बिमाको पहुँच ४० प्रतिशत पु-याउने सरकारको रणनीति छैन «

बिमाको पहुँच ४० प्रतिशत पु-याउने सरकारको रणनीति छैन

कोभिड–१९ को महामारीले अर्थतन्त्रका अधिकांश क्षेत्र नकारात्मक हुँदा बिमा व्यवसाय २० प्रतिशतले वृद्धि भएको छ । सर्वसाधारणको आम्दानीमा असर पर्दा बिमा व्यवसायमा असर पर्ने भए पनि बिमाप्रति सर्वसाधारणको चासो र रुचि बढ्दै गएकाले तत्काल जीवन बिमा व्यवसायमा ठूलो असर नदेखिएको बताउँछन् ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री । कोभिडका कारण व्यवसाय गर्ने तरिका परिवर्तन गरेको र नयाँ अवसर पनि सिर्जना गरेको बताउँदै अहिलेसम्म विश्वव्यापी रूपमै जीवन बिमा कम्पनीहरूले जोखिम महसुस नगरेको उनले बताए । अहिलेको अवस्थामा बिमा सरकारको उच्च प्राथमिकतामा पर्नुपर्ने भए पनि सरकारले ४० प्रतिशत जनतामा बिमाको पहुँच पु-याउने लक्ष्य प्राप्तिका लागिसमेत कुनै रणनीति नबनाएको उनले गुनासो गरे ।
बेलायतबाट सूचना प्रविधिमा स्नातकोत्तर गरेका खत्रीले आफ्नो करियर पनि बेलायतकै बैंकबाट सुरु गरेका हुन् । नेपालमा आएर लक्ष्मी बैंकमा कर्मचारी र एनआईसी एसिया तथा नेपाल लाइफको सञ्चालकका रूपमा काम गरेपछि उनले एनआईसी एसियाकै प्रवद्र्धनमा खुलेका ज्योति लाइफको सुरुदेखि नै डेपुटी सीईओका रूपमा काम गरे । गत वैशाखयता कम्पनीको सीईओका रूपमा काम गरिरहेका उनीसँग बिमा क्षेत्रको समग्र अवस्थाबारे कारोबारकर्मी यादव हुमागाईंले गरेको कुराकानी :

कोभिड–१९ को महामारीले अर्थतन्त्र ओरालो लागिरहेको छ, सर्वसाधारणको आम्दानीमा पनि प्रभाव परेको छ । केही वर्षदेखि उत्साहजनक रूपमा वृद्धि भइरहेको बिमा व्यवसायलाई कस्तो असर पार्ला ?
आजको दिनमा कोभिडले असर नगरेको कुनै पनि क्षेत्र छैन । असर कसैलाई कम कसैलाई बढी होला । जीवन बिमा व्यवसायमा पनि कोभिडको असर परेकै छ, तर तथ्यांक केलाउँदा अरू व्यवसायमा भन्दा कम हो कि भन्ने लाग्छ । गएको आर्थिक वर्षमा १९ वटा जीवन बिमा कम्पनीको प्रथम बिमा शुल्क २० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बिमा कम्पनीहरूले करिब ३५ अर्ब बिमा शुल्क आर्जन गरे । अघिल्लो आवमा २८ अर्ब प्रथम बिमाशुल्क संकलन भएको थियो । जीवन बिमामा व्यवसाय हुने आर्थिक वर्षको अन्तिम चार–पाँच महिनामा हो । गत वर्ष कोभिडका कारणले चैतदेखि नै लकडाउनमा भएकाले कम्पनीहरूले जुन रफ्तारमा काम गर्न सक्थे त्यो सकेनन्, तर पनि व्यवसाय वृद्धि नै भएको छ । ज्योति लाइफको कुरा गर्ने हो भने हामीले गत वर्ष ४५ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भयौं । तर, अझै कोभिडको महामारी कायमै रहेकाले कस्तो असर पर्छ भनेर अनुमान गर्न गा¥हो छ ।

