कोरोना कहरकैबीच सञ्चालनमा आयो पाँचतारे होटल «

कोरोना कहरकैबीच सञ्चालनमा आयो पाँचतारे होटल

झापा-कोरोना कहरका कारण लगानी संकटमा परेको भन्दै करोडौँ लगानीमा खुलेका होटल बन्द हुन थालेका छन् । नेपालका सबै सीमानाका बन्द छन् । पर्यटन व्यवसाय धरासायी बन्दै गएको छ । कोरोना भाइसले छिमेकी देश भारतमा महामारीको रुप लिँदै गइरहेको छ । तत्काल तेस्रो देशका पर्यटक घुम्न आउने अवस्था पनि छैन । पर्यटक आइआले पनि कसरी गन्तव्यसम्म सुरक्षित पु-याउने भन्ने योजना न सरकारको छ न पर्यटन व्यवसायीको ।
यस्तै, चुनौतीका बाबजुत छिमेकी देश भारत साथै बंगलादेश र भुटानका पर्यटकलाई लक्षित गर्दै प्रदेश–१ मा पहिलोपटक मेची क्राउन नामक पाँचतारे होटल सञ्चालनमा आएको छ । नेपालको पूर्वी नाका काँडभिट्टादेखि ४ किलोमिटर पश्चिम झापाको मेचीनगर नगरपालिका धुलाबारीमा होटल सञ्चालनमा आएको हो ।
डेढ अर्व रुपैयाँको लगानीमा पाँचतारे होटल सञ्चालनमा आएको छ । जसमा व्यवसायीहरु पवित्रकुमार कार्की, बलराम सापकोटा, राजकुमार बस्नेत, जयराम अर्याललगायतको लगानी रहेको छ । भेगास सिटी इन्टरटेनमेन्ट प्रालिले सञ्चालनमा ल्याएको हो । पूर्वपश्चिम राजमार्गले छोएको धुलाबारीमा आठ विगाहामा होटलको संरचना निर्माण भएका छन् । ‘भ्रमण वर्ष २०२०’ को सुरुमै सञ्चालनमा ल्याउने तयारी भए पनि कोरोना महामारीका कारण केही समय पछिसरेको जनाइएको छ ।
पूर्वमा पर्यटनको राम्रो सम्भावना देखेर नै होटेल सञ्चालनमा ल्याइएको भेगास सिटी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष कार्कीले बताए । पूर्वी नाका काँकरभिट्टादेखि भारत, बंगालादेश र भुटान छोटो दुरीमा रहे पनि नेपालतर्फ सुविधासम्पन्न होटलको अभाव रहेको थियो । “कञ्चनजंघा हिमाल, ठूलो पाथिभरा, इलाम, भारतको दाजिलिङ, सिक्किम लगायतका पर्यटकीय गन्तव्यमा आउने पर्यटकहरु सुविधासम्पन्न होटलको खोजिमा थिए” कार्कीले भने, “यी पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनामा ल्याइएको हो । मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश–१ मै पहिलो पाँचतारे होटल सञ्चालनमा ल्याउन आफ्नो टिम सफल भएको कार्कीले बताए ।
चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा भारत, बंगलादेश र भुटानबाट आउने पर्यटकको रोजाइमा पर्ने होटेलको व्यवस्थापन कम्पनी ‘दी पिक हस्पिटालिटी’का अध्यक्ष दिपक लेखकले बताए । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मलसमेत त्यही बनाइने लेखकले जानकारी दिए । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १०५ वटा सुविधासम्पन्न कोठाहरु छन् । त्यसमा ५ वटा मेची सुइट्स रुम, १० वटा एगजुकेटिभ भिला रुम, १९ वटा मेची क्लब रुम र ७१ वटा डिलक्स रुम रहेका छन् । होटलमा विभिन्न प्रकारका खानाको स्वाद, नेपालका आदिवासीको विशिष्ट मौलिक परिकारसमेत उपलब्ध हुने सञ्चालकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्