ।
यसका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालयले पनि दूध र दुग्धजन्य पदार्थलाई पहिलो प्राथममिकता राखेर पशु विकास अन्र्तगत भैंसीपालन व्यवसायीलाई प्रोत्साहन र प्राविधिक सहयोग गर्दै आएको कार्यालयका निमित्त कार्यालय प्रमुख ज्ञानुकुमार शर्माले बताए । रुकुम पश्चिममा हालसम्म २ वटा समूह, २ सहकारी र ७ वटा फार्म गरी ११ वटा भैंसीपालन व्यवसायलाई ३ लाखदेखि २५ लाखसम्म अनुदान दिइएको पशु अस्पताल तथा पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयको अनुदान सहयोग र भैंसीपालन व्यवसायीको सामूहिक लगानीले नै जिल्लामा भैंसीपालन व्यवसाय फस्टाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्