नवीकरणको अवस्था कस्तो छ ?
आम्दानी घटेपछि मानिसको प्रिमियम तिर्ने क्षमता पनि घटेकै छ, जसले गर्दा नवीकरणको दर घटेको अवस्था छ । अर्को, लकडाउन र निषेधाज्ञाका कारण सर्वसाधारणले चाहेर पनि प्रिमियम तिर्न सकेनन् । यो अवस्थामा सकारात्मक पक्ष भनेको अनलाइन कारोबार बढेको छ । पहिलो चार–पाँच प्रतिशत व्यवसायमात्र अनलाइनमार्फत भइरहेको थियो भने अहिले ३५–४० प्रतिशत व्यवसाय अनलाइनमार्फत भइरहेको छ । निषेधाज्ञा हुनेबित्तिकै नवीकरण घट्ने र खुल्नेबित्तीकै बढ्ने देखिएको छ । मानिसको गतिविधिका आधारमा यो निर्धारण हुने अवस्था देखिएको छ ।

कोभिडको महामारी लामो समयसम्म चल्ने सम्भावना देखिएको छ, जसका कारण अब स्वास्थ्य सतर्कता अपनाउँदै व्यवसाय अघि बढाउनुपर्छ भन्ने सोच विकास भइरहेको छ । यो अवस्थामा बिमा व्यवसाय कसरी अघि बढिरहेको छ ?
कोभिडको महामारी सकिएपछि व्यवसाय गरौंला भनेर बस्ने हो भने व्यवसाय धराशायी हुन्छ । बरु यसले नयाँ अवसर खोलिदिएको छ । हरेक कम्पनीहरूले आ–आफ्नो किसिमले रणनीति बनाएर काम गरिरहेका छन् । हामीले आजको दिनमा काम गर्ने तरिका परिवर्तन गरेका हौं । हिजो एजेन्टहरूलाई दुई–तीन दिनको भौतिक उपस्थितिमा तालिम दिन्थ्यौं भने आजकाल भर्चुअल तालिम गरिरहेका छौं । हाम्रा स्टाफ तालिम, बैठक भिडियोमार्फत गर्न थालेका छौं ।
हिजो सामान्य अवस्थामा भिडियो कन्फेरेन्सबाट स्टाफ मिटिङ गरौं, एजेन्टसँग कुरा गरौं भन्दा यो प्रभावकारी हुँदै हुँदैन, भौतिक रूपमा नभेटेसम्म बुझ्दैनन् भनिन्थ्यो । आज त्यो प्रवृत्ति परिवर्तन भएको छ । बरु आजको दिनमा भर्चुअल भेटघाट बढेको छ । कर्पोरेट निकटता आएको छ । आज एकैपटक २ सय स्टाफलाई भेट्न मिटिङ गर्न सम्भव भएको छ । स्वास्थ्य सतर्कता अपनाउँदै अनलाइन प्रविधिलाई प्रयोग गरेर व्यवसाय अघि बढाउनु आजको आवश्यकता हो ।

बिमा व्यवसायमा अनलाइन प्लेटफर्ममा काम गर्न कत्तिको सहज छ ?
अनलाइन र डिजिटल भनेको फरक हो । एटीएम बुथमा गएर कार्ड हाल्नेबित्तिकै पैसा आउँछ र खातामा घट्छ भने त्यो अनलाइन हो । अनलाइनमार्फत सेवा दिनका लागि प्राविधिक रूपमा सम्भव भए पनि नियामकीय प्रावधान र कानुनी व्यवस्थाका कारण अड्किएका छौं । तैपनि सकेसम्म विद्युतीय रूपमा काम गरेका छौं । १५ लाख रुपैयाँसम्मको बिमा लेख बिक्री गर्दा मेडिकल चेकअपबिना गर्छौं । त्योभन्दा बढी हाम्रो अन्डरराइटिङ टिमले हेर्नुपर्छ । सकेसम्म इमेलबाट काम गरेका छौं । कागज नै, ढड्डा नै ओसारेर काम गरेका छैनौं । डिजिटल्ली काम त गरिरहेका छौं, तर एकै क्लिकमा पोलिसी पाउन अहिले सम्भव छैन ।
अहिलेसम्म अनलाइन भनेर हामीले पैसाको कारोबार मात्र भनिरहेका छांै । आजको दिनमा बैंकमा पनि क्रेडिट कार्ड लिनका लागि पनि त अनलाइनबाट सम्भव त छैन । पासवर्ड बिर्सिंदा पनि भौतिक रूपमा बैंक शाखामै जानुपर्छ । आजको दिनमा ज्योति लाइफले सकेसम्म र सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा दिइरहेको छ । नवीकरणका लागि अनलाइन प्रयोग गर्न सकिन्छ । ग्राहकले खाता वा वालेटबाट प्रिमियम तिरेपछि हाम्रो खातामा रकम आउँछ र नवीकरण हुन्छ ।

