आफैँ पम्प खोल्ने निगमको तयारीमा व्यवसायीको आपत्ति «

आफैँ पम्प खोल्ने निगमको तयारीमा व्यवसायीको आपत्ति


नेपाल आयल निगमले आफैँ स्थानीय निकायको साझेदारीमा नयाँ पेट्रोल पम्प खोल्न लागेको छ । हालसम्म निजी क्षेत्रसहित केही सरकारी स्वामित्वका निकायबाट मात्र पेट्रोल पम्प सञ्चालन हुँदै आएकोमा बजारलाई हस्तक्षेप गर्नका लागि भन्दै निगमले पहिलोपटक स्थानीय तहसँगको साझेदारीमा आफैँ पेट्रोल पम्प सञ्चालन गर्न लागेको हो । हाल १ हजार ५ सय पेट्रोल पम्प निजी क्षेत्रले सञ्चालन गरिरहेको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बजार हस्तक्षेप गर्नका लागि स्थानीय तहसँगको साझेदारीमा मुलुकभर २० देखि २५ वटा पम्प खोल्न लागेको जानकारी दिए ।
“स्थानीय तहसँगको साझेदारीमा पम्प सञ्चालन गर्नका लागि ४९ वटा नगरपालिकालाई पत्र पठाएको छौं,” उनले भने, “पम्प सञ्चालनका लागि तयार भएपछि हामी सबैलाई अनुमति दिन्छौं ।” निगमले आफ्नै जग्गा खरिद गरेर पम्प सञ्चालन गर्ने नभइ स्थानीय तहसँग साझेदारी गरेर सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । अहिले निजी क्षेत्रलाई पम्प खोल्न अनुमति दिने र नियमन गर्ने काम निगमले गर्दै आएको छ । नियमन गर्ने निकाय निगमले आफैँ पम्प खोल्दा निजी क्षेत्रबाट विरोधसमेत भएको छ ।
विशेषगरी हुलाकी, बिपी, मध्यपहाडी, कर्णाली राजमार्गमा पम्प सञ्चालन गर्न लागेको निगमले जानकारी दिएको छ । निजी क्षेत्रलाई कुनै असर पर्ने गरी निजी पम्प नभएको ठाउँमा सञ्चालन गर्न लागिएको निगमले जानकारी दिएको छ । सातै प्रदेशमा निगमले नयाँ पम्प खोल्न लागेको जानकारी दिएको छ ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले नियमनकारी निकायम निगम आफैले नयाँ पेट्रोल पम्प खोल्न आवश्यक नभएको बताए । “अहिले भइरहेका पम्पमा पनि कोभिडको कारणले २० देखि ३० प्रतिशतभन्दा बढी कारोबार भएको छैन,” उनले भने, “नयाँ पम्प सञ्चालन गर्नका लागि पहिला यसको आवश्यकता छ कि छैन भनेर अध्ययन गर्नुपर्छ ।” आयात, वितरण पम्प पनि खोल्ने भएपछि गुणस्तर नियमन गर्न कति जायज हुन्छ भन्नेमा ध्यान दिनुपर्ने उनले बताए । उनले भने, “पम्प आफ्नै सञ्चालन गर्ने हो भने पेट्रोलियम कानुन ल्याएर निजी क्षेत्रलाई पनि आयातको लागि अनुमति दिनुपर्छ ।” निजी क्षेत्रले सेवा दिइरहेको बेला व्यापारमा हस्तक्षेप गरेर निगमले सवै ठाउँमा सेवा दिन नसक्ने भएकाले निगमलाई पनि अर्काे प्रतिस्पर्धी निकाय खडा गर्ने वातावरण बनाउन खोजेको उनको भनाइ छ । भइरहेको संरचनालाई ध्वस्त बनाएर नयाँ तरिकाले व्यक्तिगत फाइदाको लागि पम्प खोल्ने तयारी गरेको उनको भनाइ छ । निगमले निजी क्षेत्रलाई पम्प सञ्चालन गर्न अनुमति दिने गरेको छ ।
निगमले भने बजारलाई हस्तक्षेप गर्न र आपूर्ति व्यवस्था सहज पार्न पम्प खोल्न लागिएको बताएको छ । अहिले निजी क्षेत्रले विभिन्न माग राखेर सेवा बन्द गर्दा बजारमा आपूर्तिमा अवरोध हुने प्रवृत्ति देखिएकाले पनि आफ्नै पम्प खोल्न लागिएको निगमको भनाई छ । निजी क्षेत्रलाई प्रत्यक्ष असर नपुग्ने गरी निजी क्षेत्र नपुगेको दुर्गम ठाउँमा पम्प सञ्चालन गर्न लागिएको निगमको भनाइ छ । निजी व्यवसायीले सञ्चालन गरेका अधिकांश पम्प बढी कारोबार हुने सहरी इलाकामा रहेका छन् ।
कोरोना भाइरसको कारणले इन्धनको खपत घटेकाले विगत ६ महिनादेखि पेट्रोल पम्प पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । हाल २० देखि ३० प्रतिशत संख्यामा मात्र पम्प सञ्चालनमा आएको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्