सञ्चालनमा आयो पूर्वकै पहिलो पाँचतारे होटल «

सञ्चालनमा आयो पूर्वकै पहिलो पाँचतारे होटल

झापाको मेचीनगर नगरपालिका धुलाबारीमा डेढ अर्ब रुपैयाँको लगानीमा पाँचतारे होटल सञ्चालनमा आएको छ । भेगास सिटी इन्टरटेनमेन्ट प्रालिले सञ्चालनमा ल्याएको मेची क्राउन पूर्वकै पहिलो पाँचतारे होटल हो । पूर्व–पश्चिम राजमार्गले छोएको धुलाबारीमा आठ विगाहामा होटलको संरचना निर्माण भएका छन् ।
पूर्वमा पर्यटनको राम्रो सम्भावना देखेर नै होटल सञ्चालनमा ल्याइएको भेगास सिटी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले बताए । पूर्वी नाका काँकरभिट्टादेखि भारत, बंगालादेश र भुटान छोटो दूरीमा रहे पनि नेपालतर्फ सुविधासम्पन्न होटलको अभाव रहेको थियो । “कञ्चनजंघा हिमाल, ठूलो पाथिभरा, इलाम, भारतको दाजिलिङ, सिक्किमलगायतका पर्यटकीय गन्तव्यमा आउने पर्यटकहरू सुविधासम्पन्न होटलको खोजीमा थिए” कार्कीले भने, “यी पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनामा ल्याइएको हो । मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश–१ मै पहिलो पाँचतारे होटल सञ्चालनमा ल्याउन आफ्नो टिम सफल भएको कार्कीले बताए ।
चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा भारत, बंगलादेश र भुटानबाट आउने पर्यटकको रोजाइमा पर्ने होटेलको व्यवस्थापन कम्पनी ‘दी पिक हस्पिटालिटी’का अध्यक्ष दिपक लेखकले बताए । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने लेखकले जानकारी दिए । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १०५ वटा सुविधासम्पन्न कोठाहरू छन् । त्यसमा ५ वटा मेची सुइट्स रुम, १० वटा एगजुकेटिभ भिला रुम, १९ वटा मेची क्लब रुम र ७१ वटा डिलक्स रुम छन् ।
नेपालकै सबैभन्दा ठूलो क्यासिनो
होटल सञ्चालकले नेपालकै सबैभन्दा ठूलो क्यासिनो मेची क्राउनले निर्माण गरेको दाबी गरेका छन् । सीमा नाका सहज भएसँगै क्यासिनो सञ्चालनमा ल्याउने प्रालिका अध्यक्ष कार्कीले बताए । होटलमा चर्चित भारतीय ब्रान्ड गोल्डेन क्यासिनो गु्रपको प्रवेश भएको छ । होटल परिसरमा रहेको क्यासिनोलाई गोल्डेन गु्रपले सञ्चालन गर्नेछ । पूर्वमा क्यासिनो पर्यटनको सम्भावना रहेकाले क्यासिनो सञ्चालनमा ल्याइएको कार्की बताउँछन् । सरकारले पाँचतारे होटल वा सो सरहको सुविधामा मात्रै क्यासिनो सञ्चालन गर्न दिने गरेको छ । क्यासिनो सञ्चालन भएपछि ९ सय जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् ।
भारत पुग्ने नेपाली नागरिकलाई लक्षित
नेपालमा सुविधासम्पन्न होटल नहुँदा विवाह साथै विभिन्न पार्टी गर्न कै लागि पूर्वका नागरिक भारतको सिलगढी पुग्ने गरेका छन् । काठमाडौं जानका लागि खर्च धेरै साथै दूरी टाढा भएकाले भारतीय बजार पुग्ने गरेका हुन् ।
मेची क्राउन सञ्चालनमा आएसँगै विभिन्न पार्टीका लागि सिलगढी पुग्नुपर्ने बाध्यता हट्ने सञ्चालक बताउँछन् । “विवाह गर्न कै लागि र कोही पाहुना आए पनि सुविधासम्पन्न होटलको अभावमा विराटनगर, सिलगढी धाउनुपर्ने अवस्था हटेको छ ।” अध्यक्ष कार्की भन्छन्, “आफ्नै देशमा, स्वच्छ वातवरणमा बनेको होटल सबैको रोजाइमा पर्ने छ ।” विवाह भोज, सेमिनार जस्ता ठूला कार्यक्रमका लागि भारतमा खर्च हुने लाखौँ रुपैयाँ नेपालमा रहने कार्कीले बताए ।
होटलले देशको अर्थतन्त्र चलयमान साथै मजबुत बनाउनसमेत सहयोग गर्ने उनको भनाई छ । नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएकाले विवाह, सभा समारोह गर्न साथै स्वदेशी तथा विदेशी संस्था तथा माइस पर्यटनका लागि उपयुक्त हुने गरी होटलले पूर्वाधार निर्माण गरिएको लेखक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्