लकडाउन सुरु भएलगत्तै बिमालेख जारीदेखि दाबी भुक्तानीको काम अनलाइनमार्फत गर्न समितिले निर्देशन दियो । यसलाई कत्तिको प्रयोग गर्नुभयो ?
लकडाउनको अवस्थामा दाबी पनि भुक्तानी ग-यौं । ईमेल र अरू माध्यमबाट कागजपत्र मगायौं । ग्राहकले दाबी भुक्तानीका लागि कम्पनीमा सम्पर्क गरेपछि सहजीकरण गरौं । वेबसाइट, फोन, शाखा वा सामाजिक सन्जालबाट आएका ग्राहकलाई पनि लकडाउन छ, कुरियर चल्दैन भनेर अड्काएका छैनौं ।
जब लकडाउन सुरु भयो, समितिले अनलाइनबाटै ३ लाख रुपैयाँसम्म पोलिसी जारी गर्ने अनुमति प्रदान ग-यो । लकडाउन खुलेपछि सबै कागजपत्र संकलन गरे पनि जोखिम कभरेज तत्कालै सुरु गर्ने व्यवस्था ग-यो । यसैगरी प्रिमियम भुक्तानीमा पनि लकडाउन अवधिमा जरिवाना नलाग्ने व्यवस्था गरियो । हामीले ग्राहकलाई दिन सक्ने, मिल्ने सहयोग गरिरहेका छौं ।

अभिकर्तामार्फत घरघरमा परिचालन गरी व्यवसाय ल्याउने बिमामा यो परिस्थितिमा कसरी अभिकर्ता परिचालन गरिरहनुभएको छ ?
बिमा कम्पनीहरूको सबैभन्दा महत्वपूर्ण वितरण प्रणाली भनेकै एजेन्टहरू नै हुन्छ । शाखाहरूले एजेन्ट सिस्टमलाई सपोर्ट दिने मात्र हो । बाँकी सबै कारोबार गराइदिने भनेको त एजेन्ट नै हो । पहिला घरघरमा गएर मानिसहरूलाई हरेक योजनाबारे बुझाएर बिमा गर्ने चलन थियो । अहिलेको अवस्थामा त्यो सम्भव भएन ।
ज्योति लाइफले हरेक योजनाको भिडियो सामग्री बनाएका छौं, जसबाट बिमितले बिमालेख खरिद गर्दा के सुविधा पाउँछन्, के पाउँदैनन् भन्ने जानकारी पाउँछन् । बिमितले चासो देखाएको अवस्थामा घरैबाट अभिकर्ता र हाम्रो कर्मचारीसँग फोन वा भर्चुअल काउन्सिलिङ लिन सक्छ । हामीले कार्यालयको आन्तरिक काम गर्ने तरिका मात्र नभएर ग्राहकसँग सम्बन्ध राख्ने तरिका पनि परिवर्तन गरेका छौं ।

