Logo

राज्यमन्त्री दुगडविरुद्ध दर्ता नगरी उद्योग सञ्चालनको उजुरी

मन्त्री भन्छन्– कर्पाेरेसनसँग सहमति लिएर नून खरिद गरेको हो

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको स्वामित्वमा सञ्चालन भइरहेको एक उद्योगले नियमअनुसार व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको उजुरी परेको छ । वाणिज्य राज्यमन्त्रीले सञ्चालन गरेको दुगड स्पाइस एण्ड फुड्स प्रा.लि, टंकीसिनवारी मोरङले खाद्य अनुज्ञालगायतको अनुमति नलिइ व्यवसाय सञ्चालन गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्च नेपालले प्रधानमन्त्री कार्यालयमा उजुरी गरेको हो । सेञ्चुरी साल्टका नाममा उद्योग राज्यमन्त्री सञ्चालक रहेको दुगड स्पाइस एण्ड फुड्स प्रालिले नूनमा कालोबजारी गरेको मञ्चको उजुरी छ ।
व्यवसाय सञ्चालन गर्न कुनै पनि स्वीकृति नलिइ नूनको प्याकेजिङ गर्दै प्रति सय ग्राम ३२ रुपैंयाँमा बेची कालोबजारी गरेको भन्दै मञ्चले कारबाहीका लागि उजुरी गरेको जानकारी दिएको छ । सरकारको राज्यमन्त्रीजस्तो गरिमामय पद सम्हाल्ने व्यक्तित्व नै सञ्चालक रहेको उक्त उद्योगबाट आम उपभोक्ताको हक अधिकार हनन हुने, कानूनविपरीत कार्य हुने र उपभोक्ताको संवैधानिक अधिकारलाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थमा लागेको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको भनाइ छ ।
मोरङको टंकीसिनवारीमा रहेको मन्त्री दुगडको कम्पन दुगड स्पाइस एण्ड फुड प्रोडक्टस प्रालिले प्याकेजिङ गरेको सेन्चुरी ब्राण्डको स्प्रिंकलर्स टेबल साल्ट (नून) गैरकानूनी तरिकाले निर्वाध रूपमा उत्पादन तथा प्याकेजिङ गरी बिक्री बितरण गर्दै आइरहेकोले कारबाहीको लागि उजुरी गरेको उनले जानकारी दिए ।
यता, राज्यमन्त्री दुगडले भने साल्ट टे«डिङ कर्पाेरेशनसँग मौखिक सहमति गरेर नून निकाल्ने प्रक्रियामा रहेको बताए । “यो प्रक्रिया पूरा भइसकेको छैन,” उनले भने, “कर्पाेरेसनसँग सहमति भएर नून खरिद गरेका हौँ । यो टेबुलमा राख्ने साल्ट हो भारतमै यसको मूल्य बढी परेको हो र पुनः प्रयोग हुने भएकाले पनि महँगो पर्न गएको छ ।”
मन्त्री दुगडको कम्पनीले बजारमा अत्यन्त गुणस्तरीय आयोडिनयुक्त आयोनून प्रतिकिलो २० रुपैयाँमा पाइरहेको अवस्थामा प्याकेजिङमात्र गरी प्रति १०० ग्रामको ३२ रुपैयाँ मूल्य निर्धारण गरी हदैसम्मको कालोबजारी तथा नाफाखोरीजन्य काम गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ र ३ विपरीत क्रियाकलाप गरी सर्वसाधारण उपभोक्तालाई चरम शोषण गर्ने काम गरेको देखिएको मञ्चले गरेको उजुरीपत्रमा उल्लेख छ । सो उद्योगमाथि कानूनी कारवाही गर्नुको साथै उपरोक्त ब्राण्डको नूनको बिक्री बितरणमा रोक लगाउन गुनासो आएकोमा उजुरी गरिएको मञ्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नून उत्पादनको लागि अनिवार्य रुपमा विभागको अनुज्ञापत्र लिनुपर्छ । उक्त उद्योगमाथि कानूनी कारवाही गर्नुको साथै उपरोक्त ब्राण्डको नूनको बिक्री बितरणमा रोक लगाइ पाउन मन्चमा गुनासो आएकोमा गुनासो व्यवस्थापन गर्ने क्रममा यस मन्चले गरेको अनुगमन, अध्ययन तथा तथ्यगत सूचनाको आधारमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागमा २०७७ भदौ १२ गते उजुरी निवेदन दिएको थियो । मुलुकभर नूनको वितरण र ढुवानी गर्ने जिम्मा साल्ट ट्रेडिङ कर्पाेरेशनले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्