फागुनदेखि मझगाउँ विमानस्थल निर्माण गरिने «

फागुनदेखि मझगाउँ विमानस्थल निर्माण गरिने

चन्द्रकान्त जोशी
महेन्द्रनगर-लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालन गर्न फागुनदेखि निर्माणकार्य अगाडि बढाइने भएको छ । आइतबार कञ्चनपुर आएको नेपाल नागरिक उड्डययन प्राधिकरणको प्राविधिक टोलीले बन्द रहेको विमानस्थलको स्थलगत निरीक्षण गरिसकेपछि फागुनदेखि विमानस्थलको निर्माणकार्य अघि बढाउने सम्भावना रहेको जनाएको हो ।
नेपाल नागरिक उड्डययन प्राधिकरण प्राविधिक टोलीका इन्जिनियर रत्नबहादुर श्रेष्ठले विमानस्थल सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए । “विमानस्थल सञ्चालन गर्न सकिने सम्भावना छ, केही जटिलता जग्गाको देखिएको छ तर पनि हाललाई सानो जहाज ल्याडिङ गर्न भने सम्भावना देखिन्छ ।” प्राविधिक टोलीका इन्जिनियर रत्नबहादुर श्रेष्ठले भने, “जग्गाको समस्या भए पनि पहिलो फेजको निर्माणकार्य भने निकट भविष्यमै हुने भनिएको छ, आयोजनाको स्टिमेट भएको अवस्था छ, स्टिमेट भएपछि आयोजनाको चेकजाँचको क्रममा निरीक्षण गर्नुपर्ने हुन्छ सोही अनुरुप निरीक्षण गर्न टोली महेन्द्रनगर आएको हो ।” धावनमार्गका लागि लम्बाइ चौडाइको अवस्था राम्रो छ ।
चौडाइ ठीक भए पनि लम्बाइका लागि भने केही जग्गा लिजमा लिनुपर्ने सम्भावना रहेको उनले बताए । गत वर्ष घेरबार गरिएको विमानस्थलको लम्बाइ र चौडाइ प्राविधिक टोलीले नापजाँच समेत गरेको छ । विमानस्थलको जम्मा लम्बाइ १६ सय ६५ मध्ये २५ सय ७५े विमानस्थलमा भने तारजाली लगाइएको छ ।
यस्तै बाँकी रहेको ९५ मिटरमा भने निकुञ्जले घेरबार लगाएको छ । यस्तै विमानस्थलको चौडाइमा भने सबैभन्दा कम भएको क्षेत्रफलमा भने एक सय ५७ मिटर छ । यस्तै बाँकी स्थानमा चौडाइ भने तीन सय मिटरमाथि रहेको छ । प्राविधिक टोलीले भने धावनमार्ग निर्माणका लागि सुरुको फेजमा ३० मिटर चौडाइ र १५ सय २५ मिटर कायम हुने गरी नापजाँच गरेको छ ।
नागरिक उड्डययन प्राधिकरणको प्राविधिक टोलीले जग्गा अधिग्रहण तथा विमानस्थलको क्षेत्रफलको बारेमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालसँग छलफलसमेत गरेका थिए । यस्तै स्टिमेटअनुसार काम अगाडि बढे फागुनदेखि निर्माणकार्य सुरु हुने सम्भावना रहेको प्राविधिक टोलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्