सर्वसाधारणले यसलाई स्वीकार गरेका छन् त ?
पहिलाभन्दा बढी छ । कुनै पनि कर्मचारी वा अभिकर्ताले बोलेको विश्वासमा बिमा गर्नु र कम्पनीको आधिकारिक भिडियो सामग्री हेरेर बिमा बुझ्दा आत्मविश्वास बढ्छ । आजको दिनमा मानिसले बिमा बुझेका छन्, राम्रोसँग बुझाउन सक्यो भने ठूलो–ठूलो बिमांकको बिमा गर्नुहुन्छ, नभए ५ लाखको गर्ने हो । हिजो अभिकर्ताले मेरा लागि बिमा गरिदिनुहोस् भने भनेर बिमा गराउनुपर्ने अवस्था थियो भने अहिले राम्रोसँग बुझाउन सक्यो भने १५–२० लाखको इस्योरेन्स ठूलो कुरा छैन । ज्योतिकै कुरा गर्ने हो भने पनि औसत बिमांक नै ७-८ लाख रुपैयाँ छ । हिजो एक-डेढ लाखको बिमा हुन्थ्यो, ती दिनहरू गए ।

महामारी, प्राकृतिक प्रकोपपछि सर्वसाधारणलाई बिमाप्रति चासो-रुचि बढ्छ भनिन्छ । तपाईंको अनुभव के छ ?
बिमा सचेतना बढेकै छ, जसका कारण विभिन्न संघसंस्थासँग सम्बन्ध पनि बढिरहेको छ । हिजोको दिनमा सरकारले अनिवार्य गरेको दुर्घटना बिमा मात्र गर्ने कर्पोरेट हाउसहरूमा जोखिम देखेपछि जीवन बिमा गर्नुपर्ने रैछ भन्ने सचेतना आएको छ ।

अधिकांश नेपालीहरू बिमा गर्ने भन्नेबित्तिकै निश्चित अवधिपछि दोब्बर भुक्तानी हुन्छ भन्ने बुझ्छन् ? बिमाको जोखिम वहन गर्ने पक्षप्रति त्यति चासो देखिँदैन । बचत प्रकृतिका योजनामा आकर्षित हुनुको कारण के हो ?
कम पैसाले जोखिम वहन हुने टर्म इन्स्योरेन्स प्रोडक्टभन्दा प्रतिफल दिने योजनामा हाम्रो रुचि बढी छ । यसले अनिवार्य बचत पनि गराइदिने र बिमितहरूले लगानीका रूपमा पनि लिने गरेको पाइन्छ । १५ वर्षभन्दा बढीमा दोब्बर आउँछ भन्ने बुझाइ बन्यो । बिमा भनेर सबैभन्दा पहिला त जोखिम वहनका लागि हो, त्यसपछि मात्र लगानीका लागि हो । नेपालीहरूमा मेरो क्षति हुँदा आश्रितहरूका लागि बिमा गर्नुपर्छ भनेर नगर्ने, यति वर्षपछि मैले के पाउँछु भन्ने ढंगले बिमा गर्ने देखिएको छ । तर, आजको दिनमा विस्तारै परिवर्तन हुँदैछ । नयाँ कम्पनीहरू आएपछि नयाँ–नयाँ योजनाहरू पनि आएका छन् । बुझाइमा पनि परिवर्तन आउँदैन । आजको दिनमा हामी सबैभन्दा बढी घातक रोगविरुद्ध सुरक्षा दिन कम्पनीका रूपमा परिचित छौं । त्यसैले सर्वसाधारणमा बोनसभन्दा पनि कुन–कुन रोगविरुद्ध सुरक्षा पाउँछु भन्ने चासो छ । अरू कम्पनीहरूले जोखिम कभरेज बढी तर त्यसको प्रतिफल कम आउने बिमालेख पनि सार्वजनिक गरिरहेका छन् । त्यो पनि परिवर्तन भइरहेको छ, जसबाट सर्वसाधारणको बुझाइ विस्तारै परिवर्तन भइरहेको छ । सर्वसाधारणलाई कति फिर्ता पाउँछु भन्दा पनि मलाई कुन–कुन घातक रोग लाग्यो, दुर्घटनामा हुने अंगभंग र अकालमा मृत्युमा कस्तो जोखिम कभर हुन्छ भन्नेतिर चासो बढ्न थालेको छ ।

अभिकर्ताहरू कमिसनमा केन्द्रित हुने भएकाले बढी प्रिमियम उठ्ने योजना बिक्रीमा जोड दिएका हुन् कि ?
समितिले स्वीकृत गरेको मापदण्डअनुसार अभिकर्तालाई कमिसन दिने हो । कमिसनमा आधारित व्यवसायमा कुन बिक्री गर्दा बढी फाइदा हुन्छ भनेर बिक्रेताले त हेर्छ नै । मोबाइल फोन किन्ने ठाउँमा पनि सबै कम्पनीका प्रोडक्ट हुन्छ, बिक्रेतालाई जुनमा बढी कमिसन छ त्यसलाई बिक्री गर्न फोकस गर्छ ।
तर, इन्स्योरेन्समा अन्डरराइटिङ गर्दा त्यो व्यक्तिले त्यति प्रिमियम तिर्न सक्छ या सक्दैन, त्यो किसिमको आयस्रोत छ या छैन त हेर्छौं । यो व्यवस्थाले चेक एन्ड ब्यालेन्स गर्छ ।
हामीले अभिकर्तालाई तालिम दिने हो । त्यसैका आधारमा उनीहरूले बजारमा बिक्री गर्ने हो । हाम्रो कम्पनीले कुनै पनि हालतमा प्रिमियम चाहिन्छ भनेर भन्दैनौं । बजारमा अभिकर्ताहरूले अनावश्यक प्रलोभन दिएर बिमालेख बेच्यो भन्ने पनि सुनिन्छ । त्यसैलाई नियन्त्रण गर्नकै लागि हामीले भिडियो सामग्री बनाएका हौं । मेडिकल अन्डरराइटिङ र फाइनान्सियल अन्डरराइटिङ गर्नैपर्छ, त्यसमा हामी हेर्छौं ।

बिमा अभिकर्ता परिचालन अहिलेको व्यवस्थामा परिवर्तन आवश्यक छ त ?
कानुनी प्रावधान त ठीकै होला । तर, हाम्रो उद्योगको प्राक्टिसमा भने परिवर्तन आवश्यक छ । ज्योतिले ठूलो संख्यामा अभिकर्ता बनाउने भन्दा पनि गुणस्तर बढाउनेतिर लाग्छौं । कति अभिकर्ता छन् भनेर गफ लगाउने काम मात्र गरेर भएन । धेरै एजेन्ट जोड्नुभन्दा व्यावसायिक बनाउन लाग्छौं । कमिसन र इन्सेन्टिभको लोभभन्दा पनि तपाईंहरू कम्पनीको बिजनेस र ब्रान्डिङका लागि अभिन्न अंग हो भने शिक्षा दिन्छौं र काम गर्छौं । एजेन्ट बनाएर चार–पाँचवटा पोलिसी ल्याउने र वास्ता नगर्नेभन्दा पनि उसलाई व्यावसायिक बनाउनेतर्फ जोड गरिरहेका हुन्छौं ।

संस्थागत अभिकर्ता बनाउन पनि कम्पनीहरूले जोड दिएका छन् नि ?
विश्वव्यापी रूपमा जीवन बिमा कम्पनीको अधिकांश व्यवसाय व्यक्तिगत अभिकर्ताले नै ल्याउने हो । ९० प्रतिशत जनताको बिमा हुने जापानमा पनि त्यही प्रयोगमा छ । नेपालमा संस्थागत र व्यक्तिगत दुवै अभिकर्तालाई जोड दिएको पाइन्छ । दुवैलाई ब्यालेन्स गर्ने हो एकातिर मात्र लाग्दा दुर्घटना हुनसक्छ । कुनै कम्पनीले हिजो बैंकास्योरेन्सलाई मात्र व्यवसाय बढाउन लाग्या भए धराशायी हुन्थ्यो ।

नेपालमा बिमा साक्षरता अवस्था कमजोर छ । यसलाई कसरी व्यापक बनाउन सकिन्छ ?
यसमा बजारमा काम गरिरहेका कम्पनी, नियामक निकाय, सरकार सबैको रोल हुनुपर्छ । अहिले बिमाको पहुँच २५ प्रतिशतको हाराहारीमा छ । यो वर्ष ४० प्रतिशत पु¥याउने सरकारको योजना त छ, तर त्यसका लागि रणनीति नै छैन । हामी कम्पनीहरूले त केही न केही प्रयास गरिरहेका छौं । तर ४० प्रतिशत पु-याउनलाई सरकारको रणनीति के हो त ? बिमितलाई र कम्पनीहरूलाई के–कस्ता सुविधा दिएर आकर्षित गर्ने भन्ने योजना सरकारसँग छैन । कुनै बेला बिमा प्रिमियम दर्ता आयकरमा छुट २० हजार रुपैयाँ छुट थियो । त्यसलाई बढाएर २५ हजार रुपैयाँ पु¥याइयो । अहिले औसत बिमांक नै ६÷७ लाख पुगेको अवस्थामा प्रिमियम ३५÷४० हजार तिर्छ । करमा दिएको सहुलियत समयसान्दर्भिक भएन ।
अहिलेको अवस्थामा इन्स्योरेन्स राज्यको मुख्य प्राथमिकतामा हुुनुपथ्र्यो, तर सरकारले बैंकिङ जति पनि प्राथमिकता दिएको छैन ।

सरकारले आफै संस्था वा कोष बनाएर इन्स्योरेन्स कम्पनीले गर्ने प्रकृतिको काम गरिरहेको छ । बिमा कम्पनीहरू सक्षम नभएर हो ?
अवकाश कोष म्यानेजमेन्ट विदेशमा इन्स्योरेन्स कम्पनीहरूले नै गर्छन् । नेपाली कम्पनीहरूले पनि गर्न नसक्ने भन्ने त भएन । तर, हामीकहाँ राज्यले इन्स्योरेन्स कम्पनीलाई विश्वास गरेको देखिएन । सरकारसँग नीतिगत स्पष्टता पनि छैन ।

कोभिडको महामारी बढ्दै गएको छ । बिमा कम्पनीहरूलाई कत्तिको जोखिम छ त ?
विश्वव्यापी रूपमै जीवन बिमा कम्पनीहरूले जोखिम महसुस गरेका छैनन् । बिमा कम्पनीहरूले पनि आफ्नो जोखिम रि–इन्स्योेरेन्सलाई हस्तान्तरण गरेका हुन्छन् । रि–इन्स्योरेन्ससँग कुरा गर्दा उनीहरूलाई अहिलेसम्म अन्डरराइटिङ गाइडलाइन परिवर्तन गर्नुपर्छ भनेका छैनन् । हाम्रो काम नै जोखिम लिने भएकाले महामारीबाट डराएर बिमा नगर्ने भन्ने हुँदैन ।

बिमा कम्पनीहरूको सेवा गाउँ–गाउँसम्म पुगेको छ, व्यवसाय विस्तार भएको छ कि छैन त ?
सबै ठाउँमा राम्रो ग्रोथ पाएका छौं । कहीं बढी, कहीं कम प्रिमियम संकलन भएको होला । समग्र रूपमा हेर्दा प्रिमियम र बिमांक रकम पनि बढिरहेको अवस्था छ ।

समितिले एक वर्षअघि लगानी नीति परिवर्तन गरेको थियो । यसको प्रभाव कस्तो छ ?
लगानी निर्देशिकामा कम्पनीले टेक्निकल रिजर्भका आधारमा लगानी गर्न सक्ने व्यवस्था छ । नयाँ कम्पनीहरूले अहिलेसम्म त्यसका आधारमा लगानी गर्ने अवस्था छैन । निर्देशिकामा रियलस्टेटदेखि बैंकहरूसँग सहवित्तीयकरणसमेत लगानी गर्न पाउने व्यवस्था छ । तर, अहिलेसम्म पुराना कम्पनीहरूले पनि त्यसलाई प्रयोग गरेको अवस्था छैन । यसका लागि प्राविधिक क्षमता विकास गर्न पनि आवश्यक छ ।

सर्वसाधारणले बिमा गर्नका लागि ज्योति लाइफ नै किन छनोट गर्ने ?
बिमा बजारमा हामी एउटा नयाँ कम्पनीका रूपमा थपिने मात्र नयाँ–नयाँ सोचका साथ आएका हौं । यसमा केही हदसम्म हामी सफल पनि भएका छौं । नेपालमा बिमा भनेको मृत्यु भएमा वा कुनै क्षति भएमा मात्र दाबी पाइन्छ भन्ने सोच थियो । हामीले सबैभन्दा पहिले ११ वटा घातत रोगको १० लाखसम्मको बिमा सुरु ग¥यौं । अहिले ३५ वटा घातक रोगको ५० लाखको सुरक्षा दिन्छांै । सबैभन्दा बढी घातक रोगविरुद्ध सुरक्षा दिने हामी हौं । अहिले अरू कम्पनीसँग पनि घातक रोगविरुद्धका योजना छन्, तर कुनै पनि बिमितिले घातक रोग लागेर दाबी भुक्तानी लिन्छ भने त्यसको कुनै न कुनै श्रेय हामीले पाउँछौं । हिजो क्यान्सर लागेको बिमितको कहिले मृत्यु हुन्छ भनेर चेक बनाएर बस्नुपर्ने अवस्थामा रोग लाग्नेबित्तिकै दाबी भुक्तानी पाउने अवस्था भयो । जीवन बिमा जहाँ, जुन कम्पनीमा गरे पनि योजनाहरू उस्तै हुन् भन्ने सोच परिवर्तन गरेका छौं । नयाँ सोचका साथ नयाँ योजना ल्याएका छौं । प्रिमियम संकलनमा मात्र केन्द्रित नभई इथिकल सेलिङ प्राक्टिस गरिरहेका छौं । बोनस दरमा पनि हामी प्रतिस्पर्धी नै छौं ।

कम्पनीको व्यवसायको अवस्था कस्तो छ ?
कम्पनीले अहिलेसम्म गरेको व्यवसायका आधारमा हामी उत्साहित छौं । गत वर्ष प्रथम बिमा शुल्कका आधारमा हामी सातौं नम्बरमा पर्न सफल भयौं । चालू वर्षको दुई महिनामा पनि व्यवसाय ५० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष दुई महिनामा १२ करोड बिमा शुल्क आर्जन गरेका थियौं भने यो वर्ष १८ करोड गरेका छौं । अहिले १ सय १७ वटा शाखाबाट सेवा दिइरहेका छौं । अब छिट्टै साधारणसभा गरेर साधारण सेयर पनि जारी गर्दैछौं ।

सर्वसाधारण लगानीकर्तालाई ज्योतिको साधारण सेयरबारे पनि चासो छ, कहिलेसम्म जारी हुन्छ ?
अहिले हाम्रो चुक्ता पुँजी १ अर्ब ५४ करोड छ । ६६ करोडबराबरको साधारण सेयर जारी गर्छौं । त्यसका लागि आर्थिक वर्ष ०७५-७६ को साधारणसभा एक महिनाभित्र गर्छौं । साधारणसभा सकिएपछि आईपीओका लागि धितोपत्र बोर्डमा निवदेन दिएर प्रक्रिया सुरु गर्छौं । हामीले बिक्री प्रबन्धक नियुक्त गरिसकेका छौं । पुस–माघभित्र आईपीओ जारी गरिसक्ने लक्ष्य छ । त्यसपछि कम्पनीको पुँजी २ अर्ब २० करोड पुग्छ ।

प्रतिक्रिया दिनुहोस्